‘बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिन नहुने बताएका छन् ।  बैठक बस्दा दुवै अध्यक्षको सहमति हुने भनिएपनि बैठक बस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले नपाउने बताएका गौतमले यस्तो बताएका हुन् ।

आइतबार आफ्नो प्रेस संयोजक विश्वमणि सुवेदीमार्फत् धारणा सार्वजनिक गर्दै गौतमले भभनेका छन्, ‘यस्ता व्यवस्थापनसित सम्बन्धित विषयमा पनि विवेक पुर्‍याउन नसक्नेलाई के भन्नु ? यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो ।’

यस्तै उनले नेकपाको सचिवालय बैठक बस्ने वातारण बनाउन मिहेनत गर्ने सबैलाई धन्यवादसमेत दिएका छन् । ‘पार्टीको जीवन कमिटीका बैठकहरूमा हुन्छ र बैठकहरूको जीवन छलफलमा हुन्छ । यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ । बैठक बस्न छलफल गर्न शुरू गर्दासाथ पार्टीको पुनर्जीवन शुरू भइहाल्छ ।’ उनले थप भनेका छन् ।

यसअघि शनिबार बसेको सचिवालय बैठक आउँदो १६ गतेसम्मको लागि स्थगित गरिएको छ । हिजोको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट ३७ पृष्ठ लामो प्रतिवेदन पेश गरेका छन् ।

पेश गरिएको प्रतिवेदनमा अर्का अध्यक्ष (कार्यकारी) पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई फुटको दिशातिर लगेकोलगायतका आरोपहरु अटाएका छन् । आउँदो १६ गतेसम्मा दुवै अध्यक्षको प्रतिवेदनमाथि थप अध्ययन गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

यसअघि गत २८ कात्तिकमा बसेको सचिवालय बैठकमा अध्यक्ष दाहालले १९ पृष्ठ लामो प्रतिवेदन पेश गरेका थिए । तत्पश्चात् ३ मंसिरमा बसेको सचिवालयमार्फत् १० दिनको समय मागेका ओलीले हिजोको बैठकमा यी प्रकृतिका प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिक्रिया