मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु

दाहाललाई ओलीले भने–‘अभियोगपत्र अघि सारेर पार्टी विभाजनको अनौपचारिक घोषणा गर्नुभयो’
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष (कार्यकारी) पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टी विभाजनको अनौपचारिक घोषणा गरेको भनी जवाफ दिएका छन् ।

अध्यक्ष दाहालले गत २८ कात्तिकमा पेश गरेको प्रतिवेदन ‘प्रस्ताव’ नभएर ‘अभियोगपत्र’ भएको बताएका ओलीले उक्त अभियोगपत्र अघि सारेर पार्टी विभाजनको अनौपचारिक घोषणा गरिसकेको बताएका हुन् । ‘तपाईँको यो ‘प्रस्ताव’ वस्तुतः कुनै राजनीतिक प्रस्ताव होइन, आफ्नै सहयोद्धा अध्यक्षमाथि लगाइएको ‘अभियोग’ हो र यसलाई अगाडि सारेर तपाईँले वस्तुतः पार्टी विभाजनको अनौपचारिक घोषणा गर्नुभएको छ ।’ ओलीले प्रतिवेदनको ५औं बुँदामा भनेका छन् ।

यस्तै ओलीले अध्यक्ष दाहालको प्रतिवेदनले राजनीतिक अस्थिरताका पक्षधरहरु हौसिएका समेत बताएका छन् । विपक्षीहरु हात–हातमा अध्यक्ष दाहालको प्रतिवेदन लिएर हिँडिरहेको बताएका ओलीले भनेका छन्, ‘ राजनीतिक अस्थिरताका पक्षधरहरु हौसिएका छन् तपाईँको आरोपत्र हात–हातमा बोकेर विपक्षीहरु हिँड्न थालेको देखिसक्नु भएको होला । उनीहरु दङ्ग होलान्– नेकपालाई खुइल्याउन हामीले त केही गर्नै नपर्ने भयो भनेर । जनता पीडामा छन् । यो यति गम्भीर विषय हो, जसलाई यस्तै हो भनेर छाड्न मिल्दैन । तपाईँले पार्टीका नीति या विधानसम्बन्धी प्रश्नमा मात्रै मलाई लाञ्छित गर्नुभएको छैन, मुलुकको संविधान र कानून आकर्षित हुने फौजदारी प्रकृतिका आरोप समेत लगाउनुभएको छ ।’

‘भ्रष्टाचारीको अनुहार नहेर्ने’ प्रधानमन्त्रीलाई ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन पढ्न कांग्रेसको आग्रह
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन पढ्न आग्रह गरेका छन् । प्रवक्ता शर्माले शनिवार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

प्रवक्ता शर्माले वर्तमान सरकार बनेपछि मुलुकमा भ्रष्टाचार व्यापक बढेको र प्रधानमन्त्री स्वयंले संरक्षण गरेको भनेर नेपाली काँग्रेसले व्यक्त गरिआएको समीक्षालाई अन्ततः ट्रान्सपरेन्सी इन्टरनेशनलको ताजा प्रतिवेदनले पुष्टि गरेको बताएका छन् ।

पछिल्लो एकवर्षमा एसियाली मुलुकहरूमा नेपालको स्थिति भ्रष्टाचारमा सबै भन्दा अगाडि देखिनु दुःखद रहेको भन्दै भ्रष्टाचारीको संरक्षण स्वयं प्रधानमन्त्रीले गरिरहेको किटानी विवरण प्रतिवेदनमा रहेको स्थिति देशकै लागि लज्जास्पद समेत भएको उनले टिप्पणी गरेका छन् । अन्तर्राष्ट्रिय जगतमा नेपालको छविमा यसबाट गम्भीर असर पुगेको स्थिति दृष्टिगत गर्दै सत्तारुढ पार्टीले संस्थागत धारणा सार्वजनिक गर्न अत्यन्तै अनिवार्य भएको प्रवक्ता शर्माको भनाइ छ । पछिल्लो समयमा नेपालका ५८ प्रतिशत जनताले नेपालमा भ्रष्टाचार मौलाएको बताएको रिपोर्ट इन्टरनेसनलले सार्वजनिक गरेको थियो ।

१६ गते बस्नेगरी सकियो नेकपा सचिवालय बैठक, दुवै अध्यक्षको प्रस्तावमाथि छलफल हुने
आउँदो १६ मंसिरमा बस्नेगरी आजको नेकपा सचिवालय बैठक सकिएको छ । १० दिनपछि आज बसेको सचिवालय बैठक पुनः १६ गते बस्नेगरी टुङ्गिएको हो ।

आजको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ पेस गरेपछि दुवै अध्यक्षका प्रस्तावको अध्ययन गरी छलफलका लागि १६ गते १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी अर्को बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बाबुरामको आग्रह–‘गणन्त्रको भात पाक्न ढिलो हुँदा राजतन्त्रको गोबर नखाऊ !’
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवाहरुलाई गणतन्त्रको भात पाक्न ढिलो हुँदा राजतन्त्रको गोबर नखान सुझाव दिएका छन् । राजा र राजसंस्थाको समर्थनमा देशका विभिन्न स्थानमा प्रदर्शन सुरु भएपछि बाबुरामले युवाहरुलाई यस्तो आग्रह गरेका हुन् ।

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले आधा गिलास उपलब्धिलाई जोगाएर बाँकी गिलास भर्ने कि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली गर्ने भन्दै राजसंस्थाको समर्थन गर्ने युवाहरुलाई प्रश्नसमेत गरे ।

बाबुरामले अगाडिको स्यालसँग लड्दा पछाडि लुकेको ब्वाँसो नर्बिसर्नसमेत सुझाव दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा सक्रिय बाबुरामले शनिबार बिहानै ट्वीट गर्दै यस्तो लेखेका हुन् । उनले स्याल र ब्वाँसो दुवैसँग लडेर अघि जाने साहस गर्न युवालाई सुझाएका छन् ।

पछिल्लो कोरोना अपडेट : थप १९ जनाको निधन, नयाँ संक्रमित कति ?
नेपालमा कोरोना संक्रमणका कारण थप १९ जनाको निधन भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४ सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५ सय ४६ महिला र ८ सय ३४ पुरुष गरी १ हजार ३ सय ८० कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म १७ लाख १९ हजार ८ सय २८ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर ५ सय १५ जना डिस्चार्ज भएका छन् । अहिले सक्रिय संक्रमितको संख्या १८ हजार ८३ पुगेको छ ।

महासंघको निर्वाचन अपडेटः मतदान सम्पन्न, सतप्रतिशत मत खस्यो
नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचनमा शतप्रतिशत मत खसेर मतदान सम्पन्न भएको छ । निर्वाचन अधृकित समितिले दिएको जनकारी अनुसार महासंघका जिल्लारनगर, वस्तुगत र एसोसिएटतर्फ शतप्रतिशत मत खसेको हो ।

निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकालको टीम चुनावी मैदानमा थियो । वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने महासंघको प्रावधान छ । सोही व्यवस्थाको कारण शेखर अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी कार्यकालको लागि स्वतः अध्यक्ष बन्नेछन् । यस पटकको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । मतगणना आजै हुने छ ।

महासंघमा जिल्लारनगरतर्फ १०५ मतदाता, वस्तुगततर्फ १०१ मतदाता र एसोसिएटतर्फ ९ सय ४ मतदाता छन् । वस्तुगततर्फको मतदान महासंघ केन्द्रीय कार्यालय टेकुमा भएको थियो । एसोसिएटफर्तको मतदान कार्की व्यांकेट बबरमहलमा र जिल्लारनगरतर्फको मतदान नेपाल प्रज्ञा प्रतिष्ठानको भवन कमलादीमा भएको थियो ।

‘सचिवालयले पार्टी विवाद नटुङ्ग्याए स्थायी कमिटीले निर्मम निर्णय गर्न सक्छ’
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आन्तरिक विवाद केन्द्रीय सचिवालय बैठकले टुङ्गो लगाउनुपर्ने बताएका छन् । यदि त्यसो नभएको खण्डमा स्थायी कमिटी बैठकले निर्मम निर्णय गर्नसक्ने पनि बताएका छन् । यस्तै उनले त्यो निर्णय नेतृत्वविरुद्ध नै पनि हुनसक्ने बताए । होटल ग्राण्डसिटी प्रालीको उद्घाटन गर्न झापाको बिर्तामोड पुगेका मन्त्री भट्टराईले यस्तो बताएका हुन् । नेकपाको आज बसेको सचिवालय बैठकप्रति लक्षित गर्दै मन्त्री भट्टराईले भने, ‘नेकपाको सचिवालय बैठकले सकेन र विवाद किनारा लाउन सकेन भने स्थायी कमिटी बैठकले निर्मम निर्णय गर्छ । त्यो निर्णय पार्टी नेतृत्वविरुद्ध पनि हुनसक्छ ।’

नेकपा फुटे देशको भाग्य फुट्ने ठोकुवा गरेका मन्त्री भट्टराईले थप भनेका छन्, ‘नेकपा फुट्यो भने देशको भाग्य फुट्छ । किन भने नेकपाको समन्यवकारी भुमिकाले गर्दा अहिलेसम्म देशमा स्थिरता छ । नेकपा फुट्यो भने देशमा आगो बल्छ, देशको भाग्य फुट्छ ।’

चिनियाँ रक्षामन्त्री भोलि नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका
चिनियाँ स्टेट काउन्सिलर एवं रक्षामन्त्री वेई फेङ्हे एकदिने भ्रमणको व्यस्त तालिका लिएर आइतबार काठमाडौं आउने भएका छन् । रक्षामन्त्री फेङ्हेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसहितका नेताहरूसँग भेटवार्ता गर्नेछन् ।

परराष्ट्र मन्त्रालयले बिहान जारी गरेको विज्ञप्तिअनुसार नेपाल(चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा रक्षामन्त्री फेङ्हेको भ्रमण हुन लागेको र यसले आपसी सुरक्षा समन्वयका विविध विषयमा कुराकानी हुनेछ । प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा आउन लागेका रक्षामन्त्री फेङ्हेले चिनियाँ दूतावासद्वारा आयोजना हुने द्विदेशीय सहयोग–समन्वयको बृहत् कार्यक्रममा सहभागिता जनाउने भएका छन् ।

सन्दीप लामिछानेलाई कोरोना संक्रमण
नेपाली राष्ट्रिय क्रिकेटमा चर्चित लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । लामिछाने आफैले कोरोना भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

उनी आहिले सेल्फे आइसोलेशनमा छन् । बुधबार कोरोनाको लक्षण देखिएपछि स्वाब दिएका सन्दीपको पीसीआर रिपोर्ट शुक्रबार आएको हो । स्वास्थ्य अवस्था सामान्य भएको र चाँडै मैदान फर्किने विश्वास उनले व्यक्त गरेका छन् ।

इरानका शीर्ष परमाणु वैज्ञानिकको तेहराननजिक हत्या
राजधानी तेहराननजिकै इरानका वरिष्ठतम वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्या गरिएको त्यहाँको रक्षा मन्त्रालयले पुष्टि गरेको छ। दमावन्द काउन्टीमा पर्ने अबशार्दस्थित अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।

इरानका विदेशमन्त्री जवाद जारिफले ‘कुनै राज्यद्वारा गरिएको आतङ्कवादी कर्म’ भन्दै हत्याको निन्दा गरेका छन् । इरानको गोप्य पारमाणविक कार्यक्रममा फख्रिजादेहको भूमिका रहेको पश्चिमा गुप्तचर निकायहरूको विश्वास रहिआएको छ ।

इरानले प्रवर्द्धिधत युरेनियमको बढ्दो मात्रामा विकास गरिरहेको ताजा चासोबीच वरिष्ठतम वैज्ञानिकको हत्याको समाचार बाहिर आएको हो। गैरसैनिक ऊर्जा उत्पादन र सैनिक अस्त्र निर्माण दुवैका लागि प्रवर्द्धिधत युरेनियम महत्त्वपूर्ण मानिन्छ।
सन् २०१८ को एप्रिलमा इरानको पारमाणविक कार्यक्रमबारे प्रस्तुति दिँदा खासगरी इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले फख्रिजादेहको नाम उल्लेख गरेका थिए ।

प्रतिक्रिया