‘सचिवालयले पार्टी विवाद नटुङ्ग्याए स्थायी कमिटीले निर्मम निर्णय गर्न सक्छ’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आन्तरिक विवाद केन्द्रीय सचिवालय बैठकले टुङ्गो लगाउनुपर्ने बताएका छन् । यदि त्यसो नभएको खण्डमा स्थायी कमिटी बैठकले निर्मम निर्णय गर्नसक्ने पनि बताएका छन् । यस्तै उनले त्यो निर्णय नेतृत्वविरुद्ध नै पनि हुनसक्ने बताए ।

होटल ग्राण्डसिटी प्रालीको उद्घाटन गर्न झापाको बिर्तामोड पुगेका मन्त्री भट्टराईले यस्तो बताएका हुन् । नेकपाको आज बसेको सचिवालय बैठकप्रति लक्षित गर्दै मन्त्री भट्टराईले भने, ‘नेकपाको सचिवालय बैठकले सकेन र विवाद किनारा लाउन सकेन भने स्थायी कमिटी बैठकले निर्मम निर्णय गर्छ । त्यो निर्णय पार्टी नेतृत्वविरुद्ध पनि हुनसक्छ ।’

नेकपा फुटे देशको भाग्य फुट्ने ठोकुवा गरेका मन्त्री भट्टराईले थप भनेका छन्, ‘नेकपा फुट्यो भने देशको भाग्य फुट्छ । किन भने नेकपाको समन्यवकारी भुमिकाले गर्दा अहिलेसम्म देशमा स्थिरता छ । नेकपा फुट्यो भने देशमा आगो बल्छ, देशको भाग्य फुट्छ ।’

यता आज बसेको सचिवालय बैठक भने पुनः १६ गते बस्नेगरी सकिएको छ । योबीचमा दुवै अध्यक्षको प्रतिवेदनमाथि अध्ययन गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

गत २८ कात्तिकको सचिवालय बैठकमा अध्यक्ष दाहालले आफ्नो तर्फबाट राजनीतिक प्रतिवेदन पेश गरेपछि ओलीले पनि थप १० दिनको समय मागेर प्रस्ताव पेश गरेका हुन् ।

प्रतिक्रिया