ईश्वर पोखरेललाई बामदेव गौमतको सल्लाह–‘ओली दुवै पदबाट हट्नुपर्छ, तपाईँ हामीतिर आउनुस्’

काठमाडौं । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुवै पदबाट हटाउन चाहेको बताएका छन् । ओलीको दूतका रुपमा गौतम निवास भैंसेपाटी पुगेका उपप्रधानमन्त्री ईश्वर पाखरेलसँग उपाध्यक्ष गौतमले यस्तो बताएका हन् ।

स्रोतका अनुसार शुक्रबार साँझ ओलीको सन्देश लिएर भैंसेपाटी पुगेका पोखरेलसँग उपाध्यक्ष गौतमले ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हट्नुपर्ने बताएका हुन् । ओलीलाई साथ दिन आग्रह गर्दै भैंसेपाटी पुगेका उपप्रधानमन्त्री पोखरेलसँग उपाध्यक्ष गौतमले आफूले ओलीलाई साथ दिन नसक्ने बताएका थिए भने उनले पार्टी चलाउन ‘तपाईँ पनि हामीतिरै आउनुस्’ भन्ने प्रस्तावसमेत गरेका थिए ।

स्रोतले गौतमलाई उदृत गर्दै भनेको छ, ‘हामीले ओलीलाई धेरै पटक मौका दिएका हौं । ओलीबाट हामी अपमानित मात्रै भयौं । अब ओलीले दुवै पदबाट राजीनामा दिनुपर्छ । म ओलीलाई साथ दिन सक्दिनँ ।’

९ सदस्यीय नेकपा केन्द्रीय सचिवालयभित्र अहिले स्पष्ट दुई धार देखिएको छ । उपाध्यक्ष गौतम, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल–झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ दिएपछि अल्पमतमा परेका ओली अहिले उपाध्यक्ष गौतम मनाउन प्रयासरत छन् ।

गत ३ मंसिरसम्मको सचिवालय बैठकअघि नै आफैँसग सरकारमा सामेल हुन अनुरोध गरेका ओलीले अझैसम्म गौतमलाई आफ्नो कित्तामा उभ्याउन सकेका छैनन् ।

यता ओलीको कित्तामा भने पार्टी महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ रहेको छ । बादल पूर्वमाओवादी हुन् । त्यसो हुँदा उनले पनि अन्तिममा आएर अध्यक्ष दाहाललाई नै साथ दिने बुझिएको छ ।

आज सचिवालय बैठक बस्दै छ । बैठकमा ओलीले ‘काउन्टर प्रस्ताव’का रुपमा आफ्नो तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्दैछन् । गत ३ मंसिरमा बसेको सचिवालय बैठकमै सोबारे जानकारी गराएका ओलीले आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिइसकेका छन् ।

यता अध्यक्ष दाहालले भने अबको पार्टीको दिशानिर्देश आजको ओलीको प्रतिवेदनले गर्ने बताइसकेका छन् ।

प्रतिक्रिया