‘अरुको आडभरोसामा उम्मेदवारी दिएका व्यक्तिले महासंघलाई नयाँ गति दिन सक्दैनन्’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकालले अरुको आड र भरोसामा उम्मेदवारी दिएका व्यक्तिले महासंघलाई नयाँ गति दिन नसक्ने बताएका छन् । महासंघको नेतृत्वमा पुग्ने व्यक्तिसँग आफ्नै भिजन र एजेण्डा हुनुपर्ने पनि उनको भनाइ छ ।

महासंघको जारी साधारणसभाका क्रममा आजको बन्दसत्रमा उनले भनेका छने, ‘कुनै पनि संस्थाको नेतृत्व गर्न जाने व्यक्तिसँग महासंघलाई कुशलतापूर्वका हाँक्ने, संस्थाको गरिमालाई उँचो बनाउने र त्यसमा आबद्ध सरोकारवालाको भविष्यलाई सुनिश्चित गर्ने भिजन र एजेण्डा हुनुपर्छ ।’

उनको यो मन्तव्यको आशय अर्का प्रत्यासीसँग आफ्नै एजेण्डा र भिजन नरहेको र उनले चुनावको अन्तिम दिनसम्म पनि आफ्नो नभएर अर्कैको एजेण्डामा रहेको भन्ने थियो । ढकालले थप भने, ‘म यस संस्थाको नेतृत्वमा आएर आफ्नै भिजन र एजेण्डामार्फत महासंघलाई आमूल परिवर्तन गर्दै व्यवसायी साथीहरुको मनोबल उच्च बनाउने र देशमा उद्योगमैत्री तथा व्यवसायमैत्री वातावरण बनाउन सक्छु, मसँग आफ्नै भिजन र एजेण्डा छन्, हामीलाई चाहिएको निजी क्षेत्रका एजेण्डा हुन जो हामीले बोकेका छौँ, आगामी दिनमा यी पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’

उनले महासंघमा हुने विजय या पराजय सफलता र असफलता होइनन् भने । ‘महाधिवेशन पछि पनि हामि टाढा हुने छैनौँ, हाम्रो ब्यापार र हाम्रो उद्यमले हामीलाई जोड्ने नै छ ।’ ढकालले भने ।

यस्तै ढकालले आधा शताब्दी लामो गौरवशाली इतिहास बोकेको नेपाल उद्योग बाणिज्य महासंघको नेतृत्व गर्नका लागि निजी क्षेत्रको विकास गर्ने एजेण्डा र भिजन भएको वास्तविक व्यवसायी नै आउनु पर्ने बताए । राजधानीमा मंसिर ११ गतेबाट शुरु भएको महासंघको ५४ औं साधारणसभामा बोल्दै ढकालले आम उद्योगि व्यवसायीको वास्तविक एजेण्डालाई प्राथमिकता नदिएर नसक्ने जिकिर गरे ।

प्रतिक्रिया