गृहजिल्लामा विष्णु पौडेललाई प्रश्न–‘अर्थ मन्त्रालयसँग राजधानी साट्नुभएको हो ?’

काठमाडौं । अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो पटक नेकपा महासचिव विष्णु पौडेल गृहजिल्ला रुपन्देही पुगेका छन् ।

मंगलबार बुटवल पुगेका पौडेलले पत्रकारहरुसँग साक्षात्कार गरेका थिए । भेटमा पौडेललाई अर्थ मन्त्रालयसँग प्रदेश राजधानी साटेको हो भनी प्रश्न गरिएको थियो । तर, जवाफमा पौडेलले त्यस्तो नभएको जिकिर गरेका थिए । ‘पहिले त प्रदेशको केन्द्र प्रदेश सभाले तोक्ने हो । अर्थमन्त्री प्रधानमन्त्रीले नियुक्त गर्ने हो । त्यसकारण प्रदेश सभाले निर्णय गर्ने विषय र प्रधानमन्त्रीले निर्णय गर्ने विषय साट्ने भन्ने प्रश्नै भएन । दोस्रो, साट्नुपर्ने आवश्यकता किन छैन भने म पहिलो पटक अर्थमन्त्री भएको होइन । यसअगाडि पनि अर्थमन्त्री भएको हुँ । त्यसकारण अर्थमन्त्री हुनका निम्ति साट्नुपर्ने भन्ने प्रश्न हुनै सक्दैन ।’ उनले भनेका थिए ।

यस्तै उनले निर्वाचनका बेला केन्द्रका विषयमा जनप्रतिनिधिहरुको आ–आफ्नै मत भएको पनि बताए । उनले भने, ‘प्रदेशको केन्द्रका विषयमा राजनीतिक दलहरु, जनप्रतिनिधिहरुका बीचमा आआफ्ना मत थिए निर्वाचनका बेला, त्यो भन्दा अगाडि पनि र पछाडि पनि । तर एउटा प्रक्रियाबाट अधिकारप्राप्त निकायले एउटा निर्णय गरेको छ । निर्णयमा पुग्नु अगाडि पनि हाम्रा मतहरु थिए । तर एउटा प्रक्रियाबाट निर्णय भइसकेकाले फेरि त्यतातिर फर्किएर लामो समय व्यतित गर्नुभन्दा जसरी प्रदेश सभाले रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई आर्थिक, सांस्कृतिक र पर्यटनको केन्द्रका रुपमा विकास गर्ने तय गरेको छ । म भन्न चाहन्छु, यो ठाउँलाई कुनै पनि हिसाबबाट पूर्वाधार, आर्थिक समाजिक दृष्टिकोणले पछाडि पर्न दिइने छैन ।’

पौडेलले शुरुदेखि नै प्रदेश नं. ५ को स्थायी राजधानी बुटवल हुनुपर्ने भन्दै लबिङ्ग गर्दै आएका थिए । तर, प्रदेश सभाले दाङको भालुवाङलाई पारित गर्यो । बुटवलकै पक्षमा रहेका पौडेल त्यसको केही समयपछि अर्थमन्त्रीमा नियुक्त भएका थिए । त्यतिबेला उनीमाथि अर्थ मन्त्रालयसँग प्रदेश राजधानी साटेको आरोप थियो ।

 

प्रतिक्रिया