बाइडनले घोषणा गरे आफ्नो टिम, भने- ‘विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आयो’

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनले सत्ता सम्हाल्ने तयारीका निम्ति आफ्नो सरकारका महत्त्वपूर्ण छ वटा पदमा मनोनित गरेका छन् । बाइडनले आफ्नो समूहको घोषणा गर्दै भनेका छन्, ‘विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आएको छ ।’

यदि अनुमोदन भएमा एभ्रिल हेन्स पहिलो महिला डिरेक्टर अफ न्याश्नल इन्टेलिजेन्स बन्ने छिन् भने अलेहान्ड्रो मयोर्कस होमल्याण्ड सिक्युरिटीको पहिलो ल्याटिनो प्रमुख हुनेछन् । राष्ट्रपति डोनल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रियामा सहमति जनाएका छन् र सँगै बाइडनले उच्च तहको गोप्य गुप्तचरी सूचना नियमित रूपमा प्राप्त गर्ने छन् ।

तर ट्रम्पले चुनावी हार स्वीकार गरिसकेका छैनन् र नोभेम्बर ३ मा भएको चुनावमा धाँधली भएको अप्रमाणित दाबी दोहर्‍याइरहेका छन् । ह्वाइट हाउसले ताजा अन्तर्राष्ट्रिय खतरा र विकासक्रम बारेका विस्तृत दस्तावेज र राष्ट्रपतिले पाउने दैनिक जानकारी बाइडनले पाउने जनाएको छ ।

बाइडनले के भने ?
राष्ट्रपति निर्वाचित जो बाइडनले आफ्नो मन्त्रिपरिषद्‍मा रहने मुख्य व्यक्तिहरूको घोषणा गर्दै उक्त समूहले अमेरिकालाई पुन: एकताबद्ध गराउने बताए । गृह राज्य डेलावेरमा बोल्दै बाइडनले अमेरिकाका विरोधीहरूसँग भिड्ने तर सहयोगीहरूलाई अस्वीकार नगर्ने उल्लेख गरे ।

आफ्नो समूह अनावश्यक सैनिक द्वन्द्वमा नफस्ने उनको भनाइ छ । तर समूहले अमेरिकालाई सुरक्षित राख्न, विश्वव्यापी महामारी नियन्त्रण गर्न र जलवायु परिवर्तनलाई सम्बोधन गर्न आफ्नो अनुभव साझेदारसँग सहकार्यमा लगाउने बाइडनले बताए । उनले भने, “यो समूहले अमेरिका र हाम्रा जनतालाई सुरक्षित राख्ने  छ। यो समूहले विश्वको नेतृत्व गर्न अमेरिका फर्किएको प्रतिबिम्बित गर्छ ।”

को-को परे बाइडनको रोजाइमा ?
उनले अमेरिकी तल्लो सदनमा रिपब्लिकनहरूसँग मिलेर काम गर्न तयार रहेकोमा पनि जोड दिए । बाइडनले विदेशमन्त्रीको जिम्मेवारी दिने गरी मनोनित गरेका टोनी ब्लिङ्केनले अमेरिका विश्व मञ्चमा विश्वासका साथ र मानवीय दुवै किसिमले प्रस्तुत हुनुपर्ने आवश्वकता रहेको बताएका छन् ।

अमेरिकासँग अन्य देशहरूलाई साथमा ल्याउने बेजोड क्षमता रहेको तर उनीहरूको पनि सहकार्य आवश्यक हुने उनको भनाइ छ । होमल्यान्ड सिक्युरिटीमा बाइडनद्वारा मनोनित क्युबामा जन्मिएका अलेहान्ड्रो मयोर्कसले आफ्ना अभिभावकले कम्युनिज्म छल्न आफूलाई अमेरिका ल्याएको बताउँदै देशको सेवामा रात दिन खटिने प्रण गरे ।

पहिलो महिला डिरेक्टर अफ नेसनल इन्टेलिजेन्समा मनोनित एभ्रिल हेन्सले असुविधाजनक र अप्ठेरो नै भए पनि उनले सत्य बोल्ने वाचा गरिन् । अर्थशास्त्री ज्यानेट येलेनले अर्थमन्त्रीको भूमिका पाउने बताइएको छ । यी सबै मनोनयन सिनेटको सुनुवाइ समितिबाट अनुमोदित हुनुपर्नेछ । साथै बाइडनले जलवायु परिवर्तनको सङ्कटसँग जुझ्ने आफ्नो प्रमुख दूतका रूपमा पूर्व विदेशमन्त्री जोन केरीलाई मनोनित गरेका छन् । –बीबीसी

प्रतिक्रिया