मकालु खबर दिनभर : यी हुन् आजका प्रमुख १० समाचारहरु

राजनीतिक प्रस्तावको कुरा प्रधानन्यायाधीशसँग सम्बन्धित छैन : प्रचण्ड

सत्तारूढ नेकपाका पुष्पकमल दाहाल प्रचण्डले कार्तिक २८ गते पार्टी सचिवालय बैठकमा आफूले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा न्यायपालिकाको मर्यादा र गरिमामाथि आँच पु¥याउन नखोजिएको स्पष्ट पारेका छन् । अध्यक्ष दाहालको सचिवालयले एक प्रेस नोट जारी गर्दै प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनबारे स्पष्ट पारेको हो ।

अध्यक्ष दाहालले गएको कार्तिक २८ गते पार्टी सचिवालयमा राजनीतिक प्रतिवेदन पेस गरेका थिए । जसमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथिसही नेतृत्व गर्न नसकेको, भ्रष्टचारीको संरक्षण गरेको लगायतका आरोप लगाइएको थियो । त्यसपछि प्रधानमन्त्री ओली यसको प्रतिवादमा उत्रिएका थिए ।

उक्त प्रस्तावमा प्रचण्डले ‘स्वतन्त्र न्यायपालिकाका प्रमुखलाई निवासमा बोलाएर संसद भंग गर्ने, संकटकाल लागु गर्ने, द्वन्द्वकालीन मुद्दाहरूलाई निहित उद्देश्यका लागि दुरूपयोग गर्नेसम्मको कार्यमा हिस्सेदार बनाउने प्रयास गर्नुभएको कुरा बाहिर आयो’ भन्ने लेखेका छन्। सोही कुरालाई लिएर विभिन्न कोणबाट टीका टिप्पणी हुन थालेपछि प्रचण्डले प्रष्टिकरण दिएका हुन् ।

‘ओली प्रवृत्ति अग्रगमनको मुख्य वाधक हो, यसलाई काँध थाप्ने गल्ती नगरौं’

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओली प्रवृत्ति अग्रगमनको मुख्य बाधक भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली मुलुकमा प्रवृतिका रुपमा विकास भएकाले त्यसलाई काँध थाप्न नहुने उनको टिप्पणी छ ।

समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पछिल्लो समय भएको भेटवार्तातर्फ लक्षित गरेर भट्टराईले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

कोरोना अपडडेट : मंगलबार थपिए १,७९० संक्रमित, थप २४ जनाको मृत्यु

सांकेतिक तस्बिर

कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतककाे संख्या १ हजार ३६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज (मंगलबार) थप १ हजार ७९० संक्रमित थपिएका छन् भने २ हजार ७९१ जना निको भएका छन् । यस्तै क्वारेन्टिनमा आज ६२७ जना छन् भने सक्रिय संक्रमित संख्या १७ हजार ८५९ रहेका छ ।

आजको थप अपडेटसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ । संक्रमितमध्ये २ लाख ४ हजार ८५८ जना निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

डा. कार्की कृषि तथा पशुपन्छी मन्त्रालयको सचिवमा सिफारिस

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव पदमा डा. योगेन्द्र बहादुर कार्कीको नाम सिफारिस भएको छ ।

लामो समय देखी रिक्त रहेको मन्त्रालयको सचिव पदमा डा. योगेन्द्र बहादुर कार्कीको नाम सिफारिस भएको हो । हाल कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निमित्त सचिव रहेका डा. कार्कीको नाम बढुवा सिफारिस समितिले सिफारिस गरेको हो ।
लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा गत सोमबार बसेको बैठकले उनको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।

निजामती सेवा ऐन अनुसार, कार्यसम्पदान मुल्याङकनका आधारमा (८० प्रतिशत) हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौ पटक ज्येष्ठताका आधारमा (२० प्रतिशत) एक सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था रहेको छ ।

यस अघि डा. कार्की प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा समेत थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तरगत देशका विभिन्न भू–भागलाई वर्गिाकरण गर्दै सुपरजोन कार्यक्रम तयार पार्न डा. कार्कीले उल्लेख्य काम गरेको बताइन्छ ।

बैतडी जिप दुर्घटना

बैतडीमा आज (मंगलबार) भएको जिप दुर्घटनामा ज्यान गुमाएका मृतक तथा घाइतेहरूको पहिचान खुलेको छ ।

झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप बुढ्ढा नजिकै दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए । ज्यान गुमाउनेहरूमा सुर्नया गाउँपालिका–४ कि ७५ वर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका–५ का ७७ वर्षीय भगिरथ पाण्डेय, दशरथचन्द नगरपालिका–५ का ७२ वर्षीय पार्वती चन्द सोही ठाउँकै ७२ वर्षीय पार्वती चन्द र दशरथचन्द नगरपालिका–२ का ५८ वर्षीय कृष्ण लावड रहेका छन् ।

यस्तै घाइते हुनेहरूमा रवीन्द्र चन्द, प्रदीप लावड, खगेन्द्र जोशी र कृष्णानन्द भट्ट रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार चलिरहेको छ । भारतमा पेन्सन बुझेर घर फर्किँदै गरेकाहरू दुर्घटनामा परेको बताइएको छ ।

रत्नपार्कको नाम फेरिएको प्रति राप्रपाको आपत्ति, महानगरलाई बुझायो ज्ञापनपत्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौंले रत्नपार्कको नाम परिवर्तन नगर्न सुझाव दिँदै ज्ञापनपत्र बुझाएको छ ।

रत्नपार्कको नाम परिवर्तन गरिएकोमा आपत्ति जनाउँदै राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको नेतृत्वमा मंगलबार महानगरलाई ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्र महानगरका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालीले बुझेका छन् ।

काठमाडौं महानगरपालिकाले श्री ५ महेन्द्रको जीवनसंगिनी राजा वीरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल बृद्ध जीवन बिताई रहेकी श्री ५ मुमाबडामहारानी रत्नको ईतिहास मेटाउने कार्य गलत भएको ज्ञापनपत्रमा उल्लेख छ ।

साथै राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र नभएको बताइएको छ । शङ्खधर साख्वाको नाममा नयाँ ठाउँमा भब्य पार्क बनाउनु पर्ने राप्रपाको माग रहेको छ ।

दुई दिनअघि मात्रै राप्रपा अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तनगर्ने काठमाडौं मनपाको निर्णय गलत भएको बताएका थिए । जवरजस्ती गर्न खोजिए अवरोध गर्न बाध्य हुने उनले चेतावनी समेत दिएका थिए ।

विश्वका प्रभावशाली महिलाको सूचीमा परिन् बेवारिसे शव जलाउने १८ वर्षीया सपना

बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली तथा प्रेरणाशाली महिलाको सूचीमा नेपाली महिला पनि परेकी छिन् । बीबीसीले सोमबार राति प्रभावशाली सय जना महिलाको नाम सार्वजनिक गरेको हो ।

बीबीसीले तयार पारेको सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह लगायत बेवारिसे शव जलाउने म्याग्दीकी १८ वर्षीय सपना रोका मगर पनि परेकी हुन् । जीवनको कठिन परिस्थितिमा पनि संघर्ष गरेर समाज परिवर्तनका लागि उनीहरुले उदाहरणीय काम गरेको बीबीसीको भनाइ छ ।

म्याग्दीकी सपनाले विगत केही वर्षयता बेवारिसे शव जलाउने काम गर्दै आएकी छिन् । लकडाउनको समय रोजगारीविहिन भएकाहरूलाई खाना बाँड्ने काम पनि उनले गरिरहेकी थिइन्, अहिले पनि निःशुल्क खाना बाँड्ने काम जारी छ ।

कक्षा १२ को परीक्षा आजदेखि

कक्षा १२ को परीक्षा आजदेखि शुरु भएको छ । परीक्षामा झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी भएका छन् ।
देशभर चार हजार १०५ वटा परीक्षा केन्द्र तोकिएका छन् । परीक्षा बिहान ८ बजेदेखि शुरु हुनेछ । परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारले सम्बन्धित विद्यार्थीसँग आग्रह गरेको छ ।

परीक्षा मंसिर १६ मा सकिनेछ । सैद्धान्तिकतर्फ कुल पूर्णाङ्कको ४० प्रतिशत मात्रै लिखित परीक्षा लिन लागिएको हो ।
४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्याङ्कनको आधारमा दिइने बोर्डले जनाएको छ ।

गएको वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने परीक्षा कोरोना सङ्क्रमण जोखिमका कारण स्थगित भएको थियो ।

नेप्से नयाँ उचाइमाः दोहोरो अङ्कको वृद्धि

निर्जीवन जीवन बीमा, जीवन बीमा र उत्पादन उपसमूहका कम्पनीको शेयरमा उच्च अङ्कले वृद्धि भएपछि नेप्से परिसूचकले एक हजार ८०० को विन्दु पार गरेको हो।

आइतबार र सोमबार मात्रै झन्डै १२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको बजारमा आज पनि कारोबार रकम रू पाँच अर्ब ४४ करोड बराबरको भएको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा दाहोरो अङ्कको वृद्धि भयो। स्टकका अनुसार नेप्से २९.६८ विन्दुले उकालो लागेर एक हजार ८१०.११ म पुगेको छ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.४२ विन्दुले उकालो लागेर ३४९.३७ मा पुगेको छ।

कूल १९६ कम्पनीको एक करोड १७ लाख ४८ हजार ५२० कित्ता शेयर पाँच अर्ब ४४ करोड २९ लाख ५० हजार १८९ मा खरीदबिक्री भए।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज होटल उपसमूहको शेयर ओरालो लाग्दा अन्य ११ उपसमूहको शेयर भने उकालो लागेको छ।

एलन मस्क बने संसारकै दोश्रो धनी

काठमडौं । एलन मस्क संसारकै दोस्रो धनी बन्न सफल भएका छन् । संसारकै धनाढ्यहरूको सूचीमा बिल गेट्सलाई पछिपार्दै एक स्थानमाथि उक्लिएर एलन मस्क दोश्रो धनाढ्य बन्न सफल भएको द गार्डियनले उल्लेख गरेको छ ।

अघिल्लो हप्ता फेसबुकका संस्थापक मार्क जुकरवर्गलाई पछि पारेका मस्कले मंगलबार मस्कको कम्पनी टेस्लाको सेयर भाउ उक्लेसँगै धनाढ्यको सूचीमा दोस्रो स्थानमा आफ्नो नाम लेखाउन सफल भएका हुन् ।

ब्लुमबर्ग धनाढ्य सूचीमा गत जनवरीसम्म पनि मस्क ३५ औं स्थानमा भएको द गार्डियनले जनाएको छ। अहिले आएर उनी दोस्रो स्थान कायम गर्न सफल भएका छन्।

त्यस्तै चौथो स्थानमा फ्रान्सेली धनाढ्य बर्नाड अर्नल्ट छन् भने जुकरवर्ग थप एक स्थान तल झर्दै पाँचौँ स्थानमा पुगेका छन्। बर्नाडको कुल सम्पत्ति जुकरवर्गको भन्दा ३ अर्ब डलर बढी छ ।

टेस्लाको सेयरमूल्य विगत केही हप्तादेखि लगातार उकालो लागिरहेको द गार्डियनले जनाएको छ । टेस्लाका उत्पादनको बढ्दो लोकप्रियतासँगै सेयर बजारमा आएको उछालका कारण उनको सम्पत्ति १०० अर्ब डलरभन्दा ज्यादा बढेको थियो। ब्लुमबर्ग खर्बपति सूचांकअनुसार अहिले उनको सम्पत्ति १२८ अर्ब डलर बराबर छ।

४९ वर्षीय मस्क संसारकै धनी जेफ बेजोफभन्दा एक स्थान मात्रै पछाडि छन्। जोसेफको हालको सम्पत्ति १८२ अर्ब डलर बराबर छ।

मस्कले टेस्लाको सेयर मूल्यको वृद्धि रफ्तार कायम राख्न सके आगामी केही वर्षमै उनी संसारकै धनाढ्य बन्न सक्ने तथ्यांकले देखाएको छ। यसरी नै टेस्लाको सेयर मूल्य बढ्दै गए सन् २०२८ सम्ममा यो कम्पनी ६५० अर्ब डलर बराबरको कम्पनी बन्नसक्ने गार्डियनले जनाएको छ ।

प्रतिक्रिया