सुखानी शहिद स्मृति उद्यानको गुरुयोजना मन्त्री श्रेष्ठलाई हस्तान्तरण

भद्रपुर । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई सुखानी शहिद स्मृति उद्यानको गुरुयोजना मन्त्री श्रेष्ठलाई हस्तान्तरण गरिएकाे छ । निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको अनुगमनका लागि सोमबार झापा पुगेका मन्त्री श्रेष्ठलाई मङ्गलबार झापाको सुखानी शहिद स्मृति उद्यानको गुरुयोजना प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरेले मन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

मन्त्री श्रेष्ठले सुखानी शहिद स्मृति उद्यानको विकासमा सरकारले सहयोग पु¥याउने आश्वासन दिएका छन् । मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि झापा विद्रोह र सुखानीका शहीदको बलिदानी सदैव स्मरणीय भएको बताए । सो अवसरमा मन्त्री श्रेष्ठले भुमिगत कालमा आफूले राजनीति गरेको झापाको अवस्था बुझ्न र शहिदप्रति सम्मान गर्न आफू झापा आएको बताए ।

प्रतिष्ठानको हाताभित्र रहेका सुखानीका पाँच शहीदको शालिकमा मन्त्री श्रेष्ठले श्रद्धाञ्जली अर्पण गरेका थिए । प्रतिष्ठानभित्र रहेको पर्यटकीयस्थल र कछुवा संरक्षण केन्द्रका बारेमा समेत जानकारी लिएका थिए । सो अवसरमा मन्त्री श्रेष्ठले उद्यानमा सरसफाइ र सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएका थिए । उनले पार्कलाई व्यवस्थितरुपमा सञ्चालन गर्न आग्रह गरे ।

वि.सं २०२९ को झापा विद्रोहका क्रममा पक्राउ परेका कम्युनिष्ट युवा रामनाथ दाहाल, वीरेन राजवंशी, नेत्र घिमिरे, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई तत्कालीन पञ्चायती सरकारले झापाको चन्द्रगढी कारागारबाट कारागार सार्ने निहुँमा इलाम र झापाको सिमानास्थित सुखानी जङ्गलमा लगी गोली हानेर हत्या गरेको थियो ।

सुखानीमा बलिदान दिएका शहीदको स्मृतिमा झापाको अर्जुनधारा नगरपालिका वडा नं ९ सालबारीमा विशाल उद्यान, कछुवा संरक्षण केन्द्र र पाँच शहीदको पूर्ण कदको शालिकसहितको प्रतिष्ठान स्थापना गरिएको छ ।

मन्त्री श्रेष्ठ सहितको मन्त्रालय स्तरको उच्च टोलीले सोमबार झापाको विभिन्न १० स्थानमा बनेका र बन्ने योजनाको अवलोकन गरेको थियो । स्थानीयदेखि राष्ट्रिय गौरवका योजनाको निर्माण कार्यको अवस्थाबारे जानकारी लिँदै कोरोना कहरले प्रभावित योजनालाई अव उच्च गतिमा तीव्रता दिने बताइएको छ । अवलोकन गर्दै मन्त्री श्रेष्ठले कोरोना कहरका कारण अव कुनै पनि भौतिक विकासका कार्यहरू नरोकिने र उच्च सतर्कता अपनाएर कामलाई निरन्तरता दिने बताए ।

टोलीले मन्त्रालय अन्तर्गत सघन सहरी विकास आयोजना झापा मार्फत भएको कमल, गौरादह, गौरीगंज र दमका सडक, अस्पताल, भवन, विपन्न आवास र राष्ट्रिय गौरवको आयोजना भ्यूटावर समेतको अवलोकन तथा अनुगमन गरेको छ । अनुगमनको क्रममा मन्त्री श्रेष्ठले दमकमा निर्माणाधीन भ्यूटावर देशकै गौरव र आधुनिक शैलीमा निर्माण हुने पहिलो ठुलो योजना भएकोले यसलाई सबैले सहयोग गरेर समयैमा सक्नु पर्ने बताए ।

कमलको केर्खा बजारको सडक, विपन्न आवास, पूर्वाञ्चल आयुर्वेदिक औषाधाल, गौरादहको सडक, गौरीगंजको सुरक्षित आवास, बजार, दमकको बहुतले बसपार्क, दमक सभागृह, भ्यूटावर, चुलाचुली ढुङ्गे सडक समेतको अनुगमन तथा अवलोकन गरेको टोलीका सहजकर्ता नेकपाका नेता होमबहादुर थापाले जानकारी दिए ।

कोभिडका कारण केही स्थानमा ढिलाइ भइरहेको कामलाई समेत उच्च प्राथमिकता दिएर थालिएको सहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहले बताए ।

प्रतिक्रिया