आँधीमूल मन्दिरमा प्रवेशमा रोक, मानुङकोट डाँडामा प्रहरीचौकी राखिने

तनहुँ । धार्मिक पर्यटकीयस्थलका रुपमा परिचित हुँदै आएको आँधीमूल मन्दिरमा दर्शनार्थीलाई पूर्ण रुपमा रोक लगाइएको छ । आँबुखैरेनी गाउँपालिकाको बैठकले निर्णय गरी वडा नं मा रहेको मन्दिर प्रवेशमा रोक लगाएको हो ।

यही मङ्ङिसर १० गते ठूलो एकादशीका दिन दर्शनार्थीको भीड लाग्न सक्ने सम्भावनालाई ध्यानमा राखी रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट सुरक्षित हुन अहिलेको वर्ष उक्त मन्दिर प्रवेशमा रोक लगाइएको हो । उनले भने, ‘उक्त दिन आँधीमूल मन्दिरमा दर्शन तथा मेलामा सहभागी हुन बन्देज गरिएको छ ।’

मानुङकोटमा प्रहरीचौकी राखिने

पर्यटकीयस्थल व्यास नगरपालिका–५ स्थित मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

मानुङकोटमा घुम्न आउने पर्यटकको सुरक्षालाई ध्यानमा राखी मानुङकोट डाँडामा प्रहरीचौकी राख्ने योजना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । उनले भने, ‘सोही स्थानमा प्रहरीचौकी रहेका खण्डमा कुनै घटना भइहाल्यो भने तत्काल उद्धार गर्न सजिलो हुने र घटनापछि फरार हुने कार्यलाई न्यूनीकरण गर्न सकिन्छ ।’

उक्त स्थानमा प्रहरीचौकी आवश्यक देखिएकाले गण्डकी प्रदेश प्रहरी कार्यालयमा माग गरिएको छ । स्वीकृत भएर आएपछि प्रहरी बस्ने भौतिक संरचनाका लागि भने सम्बन्धित निकायले व्यवस्था मिलाउनुपर्ने हुन्छ । दमौलीको चापाघाटदेखि करीब ६ किलोमिटर दूरीमा रहेको मानुङकोट समुद्री सतहदेखि करीब एक हजार २०० मिटर उचाइमा छ ।

उक्त स्थानमा सार्वजनिक शौचालय र खानेपानीको समस्या रहेकाले व्यास नगरपालिका कार्यालयले रु ३० लाख बजेट विनियोजन गरेको छ । पछिल्लो समय मानुङकोटमा आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको अवस्थामा शौचालय र खानेपानीको चरम समस्या रहेकाले तत्काल व्यवस्थापन गर्न उक्त रकम विनियोजन गरिएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

उक्त स्थानमा सार्वजनिक शौचालय निर्माणलगायत अन्य अत्यावश्यक भौतिक संरचना निर्माण गर्नका लागि विभिन्न सङ्घसंस्थासंग साझेदारीका लागि प्रस्ताव आह्वान गर्न लागिएको छ । मानुङकोटको मौलिकता संरक्षण गर्न तत्काल गुरुयोजना र खानेपानी विस्तृत परियोजना निर्माण गरिनेछ । उनले भने, ‘मानुङकोटमा दैनिक तीन सय मात्र पर्यटकलाई दृश्यवलोकनका लागि प्रवेश व्यवस्था मिलाइएको छ ।’

त्यसैगरी कात्तिक २५ गतेदेखि पर्यटकको अनिवार्य रुपमा नाम दर्ता गरी स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पूर्णरुपमा पालना गराएर मात्रै मानुङकोट प्रवेश गराउन थालिएको छ । केही दिनअघि मानुङकोट घुम्न आएका आन्तरिक पर्यटकमध्ये एक जना सुतिरहेका अवस्थामा र एक जनाको माइक्रो बस दुर्घटना परी मृत्यु भएपछि सुरक्षा व्यवस्थालाई कडाइ गर्न लागिएको हो । उक्त स्थानमा सुरक्षाका दृष्टिले प्रहरीचौकी आवश्यक देखिएकाले जिल्ला प्रशासन कार्यालयबाट सिफारिस गरी सम्बन्धित निकायमा पठाइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए । रासस

प्रतिक्रिया