अवैध लागूऔषध सहित बाँके र तनहुँबाट तीन जना पक्राउ

काठमाडौं । तनहुँ, व्यास नगरपालिका-१२ घाँसीकुँवास्थित सडकबाट दुई एमएलको ३९ थान डाईजेपाम, ३९ थान नोर्फिन र दुई एमएलको ३९ थान फेनारगन सहित भानु नगरपालिका-६ ढुङ्गागाडे घर बताउने हेडडिम भन्ने ३१ वर्षीय पूर्ण बहादुर दमैलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले सडक किनारामा दोकाधे झोला बोकी शंकास्पद अवस्थामा उभिएका पूर्ण बहादुरलाई जाँच गर्ने क्रममा झोलाभित्र प्लाष्टिकको पोका पारी लुकाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस्तै बाँके, नरैनपुर गाउँपालिका-१ सुईयाबाट करिब १ केजी १ सय ३० ग्राम अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत श्रावस्ती बैजिहवा गाउँ बस्ने २८ वर्षीय धर्वेन्द्र कुमार पासवान र भारत सिर्सिया गाउँ बस्ने २१ वर्षीय राम किसुन पासवान रहेका छन् ।

ईलाका प्रहरी कार्यालय भगबानपुरबाट खटिएको प्रहरीले भारततर्फ जाँदै गरेको युपि ४६ जे २०५४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक धर्वेन्द्र र मोटरसाइकलमा सवार रामकिसुनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया