अन्ततः ट्रम्प प्रशासनले स्वीकार गर्‍यो बाइडनको जित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम्ति औपचारिक सत्ता हस्तान्तरण सुरु हुनसक्ने स्वीकार गरेका छन् । उनले त्यसका निम्ति जिम्मेवार सङ्घीय निकाय जनरल सर्भिसेस् एड्मिन्ट्रेशन (जिएसए) लाई ‘गर्नुपर्ने आवश्यक काम गर्न’ सिफारिस गरेको बताए ।

तर चुनावको परिणामविरुद्ध आफ्नो कानुनी लडाइँ जारी रहने ट्रम्पको भनाइ छ । जिएसएले पनि बाइडनलाई ‘स्पष्ट विजेता’को रूपमा आफूले स्वीकार गरेको जनाएको छ । अमेरिकी राज्य मिशिगनमा राष्ट्रपति निर्वाचित जो बाइडनको जित औपचारिक रूपमा प्रमाणित भएसँगै मत परिणामलाई चुनौती दिने डोनल्ड ट्रम्पको प्रयासमा गम्भीर धक्का लागेको छ ।

जिएसएले बाइडन समूहलाई प्रक्रिया सुरु गर्ने भनी जानकारी दिएपछि ट्रम्पले ट्वीट गरेका छन् । ट्रम्पद्वारा नियुक्त प्रशासक इमिली मर्फीले राष्ट्रपति निर्वाचित बाइडनका निम्ति ६३ लाख डलरको कोष उपलब्ध गराउने बताएकी छन् । उनले प्रक्रियागत ढिलाइ गर्न आफूलाई ह्वाइट हाउसबाट कुनै दबाव नआएको जनाएकी छन् ।

मिशिगनमा धक्का
बाइडनको समूहले पनि महामारी र राष्ट्रिय सुरक्षाका मुद्दामा सरकारी अधिकारीहरू सँगको बैठकहरूपछि सत्ता हस्तान्तरण सुरु हुने कुरा वक्तव्यमार्फत् जनाएको छ । उसले मर्फीको पत्रको स्वागत गरेको छ ।

ट्रम्पलाई धक्का लागेको मिशिगन राज्यको मत परिणाम घोषणालाई अन्तिम रूप दिन त्यहाँको दुईमध्ये एक रिपब्लिकनले दुईजना डेमोक्र्याटलाई साथ दिएका थिए । अर्का रिपब्लिकन भने त्यसबाट अलग्गिएका थिए। ट्रम्पको कानुनी समूहले अझै पनि मिशिगनको परिणामलाई चुनौती दिने बताएका छन् ।

ट्रम्पकी कानुनी सल्लाहकार जेना एल्लिसले प्रमाणीकरणलाई समान्य प्रक्रियागत कदम भनेकी छन् । उनले भनिन्, ‘अन्तिम परिणाम वैध र स्वच्छ भएको कुरामा अमेरिकीहरू सुनिश्चित हुनुपर्छ ।’ तर समय घर्किँदै गइरहेको छ । डिसेम्बर १४ मा बाइडनको जित अमेरिकी इलेक्टरल कलेजबाट प्रमाणित हुँदैछ ।

बाइडनले ज्यानुअरी २० मा शपथ लिएपछि आफूले सरकारमा प्रमुख भूमिका दिने चाहेका व्यक्तिहरूको नाम चयन गर्न सुरु गरेका छन् । पूर्वविदेश मन्त्री जोन केरीले जलवायुसम्बन्धी विशेष दूतको भूमिका निर्वाह गर्ने छन् ।

चार वर्षअघि अमेरिकाको तर्फबाट उनैले प्यारिस सम्झौतामा हस्ताक्षर गरेका थिए । तर ट्रम्प उक्त सम्झौताबाट पछि हटेका थिए । यसअघि सशक्त रूपमा अन्तर्राष्ट्रियवादमा विश्वास गर्ने एन्टोनी ब्लिङ्केनको नाम विदेशमन्त्रीको रूपमा प्रस्तुत गरिसकिएको छ । –बीबीसी

प्रतिक्रिया