मनकामना केबलकार २३ औँ वर्षमा प्रवेश, सेवा छिट्टै पुनः सञ्चालनमा आउने

काठमाडौं । नेपालको पहिलो केबलकार मनकामना केबलकार २३ औँ वर्षमा प्रवेश गरेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण झन्डै सात महिनादेखि बन्द रहेको केबलकार अब छिट्टै नै सुरक्षाका सबै मापदण्डसहित खोल्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । २२ वर्षको अवधिमा करिब डेढ करोड भक्तजनले केबलकारको यात्रा गरिसकेका छन् ।
केबुलकारले स्ट्याण्डर्ड अपरेसन प्रोसिड्योर अनुसार निर्देशिका पालना कार्यान्वयनमा ल्याउने गरी स्थानीय तह र उद्योगी व्यवसायीसँग समन्वय गरिरहेको जनाएको छ । पहिला स्थानीयको सुरक्षाका लागि समेत केबलकार नखोलिएको तर अहिले स्थानीय उद्योगी व्यवसायी पनि केबलकार खोल्ने खबरले उत्साहित भएकोले स्थानीय तहको स्वीकृतिमा केबलकार छिट्टै नै खुला गरिने कम्पनीले जनाएको छ ।
कोभिडपछिका दिनहरूमा केबलकारको टिकट अनलाइनमार्फत खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । इ–सेवामार्फत टिकट बुकिङ गर्दा यात्रुले फोनमै टिकट प्राप्त गर्न सक्नेछन् भने फोन पे मार्फत टिकट काउन्टरबाट टिकट लिन सक्नेछन् । सुगम देखि दुर्गम क्षेत्रसम्म इ–पेको पहुँच पुगिसकेको छ । नगदरहित कारोबार, यात्रु सेवा सहजता सँगै भिडभाड कम हुने कुरालाई मध्यनजर गर्दै हामीले यो व्यवस्था लागू गरेको मनकामना दर्शन प्रा.लि.ले जनाएको छ ।
कम्पनीले यात्रु तथा आफ्नो जनशक्तिको स्वास्थ्य सुरक्षाका लागि मुख्य ढोकादेखि नै हेल्थ स्क्रिनिङको तयारी गर्नुका साथै प्रत्येक घण्टा डिसइन्फेक्ट गर्ने कम्पनीले जनाएको छ । यात्रु र सेवामा सहभागी कर्मचारीलाई फेस सिल्ड, मास्क, स्यानिटाइजेसनको व्यवस्था गर्ने जनाएको छ । कम्पनीका अनुसार स्यानिटाइजेसन, ह्याण्ड वास, डिसइन्फेक्सन मेसिन, शरीरको तापक्रम मापन, मास्क, फेस सिल्ड र फ्रन्ट लाइन वर्करलाई पीपीई लगायतको स्वास्थ्य सुरक्षाको प्रबन्ध गरी छिट्टै नै पुनः सेवा सञ्चालन गर्ने कम्पनीले जनाएको छ । कम्पनीले कुरिनटार स्टेशन र मन्दिर क्षेत्रमा रहेको स्टेसनमा आइसोलेसन वार्डसमेत तयार गरेको छ ।








