‘जिल्ला नगरका समस्यालाई बुझेर काम गर्ने छु’

काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको मंसिर ११–१३ गते हुन गइरहेको साधारण सभा तथा निर्वाचनको माहौल तातिइरहेको छ । महासंघको यो पटकको निर्वाचनमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधान आ–आफ्नो प्यानल नै लिएर चुनावी मैदानमा होमिएका छन् ।

ढकालको प्यानलबाट महासंघको निर्वाचनमा जिल्ला नगरको तर्फबाट केन्द्रीय खुल्ला सस्दयमा झापाबाट उम्मेदवार रहेका उमेश डालमियाले महासंघमा सानो उद्योगबाट उदाएका चन्द्र प्रसाद ढकालको आवश्यक रहेको बताए । डालमियाले भने ‘सानो व्यवसायीबाट ठूलो व्यवसायी बनेका कारणले पनि ढकालले तल्लो तहको समस्या बुझेका छन्, यसपटक उनले साना उद्योगी व्यवसायीकै मनोभावना जितेर चुनाब जित्नेछन् ।’ उनले भने ।

आवश्यक परेको बेला जिल्लादेखि केन्द्रसम्मका उद्योगी व्यवसायीलाई समय दिने र सरकारलाई उद्योगी व्यवसायीको समस्या पुर्याएर समाधान गर्नसक्ने व्यक्ति भएकोले महासंघमा ढकालको आवश्यकता रहेको छ, ’ उनले भने ।

ढकालसँग महासंघको गरिमामा एउटा इट्टा थपेर जानसक्ने क्षमता छ । नेपालमा मात्रै नभएर अन्तराष्ट्रिय स्तरमै राम्रो छवि बनाएको व्यक्ति भएको कारणले महासंघलाई सवल र गरिमा गर्न योग्य बनाउन ढकालको आवश्यकता रहेको डालमियाको भनाई छ ।

साना, मझौला र ठूला उद्योगहरुको समस्या बुझेर काम गर्ने, भिजन भएका ढकालको आफ्नो व्यवसाय पनि सक्षम भएको र सबै उद्योगी र व्यवसायीको हकहितका लागि काम गर्ने प्रतिबद्धता भएको कारणले पनि आफु ढकालको पक्षमा रहेको उनको भनाई छ ।

आफु पनि जिल्ला नगरका तर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार भएको बताउँदै उनले आफु विजयी भएमा जिल्ला नगरको समस्या सामाधान गर्न काम गर्ने जनाए । ‘जिल्लामा भएका बोर्डरका समस्या, उद्योगी व्यवसायीको वरियताका कुरा हाम्रो टिम विजय भएर आए पछि समाधान गर्ने छ । निजी क्षेत्रको प्रत्येक समस्यालाई केलाएर हाम्रो टिमले समाधान गर्ने छ ।’ उनले भने ।

डालमिया वि.सं. २०४२ देखि उद्योग–व्यवसायमा संलग्न छन् । उनले झापाको बिर्तामोडलाई केन्द्र बनाएर व्यवसाय गर्दै आइरहेका छन् । हिमालयन, सनराइज र सेन्चुरी सिमेन्ट लगायतमा उनको लगानी रहेको छ । ‘मेरो उम्मेदवारी व्यवसायीको हकहितका लागि हो । म व्यवसायी कसरी बाँच्ने र व्यवसाय बचाउने भन्नेमा केन्द्रित हुनेछु ।’ उनले भने ।

कुनै पनि क्षेत्रको समस्याप्रति जानकार हुनका लागि सोही क्षेत्रमा बसेर काम गरेको अनुभवी व्यक्ति आवश्यक हुने उनको धारणा छ । ‘म झापा जिल्लाको प्रतिनिधित्व गर्छु, त्यहाँ रहेका तमाम उद्योगी व्यवसायीको हक अधिकारका लागि काम गर्नेछु ।’

कोरोना कहरबाट आक्रान्त बनेको व्यापार व्यवसायको उत्थानकालागि आफु सक्रिय रहेर महासंघमा काम गर्ने प्रतिबद्धता जनाए ।

 

प्रतिक्रिया