‘महासंघको गिरेको साखः उठाउन ढकालको जित आवश्यक’

काठमाडाैं । खोटाङ उद्योग वाणिज्य संघबाट महासंघको निर्वाचनमा खुल्ला तर्फबाट नगर र जिल्लाको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका राजेन्द्र लयालुले विगतका कार्य समितिले मोफसलमा रहेका उद्योगी व्यवसायीहरुलाई संवोधन गर्न नसकेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको यहि मंसिर १३ गते राजधानीमा हुन गइरहेको निर्वाचनमा चन्द्रप्रसाद ढकालको प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका राजेन्द्र लयालुले मोफसल त्यसमाथि पहाडी क्षेत्रका उद्योगी व्यवसायीहरुको प्रतिनिधित्व गर्दै आफुले उम्मेद्वारी दिएको बताए ।

‘महासंघमा हामी मोफसलमा रहेका त्यसमाथि पनि दुर्गम क्षेत्रमा रहेकाहरुको कहिल्लै प्रतिनिधित्व भएन, विगतका कार्य समितिहरु समेतले हामीलाई हाम्रा समस्याहरुलाई नसुनेकाले अब आफैं महासंघमा नगई भएन भनेर मैले सफल व्यवसायी चन्द्रप्रसाद ढकालको पक्षबाट उम्मेद्वारी दिएको हुँ ।’ लयालुले भने ।

उनले महासंघलाई चलायमान बनाउन तथा सवै उद्योगी व्यवसायीको साझा संस्थाका रुपमा स्थापित गर्नका लागि पनि ढकाल प्यानललाई जिताउनु पर्ने बताए । पहाडी क्षेत्रका उद्योगी व्यवसायीको विभिन्न समस्याहरु निराकरण गर्न, करका कुरा, धरपकडका कुराहरु हल गर्न महासंघको ढकाल प्यानलले अगाडी सारेका धेरै एजेण्डाहरु सकारात्मक भएकालेपनि आफ्नो उम्मेद्वारी ढकाल प्यानलबाटै भएको तर्क गरे । ‘राज्यसँगका समस्याहरु, धरपकडका कुराहरु, करका कुराहरु विभिन्न समस्या छन् । यी समस्याहरुलाई एकत्रित रुपमा संवोधन गर्न सक्ने क्षमता र योग्यता ढकाल टीम सँग रहेको छ । त्यसैले मैले यो टीमबाट आफ्नो उम्मेद्वारी घोषणा गरेको हुँ ।’

नेपाल सरकारले निजी क्षेत्रलाई कुनैपनि स्थानमा राख्न नसकिरहेको अवस्था, स्थानीय, केन्द्रमा प्रोटोकलहरुमा समेत नराखेका विषयहरुलाई समेत संवोधन हुने गरी समग्र उद्योगी व्यवसायीको पक्षमा बोल्न सक्ने क्षमता भनेको ढकाल प्यानलमा मात्र रहेको उनको तर्क छ ।

उनले ठूला तथा साना सबै उद्योगी, व्यवसायीका समस्या समाधान गर्न सक्ने क्षमता ढकालमा मात्र रहेको जिकिर गरे । विगतका कार्य समितिहरु निस्कृय रहँदा अहिले उद्योगी व्यवसायीले विभिन्न दुखः पाएको उनको भनाई छ ।

‘तीन वर्ष यता संघ झनै निस्किय रहेको हामीले महशुष गरेका छौं । ८ महिना कोभिडले थिलथिलो बनायो, पर्यटन, होटल व्यवसाय बैंकको ब्याज तिर्न नसक्ने अवस्थामा पुगेका छन् । उद्योगी व्यवसायीमाथि धरपकड हुने अवस्था छ । यी विषयहरु हामीले जिल्ला–जिल्लामा उठाएपनि महासंघका नेतृत्वहरुले कानमा तेल हालेर बसे ।’ उद्योग वाणिज्य संघ खोटाङका निबर्तमान अध्यक्ष राजेन्द्र लयालु भन्छन् ।

माथिका सबै विषय र समस्या हल गर्ने क्षमता चन्द्रप्रसाद ढकालकै प्यानलमा रहेको उनको भनाई छ । किशोर प्रधानको प्यानलमा विगतका कार्य समितिमा पटक–पटक नेतृत्वमा रहेकाहरु भएपनि उनीहरुले उद्योगी व्यवसायीको हित गर्न नसकेको उनको आरोप छ ।

उनले भने–‘किशोर प्रधान भनेको जिल्ला, नगर र क्षेत्रमा उपाध्यक्ष भइसकेको मान्छे हो, उहाँको तीन कार्यकाल वितेर गइसक्यो तर, उहाँले कहिल्लैपनि हाम्रा समस्या र मागहरु सुन्ने कोशिष गर्नुभएन । अब हामीले जिल्ला नगर क्षेत्रका समस्या बुझ्न सक्ने मान्छे ल्याउँदै छौं, गुणनिधि तिवारीलाई, उहाँ अत्यन्तै सरल स्वभावको र सरकारसँग पनि लविङ गर्न सक्ने क्षमताको हुनुहुन्छ । चन्द्र ढकाल भनेको सरकारसँग लविङ गर्न सक्ने, सफल व्यवसायी भएकाले उहाँहरुको नेतृत्वले संस्था सफल हुन्छ भन्ने हाम्रो धारणा हो ।’

उद्योगी व्यवसायीहरु अहिले व्यक्तिको पक्षमा भन्दापनि संस्थाका पक्षमा रहेकाले संस्था हाक्न सक्ने, आशा भरोसाको केन्द्र विन्दु नै ढकाल रहेको उनको भनाई छ । ‘महासंघको गिरेको साख उठाउने क्षमता चन्द्रप्रसाद ढकालको टिमसँग मात्र छ ।’

साना व्यवसायीहरुको समस्याहरु समाधान गर्न आफुले जिल्लाबाट प्रतिनिधित्व गरेर आउने बताउँदै उनले महासंघलाई एक शुत्रमा बाँधेर लैजान आफुहरु तयार रहेको बताए ।

कोरोना संक्रमणले मुलुकको अर्थतन्त्र माइनसमा गएकोले निजी क्षेत्र पनि त्यसबाट ठूलो संकटबाट गुज्रिरहेकोले महासंघको नयाँ नेतृत्वले निजी क्षेत्रलाई खुल्ला गराउन पहल गर्नुपर्ने र आफुहरु राज्यसँग छलफल गर्न लागि पर्ने उनको भनाई छ । ‘हाम्रो टीम विजयी भएपनि सबैभन्दा पहिला कोरोनाका कारण धरासायी भएका व्यवसायीलाई राहत दिनुपर्छ भन्ने हाम्रो माग रहन्छ ।’ उनले भने ।

महासंघको यहि १३ गते हुन गइरहेको निर्वाचनमा ढकाल प्यानल अहिले च्नाबी प्रचार प्रसारमा व्यस्त छ । समग्र उद्योग, व्यवसायीको हक अधिकार संस्थागत गर्नपनि ढकाल प्यानलको उपस्थिति आवश्यक रहेको उद्योगी व्यवसायीको धारणा छ ।

प्रतिक्रिया