माधव नेपालको माग–‘सुरेन्द्र पाण्डेविरूद्ध नाराबाजी गर्नेलाई कडाभन्दा कडा कारबाही गरियोस्’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सांसद सुरेन्द्र पाण्डेविरुद्ध नाराबाजी गर्नेलाई कारबाहीको माग गरेका छन् ।

राप्ती नगरपालिकाको एक कार्यक्रमलाई सम्बोधन गर्न शनिबार चितवन पुुगेका पुूर्व अर्थमन्त्रीसमेत रहेका सांसद पाण्डेविरुद्ध नेकपाकै कार्यकर्ताहरुले नाराबाजी गरेको समाचार बाहिरिएपछि नेता नेपालले नाराबाजी गर्नेहरुलाई कारबाही गर्नुपर्ने माग गरेका हुुन् ।

घटनाको भर्त्सना गर्दै नेता नेपालले भनेका छन्–‘गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भइ मन्तव्य राखिरहेका बेला अनधिकृत रूपमा प्रवेश गरेका केही व्यक्तिहरूले सुनियोजित रूपमा गरेको अभद्र व्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु ।’

यस्तै नेता नेपालले थप लेखेका छन्–‘सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अवलम्बन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्नेर गराउने जो सुकै भए पनि छानबिन गरी कडा भन्दा कडा कारवाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउँछु ।’

यता कार्यकर्ताहरुले भने सांसद पाण्डेले स्थानीय विकास निर्माणको कुरै नगरी प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध झुठो लाञ्छना लगाएको भनी आरोप लगाएका छन् । सांसद पाण्डे पछिल्लो निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

आफ्नै क्षेत्रमा त्यस्तो अपमानजनक व्यवहार हुनुुलाई पार्टीको शीर्ष नेतृत्वमा उत्पन्न तिक्तताको ‘साइड् इफेक्ट्’को रुपमा हेरिएको छ ।

 

प्रतिक्रिया