नेकपा शीर्ष तहको विवादको ‘साइड् इफेक्ट्’ : सुरेन्द्र पाण्डेविरुद्ध आफ्नै क्षेत्रमा नाराबाजी [भिडियोसहित]

चितवन । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित सांसद सुरेन्द्र पाण्डेविरुद्ध आफ्नै क्षेत्रमा कार्यकर्ताहरुले नाराबाजी गरेका छन् । पछिल्लो निर्वाचनमा चितवन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पूर्वअर्थमन्त्रीसमेत रहेका सांसद पाण्डेविरुद्ध आफ्नै क्षेत्रमा कार्यकर्ताहरुले नाराबाजी गरेका हुन् ।

वीरेन्द्रनगरको राप्ती नगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रमा ‘विकास निर्माण तथा संसद विकास कोष’को विषय नै  ननिकाली प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अनावश्यक लाञ्छना लगाउने काम गरेकाले उनीविरुद्ध नाराबाजी गर्नुपरेको कार्यकर्ताहरुले बताएका छन् ।

आफ्नो क्षेत्रमा विकासको नेतृत्वसमेत गर्न नसक्ने तर, पार्टीभित्रै गुट तथा उपगुटको नेतृत्व गरी पार्टीलाई विभाजनको अवस्थामा पुर्याएको आरोपसहित सांसद पाण्डेविरुद्ध नाराबाजी गरिएको हो ।

नेकपाभित्र पनि माधवकुमार नेपाल निकट सांसद पाण्डेले पछिल्लो समय प्रधानमन्त्री ओलीविरुद्ध विभिन्न खाले टिकाटिप्पणी गर्दै आएका थए ।

पछिल्लो समय नेकपा शीर्ष तहमा देखिएको विवाद अझै समाधान भइसकेको छैन । गत २८ कार्तिकको केन्द्रीय सचिवालयको बैठकमा अर्का अध्यक्ष (कार्यकारी) पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेपछि थप चिढिएका ओली आगामी १३ मंसिरमा बस्ने सचिवालय बैठकमा दाहालको एक एक आरोपको जवाफ दिने भनी तयारीमा छन् ।

भिडियो यहाँ हेर्न सकिन्छः–

प्रतिक्रिया