जयनगर–कुर्था रेल सञ्चालनका लागि नेपाल–भारत कार्यदलविच छलफल

काठमाडौं । जयनगर–कुर्था–बिजलपुरा रेल सञ्चालन सम्बन्धी कामलाई तिब्रता दिन नेपाल भारत संयुक्त कार्यदल वीच छलफल बसी विभिन्न निर्णय गरिएको छ ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईका अनुसार दुई देशका कार्यदलविच भएको छलफलमा रेल सेवा द्रुत रुपमा सञ्चालन गर्न दुबै पक्ष सहमत भएका छन ।

बैठकले नेपाल भारत जयनगर–कुर्था क्रस बोर्डर रेल सञ्चालनको निम्ति आवश्यक स्टेण्डर्ड अपरेटिङ प्रोस्यूडरका अधिकांश बिषयमा सहमत हुँदै एक दुई बुँदाहरुको भाषागत बिषय मिलाउने र हस्ताक्षर गर्ने निर्णय गरेको छ ।

महाप्रबन्धक भट्टराईका अनुसार भारतीय पक्षको कोनकण रेल्वे र नेपाल रेल्वे कम्पनि बीच दक्ष प्राबिधिक जनशक्ति, रेल्वे सर्भिसिङ, ट्र्याक सर्भिसिङ लगायतका कामको निम्ति तत्काल सम्झौता सम्पन्न गर्ने सहमति समेत भएको छ ।

यस्तै भारत सरकारले निर्माण गरेको जयनगर–कुर्था सेक्सनमा नेपाललाई हस्तान्तरण गर्नका लागि बाँकी रहेका काम इरकोनले द्रुत गतीमा सम्पन्न गर्ने र हस्तान्तरण प्रकृयाको कार्यतालिका बनाएर ट्र्याक तथा अन्य भौतिक संरचना हस्तान्तरण गर्ने पनि सहमति भएको छ ।

महाप्रबन्धक भट्टराईका अनुसार रेल्वे सञ्चालनका क्रममा दुर्घटना भए त्यसको निम्ति भारतको पुर्वि क्षेत्रीय रेल्वेले सहयोग गर्ने पनि सहमति भएको छ ।

नेपालले आफ्नै प्राबिधिक जनशक्ति तयार गर्न आवश्यक ठानेको तालिम उपलब्ध गराउन भारत सकारात्मक रहेको र के कस्तो तालिम उपलब्ध गराउनु पर्ने हो, नेपालले अनुरोध गर्ने निर्णय पनि भएको भट्टराईले जानकारी दिएका छन् ।
भारतले निर्माण गर्नुपर्ने अरु तीनवटा बोर्डर पोइन्टको क्रस बोर्डर रेल्वे निर्माणको काम तत्काल अघि बढाउने निर्णय पनि भएको छ ।

बैठकमा भारतका तर्फबाट भारतीय रेल मन्त्रालयका उच्च अधिकारी, भारतीय रेल्वे बोर्ड, पराराष्ट्र मन्त्रालय, भारतीय दुताबास, कोनकण रेल्वे, इरकोन तथा इष्ट सेन्ट्रल रेल्वेका पदाधिकारीहरुको उपस्थिति थियो ।

नेपालका तर्फबाट रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराई सहित भौतिक योजना मन्त्रालयका सहसचिब गोपाल प्रसाद सिग्देल, रेल बिभागका महानिर्देशक प्रमीला बज्राचार्य, रेल बिभागका सिडिइ अमन चीत्रकार र अर्थ तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।

प्रतिक्रिया