मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

कविता : विंद्धत्सभा

कविता : विंद्धत्सभा

टंक वनेम

सृष्टिको महायुद्ध !
आमाको गर्भाशायमा बाबुको विर्यदान
पाखुरा सुर्काएर
पल्टाउँदै सिसिफस ढुङ्गा
थाकेर पल्टिन्छ उत्तानो हुटिट्याउँ
झयामोलोङ्माको फेदमा
जून घामको भाले जुधाई

किरिङ मिरिङ…………
किरिङ मिरिङ…………
छयाक्र्‍याङ छयाङ…..
सिरिङ रिङ……….
सिरिङ रिङ……….
तप्प…. तप्प…. तप्प ….
मौलो हानेर कविताको गर्दन
स्याकुले ओढ्छ शब्दहरुको बर्षे झरी
सिनाबुङ पड्केर लाब्रे किराको मृत्यु
दुर्योधन गदाले हिर्काएर कविताको गिदी
अहम बोली रहेछ शब्द
चन्द्रमाले चाटेको उज्यालोमा
हारुङ हारुङ कविताका बाघहरु
मान्छेको गिदी खान पल्के पछि
पर्छेर शब्दका अक्षताहरुले।
लुनाखोद ओराल्ने शब्दको काव्य यात्रा
शब्दको शयर होकि? राँके बजारको फौदारी
मिथकको करङ भाच्दै
काउसो छरेर सिरकभित्र
मन्साउदै खिर्रोको बोटनेर टाकुरे भुतहरु
कि दल्सिङ ढुङ्गामा खप्पर बजारेर
गिदीको समुन्द्र मथ्दैछन
विन्ध्याचलको मधानी
कि फलाकेर सेर्गेम् मन्त्रको मुठी चामल
विरुपाक्ष मुन्टो जोतेर जोखना हेर्दैछ
कहाँ बग्छ शाली नदीको कौमार्य?
कहाँ बन्छ खप्परभित्र विनिमार्ण ढुङ्गे युगको ढुङ्गे ओढार?
कस्ले भन्यो गडतिरे अलापको खेवारा हुँदैन?
बाँध्न सक्ने भए निस्कनु
सास्कृतिक युद्ध मैदानमा
बाँधौं किल्लाहरु र लडौं महाभारत।
आरेन्नी सुठ्ठी नैं सारो!
नभिरेर पोत अम्लारी पेटारी झोला
नआढेर पो त शिर माथि वशाङ
नबाँधेर पो ब्रह्मान्ड वाचा
किन हुन्छ बकवृति?
किन हुन्छ बकवेदान्त?
बोम्बावारी पात माथि बोद्धव्य रोपेर
रैमट्ट लिङ्गो ठडाउँदै वारित सेर्गेम्
फलाक्दै विजेतब्य
ओ .. छान्छालो
विद्धत्सभा
ठडिएला त आकाश थाम्ने खम्बाहरु?
सिवालीको लहराले सुनखरी श्वास फेर्दा
एक धार्नी मन्त्र जोखेर नाक्चुङको एक मुखे दाना
जोखना खुट्टयाउँदैछ
स्वतन्त्रताको सडकमाथि
बनेर सर्पको खुट्टाहरु
गन्दैछु एक..दुई …तीन…
एक..दुई …तीन…
सायद देखिने छैन
विंद्धत्सभामा छयाङ्गै दाँतहरु ।

– ताप्लेजुङ् ।

प्रतिकृयाहरु
Loading...