मंसिर मसान्त भित्र क्रियाशिल सदस्यता केन्द्रमा पठाउन कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि मंसिर मसान्तभित्र क्रियाशिल सदस्य (नयाँ र नवीकरण) केन्द्रीय कमिटिमा पठाउन निर्देशन दिएको छ ।

महाधिवेशन नजिकिएको भन्दै कांग्रेसले क्रियाशील सदस्यहरूको सूची सार्वजनिक गरी त्यसको विवरण केन्द्रमा पठाउन ७७ वटै जिल्ला कार्यसमितिलाई पत्राचार गरेको मुख्य सचिब कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

फागुन ७–१० मा कांग्रेसको महाधिवेशन गर्ने कार्यातालिका छ तथापि, कोरोना संक्रमणले तोकिएको मितिमा महाधिवेशन गर्न सहज छैन । पार्टी सभापति शेरबहादुर देउवाले पनि फागुनमा महाधिवेशन गर्न नसकिने भन्दै सार्नु पर्ने बताइरहेका छन् ।

कोरोनाभाइरस महामारीका कारण क्रियाशील वितरण तथा नवीकरणका काम प्रभावित बनेका छन् । कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका कामलाई तीव्रता दिन तल्ला तहमा रहेका पार्टी संरचनालाई निर्देशन दिएको छ ।

गत कात्तिक २८ मा बसेको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यताको काम मंसिरभित्र सक्ने निर्णय गरेको थियो । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशीलको विवरण अनिवार्य रूपमा केन्द्र पठाउन पत्राचार गरिसकिएको छ ।

कांग्रेसमा अहिले पाँच लाख हाराहारीमा क्रियाशील सदस्य छन् । यो संख्या अबको महाधिवेशनमा दोब्बर हुने गरी क्रियाशील वितरणका काम भइरहेको कांग्रेसले जनाएको छ । विवरण पठाउँदा क्रियाशीलको शुल्कसमेत पठाउनुपर्ने भनिएको छ । यस्तै प्रक्रिया पूरा नगरी क्रियाशील दिइएको पाइएमा त्यो नामावली स्वीकृत नहुने कांग्रेसले बताएको छ ।

फागुन १३ र साउन ३२ मा केन्द्रबाट जारी भएका परिपत्रअनुसार क्रियाशील उपलब्ध गराउन कांग्रेसले भनेको छ ।

कांग्रेसमा तोकिएकै समयमा महाधिवेशन गर्न सकिन्छ भन्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य डा. शशांक कोइराला, गगन थापा लगायत नेता छन् । यद्यपि, समय अभाव हुने देखिएमा महाधिवेशन जेठ वा भदौमा गर्न सकिनेमा पनि पार्टीभित्र छलफल भइरहेको छ ।

यदी फागुनमा महाधिवेशन भएन भने कांग्रेसले सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यकाल बढाउन संविधानको साहरा लिनुपर्नेछ । विधानअनुसार देउवाले एक वर्ष कार्यकाल थपेका थिए । फागुन १९ मा उक्त कार्यकाल सकिँदैछ ।

प्रतिक्रिया