अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पको जेठो छोरालाई पनि कोरोना संक्रमण

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठो छोरालाई कोरोना संक्रमण भएको छ । रिपोर्ट पोजेटिभ आएपछि ४२ वर्षीय डोनाल्ड ट्रम्प जुनियर क्वारेन्टिनमा रहेको बीबीसीले जनाएको छ ।

डोनाल्ड ट्रम्प जुनियरले कोभिडका सबै प्रोटोकल पालना गरेको र हालसम्म कुनै लक्षण नदेखिएको समाचारमा छ ।

जुनियरकी श्रीमती किम्बर्ली गिलफोयलमा कोरोना संक्रमण भएको नभएको बारे खुलिसकेको छैन । यसअघि गत जुलाई महिनामा किम्बर्ली कोरोना संक्रमित भएकी थिइन् र उपचारपछि उनी पूर्णरुपमा निको भएकी थिइन् । त्यतिबेला ट्रम्प जुनियरलाई कोरोना संक्रमण देखिएको थिएन ।

अक्टुबर महिनाको पहिलो हप्ता राष्ट्रपति ट्रम्पलाई पनि कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनसम्म अस्पताल भर्ना भएका थिए ।

गत शुक्रबार राष्ट्रपति ट्रम्पका विशेष सहायक एन्ड्र्यु ज्यूलियानीले पनि आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । ज्यूलियानी ट्रम्पको निजी अधिवक्ता रुडी ज्यूलियानीको छोरा हुन् ।

ह्वाइटहाउसमा कम्तिमा चार जनालाई कोरोना संक्रमण देखिएको छ । यसै महिना ह्वाइट हाउसका चिफ अफ स्टाफ मार्क मिडोज र अन्य सहायकलाई पनि कोरोना संक्रमण देखिएको थियो ।

अमेरिकामा कोरोना संक्रमणको दर उच्च छ ।

प्रतिक्रिया