मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु

गृह मन्त्रालयमा ईश्वर पोखरेलको हस्तक्षेप, गृहमन्त्रीलाई थाहै नदिई एआईजीको दरबन्दी थपियो
गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय, नक्सालको जानकारीविनै सरकारले नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप गरेको छ । मन्त्रिपरिषद्मा पेश भएको संगठनात्मकस्वरुप निर्धारण (ओएण्डएम)मा संशोधन गर्दै सरकारले एआइजीको एउटा दरबन्दी थप गरेको हो ।

गोप्य राखिएको मन्त्रिपरिषद्को उक्त निर्णयबारेको पत्र गृहको प्रशासन महाशाखामा पुगेसँगै सार्वजनिक भएको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पनि यस विषयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग असन्तुष्टि व्यक्त गरेका छन् ।
तर, गृहमन्त्री थापा स्वयंलाई यो निर्णयबारे पूर्वजानकारी नभएको उनको सचिवालयका एक अधिकारीले बताएका छन् । उनका अनुसार गृहले पेस गरेका प्रस्तावमा पाँचवटा प्रहरी नायब महानिरीक्षक (डीआइजी)को दरबन्दी थप्नु भनिएको छ ।

छठ तराई(मधेस र पहाडका नेपाली समुदायबीचको सेतु हो : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्व तराई मधेस र पहाडका नेपाली समुदायबीचको सेतुका रुपमा विकसित हुँदै आएको बताएका छन् । छठका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

सन्देश दिँदै प्रधानमन्त्री ओलीले विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीलाई सामना गरिरहेका बेला छठ पर्व मानव स्वास्थ्य सुरक्षाका लागि तोकिएका मापदण्ड अनुशरण गर्दै विशेष सावधानी अपनाएर यसवर्षको छठ पर्व मनाउन आह्वान गरेका छन् ।

कोरोना महामारीले जनताको स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा मात्र नभइ मुलुकको समृद्धिको अभियानमा पनि अवरोध पुर्याएको बताउँदै प्रधानमन्त्री ओलीले सरकारले जनताको स्वास्थ्यमा गरेको क्षति न्यूनीकरण गर्दै रोकथाम तथा नियन्त्रणमा सरकारले आवश्यक कदम चाल्दै आएको बताएका छन् ।

आजको कोरोना अपडेटः थप २२ जनाको निधन, कति थपिए संक्रमित ?
नेपालका कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालका मृत्यु हुनेको संख्या १ हजार २ सय ९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयकाअनुसार थपिएका १ हजार ९ सय ४५ जनासँगै कूल कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ ।
यस्तै देशभर पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ६४ जनाले कोरोना जितेका छन् ।

‘विशाल क्रान्तिपछि देशको नेतृत्व केपी ओलीजस्ता जनयुद्ध विरोधीको हातमा पुग्नु विडम्बना’
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले १० वर्षे जनयुद्धपछि केपी शर्मा ओलीजस्ता जनयुद्धविरोधीको हातमा देशको नेतृत्व पुग्नु विडम्बना भएको बताएका छन् ।

शान्ति सम्झौता भएको १४ वर्ष पुगेको आफ्नो आधिकारिक फेसबूकमार्फत् स्मरण गर्दै नेता भट्टराईले यस्तो बताएका हुन् । यसैबीच नेता भट्टराईले सम्झौतामा भएका आर्थिक र सामाजिक रूपान्तरणका काम सम्पन्न हुन नसक्नु विडम्बनापूर्ण रहेको उल्लेख गरेका छन् ।

सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी आयोगका काम अहिलेसम्म पूरा हुन नसक्नु खेदजनक भएको बताएका नेता भट्टराईले ०५२ सालयताका जनयुद्ध, जनआन्दोलन, मधेस जनविद्रोह, जनजाति आन्दोलन, थरूहट थारूवान् आन्दोलनलगायतका क्रान्तिकारी शक्तिहरूको बृहत् ध्रुवीकरण गरेर देशलाई अग्रगमन र समृद्धिको दिशामा लैजाने आँट गर्नुपर्ने बताएका छन् ।

तीन जना विदेशीलाई देशनिकाला गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले तीन जना विदेशी नागरिकलाई देश निकाला गर्ने निर्णय गरेको छ । लामो समयदेखि गैरकानूनी रुपमा नेपालमा बसिरहेका तीन जनालाई देश निकाला गर्ने सरकारले निर्णय गरेको हो ।

अष्ट्रेलियाका एक जना र यमन गणज्यका दुई नागरिकहरुलाई देश निकाला गरिने भएको हो । अष्ट्रेलियाका लेस्ली डेन्गेट र यमनका मोहम्मद स्मेल अहमद ओवादी र नासिम स्मेल अहमद ओवादीलाई क्रमसः विलम्ब शुल्क १२ हजार ७ सय ३० अमेरिकी डलरसँगै जरिवाना बराबरको ५० हजार, भिसा दस्तुर ३ हजार ६६ अमेरिकी डलर, विलम्ब शुल्क ५ हजार ११० अमेरिकी लडर र जरिवाना बापत्को १ लाख मिनाहा गरी देश निकाला गरिने भएको हो ।

‘नेपालका अधिकारीहरूले विधिको शासनको अवमूल्यन गरिरहेका छन्’
ह्यूमन राइट्स् वाच् र एड्भोकेसी फोरमले नेपालका अधिकारीहरूले विधिको शासन तथा सुरक्षा क्षेत्रको सुधार कार्यको अवमूल्यन गरिरहेका बताएका छन् ।

सशस्त्र १० वर्षे जनयुद्धपछि बृहत् शान्ति सम्झौताको १४ वर्ष पुगेको अवसरमा शुक्रबार संयुक्त प्रतिवेदन सार्वजनिक गरेका दुई मानवअधिकारवादी संस्था वाच् र फोरमले द्वन्द्वकालका घटनाहरूमा भएका मानवअधिकार उल्लंघनमा प्रहरी तथा अभियोजनकर्ताहरूलाई अनुसन्धान अघि बढाउन अवरोध गर्दै नेपालका अधिकारीहरूले विधिको शासन तथा सुरक्षा क्षेत्रको सुधार कार्यको अवमूल्यन गरिरहेका बताएका हुन् ।

यसैगरी प्रतिवेदनमा सरकारी सुरक्षाबल र माओवादीहरूबीच दश वर्ष चलेको सशस्त्र द्वन्द्व विसं ०६३मा अन्त्य हुँदासम्ममा हजारौं मानिसलाई जबर्जस्ती बेपत्ता बनाइएको, यातना दिइएको र हत्या गरिएको उल्लेख छ भने गम्भीर अपराधमा संलग्नलाई अहिलेसम्म पनि जवाफदेही बनाउन सरकार असफल रहेको पनि उल्लेख गरिएको छ ।

प्रहरीले गरेको भनिएको गैरन्यायिक हत्या, यातनाबाट भएको भनिएको मृत्यु र निःशस्त्र प्रदर्शनकारीमाथि गोली चलाएको घटनामा बलियो प्रमाण भए पनि अधिकारीहरूले कारबाही गर्न नमानेको यथार्थलाई वाच् र एड्भोकेसीले उल्लेख गरेका छन् ।

शान्ति प्रक्रियाका बाँकी काम सहजै टुंगिन्छ : प्रचण्ड
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम सहजै सम्पन्न हुने बताएका छन् ।

शान्ति सम्झौता भएको १४ वर्ष पुगेको अवसरमा प्रचण्डले शुक्रबार पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै यस्तो बताएका हुन् । त्यस क्रममा उनले शान्ति प्रक्रियाका जटिल, संवेदनशील र गम्भीर विषय टुंगिसकेकाले बाँकी काम सहजै टुंगिने बताएका हुन् ।

शान्ति सम्झौता कार्यान्वयन नेपालको इतिहासमा र दक्षिण एसियामा मात्रै नभएर विश्वमा नै अभूतपूर्व घटना भएको पनि उनले बताए । नेपालको शान्ति प्रक्रिया आफ्नै मौलिकता र विशेषताअनुरुप भएको प्रचण्डले दावी छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन सम्बन्धी काम पनि अब सहजै ढंगले टुंगिने प्रचण्डले बताएका थिए । यसैबीच आजै प्रचण्डले उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेललाई भेटेका छन् । भेटमा नेकपाको आन्तरिक विवादका विषयमा कुराकानी भएको बताइएको छ ।

वाणिज्य महासंघको चुनाव – ६३ सिटमा १ सय २७ जनाको उम्मेद्वारी
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनका लागि प्रकाशन भएको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन एफएनसीसीआईको निर्वाचन समितिले शुक्रबार अन्तिम नामावली सार्वजनिक गरेको हो ।

सार्वजनिक गरेको सूचीअनुसार ६३ सिटका लागि १ सय २७ जनाको उम्मेदवारी परेको छ । आगामी ११ देखि १३ सम्म वरिष्ठ उपाध्यक्षसहित अन्य पदहरुमा काठमाडौं उपत्यकामा निर्वाचन हुँदैछ ।

महासंघको केन्द्रीय सदस्यमा दुई उम्मेदवारहरु भने निर्विरोध निर्वाचित भएका छन् । महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । अब हुने वरिष्ठ उपाध्यक्षका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल प्यानल र किशोर प्रधानको प्यानल चुनावी मैदानमा उत्रिँदैछन् ।

ट्रम्पले विश्वलाई डरलाग्दो सन्देश प्रवाह गरेः बाइडन
अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले डोनल्ड ट्रम्पद्वारा चुनाव हारेको स्वीकार नगर्नुलाई निन्दा गर्दै यसले ‘एउटा देशका रूपमा एकदमै भयानक सन्देश प्रवाह गरेको’ बताएका छन् ।

उनले ट्रम्पलाई अमेरिकी इतिहासकै सबैभन्दा गैरजिम्मेवार राष्ट्रपति भएको आरोप पनि लगाएका छन् । बाइडनले महामारीका बेला एकजुट हुन अमेरिकीहरूलाई आह्वान पनि गरेका छन् । बाइडनले ट्रम्पलाई आफू चुनाव जित्दिन भन्ने थाहा भएको र उनले आश्चर्यजनक रुपमा गैरजिम्मेवारी देखाएको बताएका छन् । कोरोनाभाइरस सङ्कटबारे डेमोक्र्याट र रिपब्लिकन दुवै पार्टीका गभर्नरहरूसँग भएको एउटा भर्चुअल बैठकपछि बोल्दै बाइडनले यस्तो बताएका हुन् ।

डेविड लुइजद्वारा रियल म्याड्रिड मिडफिल्डरमाथि हातपात
ब्राजिलियन डिफेन्डर डेविड लुइजले प्रशिक्षणका दौरान स्पेनिस क्लब रियल म्याड्रिडबाट लोनमा आर्सनल आएका मिडफिल्डर ड्यानी सेबालोसमाथि हातपात गरेका छन् ।

गत शुक्रबार आर्सनलको प्रशिक्षण मैदानमा भएको अभ्यास खेलपछि लुइजले सेबालोसलाई मुक्का प्रहार गरेका हुन् । प्रशिक्षक मिकेल आर्टेटाले खेल सकिएको सिठी फुकेलगत्तै लुइजले सेबालोसको नाकमा मुक्का प्रहार गरेका थिए । मुक्का खाएपछि सेबालोसको नाकबाट रगत आएसँगै उनी लुइजमाथि झम्टिएका थिए । तर अन्य खेलाडीले दुई जनालाई भिड्नबाट रोके ।

अन्य खेलाडी मैदानमा रहेर अन्य कार्य पूरा गर्दा दुई खेलाडीलाई भने तरुन्त घर पठाइएको थियो । आर्सनलले त्यसपछि तीन दिन छुट्टि दिएकाले मंगलबार मात्र सबै खेलाडी जम्मा भएका थिए । प्रशिक्षक आर्टेटाले दुवै खेलाडीलाई टोलीको अगाडी माफी माग्न लगाएका थिए । त्यसपछि दुवै खेलाडीलाई एक अर्कासँग छलफल गरेर स्थिति ठिक पार्न निर्देशन दिइएको थियो ।

सेबालोस यसअघि पनि आर्सनलका फरवार्ड एडी एनकेटियासँग असहमति राखेपछि भनाभन परेको थियो । लगातर दोस्रो सिजन रियल म्याड्रिडबाट लोनमा आएका उनले यस सिजन भने अपेक्षित प्रदर्शन गर्न सकिरहेका छैनन् ।

प्रतिक्रिया