महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालका यस्ता छन् सफलताका कथा

काठमाडौं । पछिल्लो समय चन्द्रागिरी हिल्स र आइएमई ग्रुप स्थापना गरेर चन्द्र प्रसाद ढकाल सफल उद्योगीको रुपमा उदाएको उद्योगी व्यवसायीको भनाई छ । उनी समयको ख्याल गर्ने व्यक्ति भित्र पर्छन् । ढकालका साथीहरु भन्छन्, ‘समय नै उनलाई चिन्ने मापन हो । समयसँग उनी कुनै सम्झौता गर्दैनन् ।’

व्यवसायीक होस् वा सामाजिक काममा उनको टिमका कुनैपनि कर्मचारीले अहिलेसम्म समय छल्न सकेका छैनन् । बैठक होस् या काम, उनको उपस्थिति सदैव अनटाईम हुने गर्दछ । कतिपय अवस्थामा त ढकाल समय अगावै आइपुग्छन् ।

उदयीमान व्यवसायी ढकालले अहिले हरेक गोष्ठी, बैठकको कुराकानीमा भन्ने गर्छन्–‘नेपाल राष्ट्र बैंकले नेपालका वित्तीय संस्थाका लागि जारी गर्ने या निर्माण गर्ने नीतिलाई सबैभन्दा पहिला कार्यान्वयनमा ल्याउने हामी नै हौँ ।’

ढकालको दावीको पछिल्लो उदाहरण लिँदा सत्य सावित के हुन्छ भने नेपाल राष्ट्र बैंकले अघि सारेको ‘बिग मर्जर’को नीतिलाई सबैभन्दा पहिला कार्यान्वयनमा ल्याउने ग्लोबल आइएमई बैंक नै हो । जनता बैँकसँग मर्ज भएपछि यो बैंक नेपालको सबैभन्दा ठूलो बैंक समेत बनेको छ ।

बागलुङको अमलाचौरमा विक्रम संवत २०२२ सालमा सामान्य परिवारमा जन्मिएका चन्द्रप्रसाद ढकालको अहिलेको पहिचान मुलुककै सफल व्यवसायी हो । उनको उद्यमशीलताको यात्रा धेरै पुरानो छैन । करिब साढे दुई दशकमै उनले आफुलाई सफल व्यवसायीका रुपमा मात्र चिनाएनन्, देशमै उद्यमशिलता सृजना गर्नुपर्छ भनेर आफुलाई आभियानकर्मीका रुपमा समेत स्थापित गरे ।

ढकालले अढाई दशकमा प्राप्त गरेको सफलताको श्रेय उनको मेहनत, लगनशीलता र काम प्रतिको दृढ इच्छाशक्ति नै हो । उनी कुनै कामको शुरुवात गर्छन् भने त्यसलाई सफल बनाएरै छाड्छन् । ‘मेरो सफलताको सबैभन्दा दरिलो टेको भनेको निरन्तर लगाव र परिश्रम नै हो ।’

अहिले उनी आइएमई ग्रुप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरी हिल्स लिमिटेडको अध्यक्ष छन् । यसका अलावा सामाजिक क्षेत्रमा ढकालले अनेक संस्थामा रहेर काम गरेका छन् । ति संस्थाहरुलाई सफल बनाएका उदाहरण छन् । नेपालमा बैंक तथा वित्तीय सेवालगायत जलविद्युत्का क्षेत्रमा उनको ओझपूर्ण उपस्थिति भइसकेको छ ।

नेपालको व्यवसायमा बहुआयामिक क्षेत्र समेट्दै अघि बढेका उनी सबैलाई परिश्रम नै गर्न सिकाउँछन् । भन्छन्, ‘संसारका अरु भूगोलका तुलनामा हाम्रो माटो धेरै मलिलो छ । यहाँ जे रोपे पनि सुन फल्छ, तर यसले मेहनतको अपेक्षा गर्छ । म त भन्छु, हाम्रो माटोमा जे रोपेर पनि सुन फलाउन सक्छौँ, उद्यम गर्न अन्त कतै भौँतारिनु पर्दैन ।’

व्यवसायमा सफल हुन के गर्ने ? भनेर प्रश्न गर्दा उनले महाकवी लक्ष्मीप्रसाद देवकोटाको प्रश्नोत्तर कविताबाट दुई लाइन सुनाए, ‘के हो ठूलो जगतमा पसिना विवेक, उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ सफल व्यवसायी ढकालका अनुसार चन्द्रमा छुने उद्देश्य लिएर सफलता हात नपर्ने कुरै हुँदैन । तर, चन्द्रमा त्यत्ति सजिलै छुन सकिँदैन त्यसका लागि पसिना र विवेक पनि चाहिन्छ । हो, हामीले आफ्नो विवेक प्रयोग गरी मेहनत गर्यौं भने एक दिन सफलता अवस्य प्राप्त गर्न सक्छौं । ढकालको भनाईको सार हो ।

चन्द्रमा छुन सिकाउने अथवा संम्भव बनाउने पसिना र विवेक हो । पसिना, परिश्रम या मेहनत हो, विवेक बुद्धि या ज्ञान हो । पसिना र विवेक बिना नै चन्द्रमा छुन खोज्नु मुर्खता सिवाय केही हैन । परिश्रम नगरीकन सफलता दुर्लभ छ ।

‘हो, मानिसलाई कतिपय अवस्थामा नसोचिएको सफलता पनि हात लाग्छ अथवा केही नसोचिएका कुराहरु पनि हुन सक्छन् । तथापि, ती नराम्रा पनि त हुँदैनन् ! जे हुन्छ राम्रै हुन्छ ।’ सफलताको सिंढिमा उक्लनेहरुले कर्म गरिरहनुपर्छ । कर्म गरेपछि फल पाइन्छ भन्ने उनको अर्को सफलताको शुत्र को । कर्म नगरीकन फल खोज्नु चैं मुर्खता हो ।

उनको अहिलेको सफलताभन्दा वास्तविक पारिवारिक जीवन निकै पर थियो । उनले बालकका रूपमा आफ्नो बुबाको न्यानो माया र सुखद् भविष्यको सपना कहिल्लै देख्न सकेनन् । बुबाले सानैमा छाडेर गएकाले बुबाको प्रेम र दिशा निर्देश के हो ?ढकालले भेउ पाएनन् । सोह्र वर्ष किशोरको काँधमा जब आमा र साना भाइबहिनीको भविष्यसमेत थपियो, त्यसपछि भने ढकालले आफु र आफ्नो परिवारको भविष्यका लागि के गर्ने आफैंले निर्णय लिनुपर्ने भयो । ‘त्यसबेला मेरा आँखा अगाडि एउटै मात्र सपना थियो, जस्तोसुकै मूल्यमा पनि अब आमा र भाइबहिनीलाई दुःखबाट टाढा राख्नुपर्छ ।’

तर, भर्खर जुंगाका रेखी बसेका ढकालले आफ्नो परीवारलाई कसरी सुखी राख्ने ? भेउ चैं पाएकै थिएनन् । विगतका संघर्ष सम्झँदै उनी भन्छन्–‘त्यो किशोर मष्तिष्कले सोच्न सक्ने कुरा पनि भएन । जसरी हुन्छ आमा र भाई बहिनीहरुलाई सुखमा राख्नु पर्छ भन्ने ध्याउन्न मात्र थियो ।’

१६ वर्षे उमेरमै खुशीमा ग्रहण लागेको महशुस गरेको व्यक्तिको जिन्दगीलाई पूर्णमास बनाउन कसरी सहज भयो ? उनको जवाफ यस्तो छ–‘जीवन त सबैको हुन्छ, मेरो मनभित्र पनि झिनो आशाको दियो धिपधिपाएको मेरो हृदयले देखेको थियो । मेरो आत्मबलले त्यो दियो चम्काउने प्रण गर्यो । उद्यमशील हुने सपना देख्यो ।’ र, शुरुका दिनमा राष्ट्रिय वाणिज्य बैंकमा जागिरे उनी त्यसलाई चटक्कै छाडेर ब्यापार ब्यवसाय तिर लागे र, सुरुमा कोल्ड स्टोर सुरु गरे । ‘४ वर्ष बैंकको जागिर खाएँ, त्यसले मेरो घरको केही आर्थिक संकट त टार्यो तर, मैले आत्मसन्तुष्टि भने पाउन सकिनँ । त्यहि भएर ४ वर्षमै जागिर छाडेँ ।’ उनी विगतका संघर्ष सम्झन्छन् ।

बैंकको जागिर छाड्नुमा पनि कारण छ चन्द्र ढकालसँग । ०४८ सालमा चन्द्र ढकालले भाई हेमराजसँग कोल्ड स्टोर शुरु गरे । उनलाई ‘पैसाले पैसा तान्छ’ भन्ने ज्ञान पलाइसकेको थियो । व्यवसाय पनि गर्ने, बैंकमा पनि जागिर खाने गरेका ढकालले कार्गो व्यवसायमा पनि हात हाले ।

कार्गो व्यवसाय त गर्ने तर, उनीहरुसँग पर्याप्त पुँजी थिएन । ‘अब के गर्ने ?’ ढकाल दाजुभाईका अगाडी प्रश्न तेर्सियो । चन्द्र अझै बैंकमा काम गर्थे, आफुले काम गर्ने बैंकले कर्जा दिन्छ भन्ने विस्वास लिएर उनी आफ्नै बैंकमा कर्जा माग्न गए । त्, उनलाई आफुले काम गरेकै बैंकले पत्याएन । ‘हामीलाई कार्गो चलाउन १२–१३ लाख चाहिएको थियो, आफैंले काम गरेको बैंकमा कर्मचारीलाई कर्जा दिन मिल्दैन भने ।’ आँटेपछि गरेरै छाड्ने स्वभावका चन्द्रले त्यत्तिबेलै बैंकका कर्मचारीकै अगाडी राजीनामा दिँदै भने–‘अब त मिल्छ होला नी !’

त्यसपछि भने उनलाई आफुलाई २४ सै घन्टा व्यवसायमा समर्पित गरे । फल स्वरुप आज दुई दशकको व्यवसायीक यात्रामा उनी देशकै सफल उद्यमीका रुपमा स्थिापित भइसकेका छन् ।

बैंकको जागिर छाडेर व्यवसायमा होमिएका ढकाल अहिले देशकै सबैभन्दा ठूलो बैंकको अध्यक्ष छन् । कुनै बेला १०–१२ लाख ऋण नपाएर बसेका चन्द्र ढकाल आज हजारौंलाई रोजगारी दिँदै अरबौं रुपैंया कर्जा लगानी गर्न सक्ने भएका छन् ।

सफलतामा नमात्तिने र असफलतामा नअत्तालिने ढकालको स्वभाव छ । उनी सधैँ भन्ने गर्छन्–‘औँसीको रातमा आइपर्ने अप्ठ्यारोसँग भिड्ने साहस राख्नेहरुले मात्रै पूर्णिमाको मज्जा लिन पाउँछन् ।’ हाल नेपालको उद्यमशीलताका क्षेत्रमा ‘सफल व्यवसायी’ उपमा लिन सफल ढकालको जीवनका यी कठिन कथाका पानाहरु पल्टाउने जोसुकैले निकाल्ने अन्तिम निष्कर्ष पनि यही नै हो ।

बैंकबाट राजिनामा दिएको दिन उनको जिवनमा नयाँ अध्यया शुरु भएको ढकालको ठहर छ । ‘त्यो दिन सही निर्णय गरेछु भन्ने लाग्छ । तर त्यही दिन, त्यसै पलमा त्यो निर्णय कसरी गरेँ भन्ने चैं अहिले पनि बेला–बेलामा सोच्ने गर्छु ।’ उनी अगाडी भन्छन्–‘त्यस समय बैंकको जागिर सबैलाई प्यारो थियो । तर, मेरो ब्रह्मज्ञानले जागिरे जीवनभन्दा व्यावसायिक जीवन कसरी रोज्यो होला ? कहिले काहीँ आफैँ पनि छक्क पर्छु ।’

व्यवसाय थालेका उनले कार्गो व्यवसायलाई राम्ररी विदेशमा पनि फैलाउन चाहन्थे । त्यतिबेला नेपाली तयारी पोशाक (गार्मेन्ट) उत्पादनको अमेरिकामा राम्रो बजार थियो । कार्गो व्यवसाय विस्तारका लागि उनले अमेरिका जाने तयारी गरे । भिसा पनि लाग्यो । तर, जापान भएर अमेरिका जाने योजना बनाएका ढकाल अमेरिका गएनन् । एक गाउँले दाइको आग्रहमा १० महिना जापानमै बसे र काम गरे । ‘त्यस समय जापानको रोजगारीलाई राम्रो मानिन्थ्यो, ती दाजुको आग्रह भयो र म १० महिनाजति त्यहीँ काम गरेर बसेँ । अमेरिका गइनँ’, उनले भने ।

जापानको बसाईले उनलाई विजनेशमा नयाँपन दिने नयाँ ‘आइडिया’ फुर्यो । जापानबाट कमाएको पैसा नेपाल पठाउन उनलाई धेरै सास्ती भो । हुण्डीबाट असुरक्षित रुपमा पैसा पठाउँदा धेरै नेपालीले दुखः पाएको पनि देखे, भोेगे । उनीपछि भाई हेमराज पनि सानो काम र व्यवसाय गरेर जापानमै केही समय बसे । र, विदेशमा रहेका नेपाली दाजुभाईले दुखःले कमाएको पैसा कसरी सुरक्षित र भरपर्दो रुपमा स्वदेश पठाउन सकिन्छ भन्ने ध्याउन्नमा लागे । ढकाल दाजुभाइको त्यही अनुभव र भोगाईको उपजले जन्माएको हो ‘आइएमई’ ।

कसरी भयो आइएमईको शुरुवात ?

कुनै व्यवसाय गरेर एक व्यक्ति सफल हुने भन्दा पनि उसले राष्ट्रलाई के दियो भनेर हेर्नुपर्छ । उनीहरुको सोच र अभियानबाट देशको अर्थतन्त्रको प्रमुख स्रोत बनेको रेमिट्यान्स (विप्रेषण) लाई पारदर्शी र व्यवस्थित रूपमा स्वदेश भित्र्याउने कडीको रुपमा विकास भएको छ ।

अहिले प्रायः हरेक नेपाली घरपरिवारसँग जोडिएको रेमिट्यान्ससँग उनीहरुको कडा परिश्रमको टेको लागेको छ । ‘आइएमई’ सँग सायदै कोही नेपाली अपरिचित होलान् ? यो एउटा कम्पनीमात्र नभएर नेपालीको जीवनशैलीसँग नै जोडिन पुगेको छ ।
नेपालीले विदेशको कमाइ औपचारिक बाटोबाट ल्याउने कामको थालनी यही कम्पनीले गरेको हो । नेपालको अगुवा रेमिट्यान्स कम्पनीका रूपमा यसले रकम नेपाल भित्र्याएपछि सरकारको आम्दानीको स्रोत समेत बढ्यो ।

त्यस समय हुण्डी मार्फत मात्र रकम नेपाल भित्रिने गरेको विकल्पमा नेपालमा पहिलो पटक यो नीतिगत व्यवस्थाको विकल्प उनीहरुले नै दिएका हुन् । यसले नेपालको सामाजिक अपराध या वैदेशिक रोजगारीमा पुगेका नेपालीहरु लुटिनबाट पनि जोगाएको छ ।

सरकारले सन् २००१ मा रोजगारीका लागि मलेशिया खुला गर्यो । त्यहाँ धेरै नेपाली गए । त्यस बेला नेपालमा पैसा भित्रिने कुनै कानूनी प्रावधान थिएन । नेपाल राष्ट्र बैंक पनि अनौपचारिक माध्यमबाट रकम आउने क्रम बढेसँगै चिन्तामा थियो ।

‘यही समस्याको हलका लागि हामीले हाम्रो अनुभवलाई टेकेर ‘इन्टरनेशनल मनी एक्सप्रेस’ (आइएमई) खोल्ने प्रस्ताव राष्ट्र बैंकसँग गर्यौँ, जुन सफल पनि भयो । त्यही आइएमई अहिले नेपालको ‘मनी ट्रान्सफर’ को पर्यायवाची हो भन्दा फरक पर्दैन । अहिले मानिस पैसा पठाउन कुनै बैंकमा या अन्य मनी ट्रान्सफर कम्पनीमा पुगेपनि ‘आइएमई गरिदिनुस्’ भन्ने गरेको सुनिन्छ । यो हाम्रा लागि ठूलो खुशी हो ।’ त्यत्ति बेलाको सोच आज देश विकासको मेरुदण्ड बनेकोमा उनी गौरवान्तिक हुन्छन् ।

‘आइएमई स्थापना गर्दा हामी यो अवस्थामा पुग्छौँ भन्ने थिएन’, उनी भन्छन्–‘हामीले एक खालको जोखिम नै मोलेका थियौँ । जति जोखिम त्यति नै सफलता पनि हात लाग्दोरहेछ ।’

शुरुवाती दिनहरुमा हामीले आइएमई खोलेका छौँ, तपाईंहरुको रकम सुरक्षितरूपमा घर परिवारसम्म पु¥याइदिन्छौँ भन्दा मानिसहरुले नपत्याउने गरेको उनी बताउँछन् । ‘विस्तारै कुरा बुझाउँदै गयौं, हाम्रो इमान्दारीताले विस्तारै हामीलाई यहाँसम्म ल्यायो ।’

हाल आइएमई नेपालको विप्रेषण क्षेत्रको पर्याय मात्र होइन, नेपालको व्यावसायिक क्षेत्रको उदीयमान ‘ग्रुप’ पनि हो । यसले रेमिट्यान्स, बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स, अटोमोबाइल, ऊर्जा, पर्यटन, विद्युतीय भुक्तानी, ट्राभल, सूचना–प्रविधि, केबलकार र हस्पिट्यालिटीलगायत विभिन्न व्यावसायिक क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ । यी सबैको जगको ढुङ्गा ‘आइएमई’ नै हो ।

व्यावसायिक यात्रामा फड्को केबलकार

आइएमई ग्रुपका संस्थापक रहेका ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घमा अहिले उपाध्यक्ष तथा अरु कैयौँ सामाजिक क्षेत्रमा पनि उत्तिकै संलग्न छन् । उनी आफ्नो निजी व्यापार मात्र गर्दैनन्, उद्योग, वाणिज्य क्षेत्रलाई सहजीकरण गर्ने नीतिगत व्यवस्थाका लागि पनि समय खर्चिन्छन् । रोजगारदाता परिषद्को सभापति उनले रोजगारदाताहरुको हकहितको स्थापनामा काम गरेका छन् ।

ढकालले आफ्नो व्यक्तित्व निर्माणमा गरेका सङ्घर्षका कथाहरु धेरैको प्रेरणाका स्रोत बन्न योग्य छन् । उनको सफलताको ओझिलो यात्रामा बटुलेका अनुभव भावी पिँढीका लागि पथप्रदर्शक मात्र होइन कि प्रयोगशाला नै बन्न सक्छन् ।

ढकाल दाजुभाइको सिर्जनामा स्थापित चन्द्रागिरी केवलकार छोटो समयमै राष्ट्रिय सम्पत्ति बनेको छ । विसं २०७३ बाट सञ्चालनमा आएको चन्द्रागिरी केबलकार नेपाल भ्रमणमा आएका राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई ‘रिट्रिट’ गराउनेदेखि लिएर महत्वपूर्ण कार्यक्रम नै सञ्चालन गर्ने एउटा उत्तम विकल्प बनेको छ ।

ढकालले भने, ‘चन्द्रागिरी आयोजना नेपालमा नाकाबन्दी र भूकम्पले जर्जर पारेको अवस्थामा पनि समयमै सम्पन्न भएको हो । मलाई लाग्छ नेपालको त्यस समयको अर्थतन्त्रको मनोबल उकास्ने काम गरेको छ ।’

हुन पनि हो, भूकम्प र नाकाबन्दीका कारण नेपाली अर्थतन्त्र थरथर काँपेको अवस्था थियो । राजधानीमै यो केबलकारका खम्बाहरु चन्द्रागिरीको चुचुरोमा ठडिएसँगै यहाँको उद्योग क्षेत्रले पनि आफू तंङ्ग्रिएको महशुस गरेको थियो । यसले नेपालको आर्थिक क्षेत्रको मनोबल बढाएको थियो । हाल त्यहाँ रिसोर्टदेखि विभिन्न एकीकृत पर्यटकीय संरचनाहरु बनेका छन् ।

हालै चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौँको औपचारिक कार्यक्रम सकेपछि चन्द्रागिरी पुगे । उनले त्यहाँबाट केही घण्टाको हाइकिङ पनि गरे । निकै रमाए । उनको भ्रमणपछि अहिले त्यहाँ चिनियाँ पर्यटक बढेका छन् । उनी भन्छन्, ‘यहाँ आएका केही चिनियाँ पर्यटकसँग कहिलेकाहीँ कुराकानी गर्छु उनीहरुले चीनमा त यसको नाम ‘मुन माउण्टेन’ दिएका छन् रे ।’

हाल ढकाल व्यावसायिकरूपमा नेपालमा केबलकार विस्तारको योजनामा देखिन्छन् । नेपालका सातै प्रदेशमा केबलकार पुर्याउने योजना छ उनको । भन्छन्, ‘केही स्थानमा सम्भाव्यता अध्ययन गरेका छौँ र कतिपयमा काम धेरै अघि बढेको पनि छ ।’

व्यवसायमा इमान्दारीताको ठूलो महत्व छ । इमानबिना व्यवसाय टिक्दैन, सफल हुँदैन । अनि मेहनत र धैर्यता पनि चाहिन्छ । ढकाल दाजुभाइमा यही गुण भेटिन्छ । मेहनत, इमान्दारिताले नै उनीहरुलाई सफलता दिलाएको हो भन्न सकिन्छ । नेपालको बैंकिङ क्षेत्रमा सरकारको योजना कार्यान्वयन गर्ने प्रमुख निकायको रूपमा ग्लोबल आइएई बैंक शीर्षस्थानमा छ । चालू आर्थिक वर्षको बजेटमा ‘क’ वर्गका बैंक तथा वित्तीय संस्था गाभ्ने नीति समेटियो । सोही नीतिलाई कार्यान्वयन गर्न ढकालले नै जोखिम उठाएर साहसिक निर्णय गर्छन् ।

सरकारको सोही नीतिका कारण ग्लोबल आइएमई र जनता बैंक मर्ज भएर गत मङ्सिर २० बाट एकीकृत कारोबार नै शुरु भयो । मर्जरपछि ग्लोबल आइएमई बैंक पूँजी, व्यवसाय, शाखा सञ्जाल समेतका हिसाबले नेपालकै ठूलो बैंक बनेको छ । बैंकको चुक्ता पूँजी करीब रु १९ अर्ब, कूल निक्षेप रु दुई खर्ब १३ अर्बभन्दा बढी र कूल कर्जा रु एक खर्ब ९४ अर्ब छ । त्यस्तै देशका सातै प्रदेश तथा ७७ वटै जिल्लामा ३ सयभन्दा बढी शाखा र तीन हजार २ सय ५० भन्दा बढी कर्मचारी छन् ।

राष्ट्रिय बाणिज्य बैंकका सहायक तहका कर्मचारी रहेका ढकाल त्यसको करिब साढे दुई दशकपछि देशकै सबैभन्दा ठूलो बैँकको अध्यक्ष बन्न सफल भए । मङ्सिर २० गते संयुक्त कारोवार शुभारम्भका लागि ग्लोबल आइएमई बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा र नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सो कारोवार शुभारम्भको उद्घाटन गरेका थिए ।

त्यस कार्यक्रममा उनलाई मन्त्री एवं उपस्थित सबैले सबैभन्दा ठूलो बैंकको अध्यक्ष भएकामा बधाई दिँदै देशकै ठूलो बैंक भएकाले सबैको आँखा लाग्ने भन्दै चुनौती थपिएको पनि सुझाएका थिए ।

नेपालमा लगानीको वातावरण छ ?

यो प्रश्नमा ढकाल भन्छन्, ‘बलियो सरकार छ, लगानीकर्ताहरुले अरु केही वातावरणका अतिरिक्त स्थायी सरकार हेर्छन् नै । अहिले लगानीको वातावरण छैन भन्न मिल्दैन । तीन तहको सरकार बनेपछि लगानी भित्र्याउन एक किसिमले प्रतिस्पर्धा नै भएको छ ।’

ढकाललाई प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले व्यक्तिगतरूपमा भेटेर या फोन गरेर आफ्नो प्रदेशमा पनि चन्द्रागिरीजस्तै केबलकार बनाउन आग्रह गर्ने गरेको सुनाए । ‘तपाईँ आउनुहोस् वातावरण हामी बनाइदिन्छौँ भन्ने गर्नुभएको छ’, ढकालले भने ।

जन्मस्थलको माया

जन्मिएको माटोको औधी माया छ ढकाललाई । आफ्नो जिल्लातिर सम्मेलन, मेला महोत्सवको आयोजना गर्ने हुन् या स्वास्थ्यचौकी, स्कूल या सामाजिक सेवाका कार्यक्रमका लागि सहयोग माग्न आउनेहरु खाली हात फर्किँदैनन् । ‘यो जन्मभूमिप्रतिको माया नै हो ।’ उनी भन्छन् । उनी समय पाएसम्म आफ्नो जन्मघर पुग्ने गर्छन्, भन्छन्, ‘सानोमा खेलेको माटोको छिँडी, आँगन र करेसाबारीले हृदय छुन्छ । कहिलेकाहीँ पुग्छु, बडो आनन्द लाग्छ ।’

कहिलेकाँही आफ्नो मेहनतले सजिएको सुन्दर चन्द्रागिरी चुचुरोको उचाइबाट आफ्नै जिन्दगीतर्फ फर्केर हेर्दा कस्तो लाग्छ ? ‘जिन्दगीले धेरै आयाम बदल्यो, धेरै तलमाथि पनि पार्यो । तर मलाई भने सधैँ बलेवाको सुन्दरताले तान्छ अनि अमलाचौरकै माटो बसाउँछ । अनि सम्झिन्छु, ‘म त्यही धरातलमै छु र जीवनका हरेक पलहरु त्यहीँ पाउँछु ।’

सायद यही मायाले होला ढकाल परिवारले अमलाचौरको पृथ्वी हिरण्य माध्यमिक विद्यालयमा ६ करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेर भौतिक विकास गरेको छ । सो भवनको गत वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । उनका स्व पिता हिरण्यप्रसाद ढकालको स्मृतिमा उक्त विद्यालयको नामाकरण गरिएको छ र उक्त भवनको नाम हिरण्य स्मृति भवन राखिएको छ ।

‘विभिन्न कार्यक्रममा आफूलाई ‘सफल व्यवसायी’ भन्ने गरेकामा मलाई अचम्म लाग्छ । यो देशका सबै नेपाली सफल छन् । कोही कुनै काममा केही समयका लागि असफल भए पनि ती असफलताको अनुभवबाट आगामी दिन झन् सफल बनाउन सकिन्छ’, उनको भनाइ छ ।

प्रतिक्रिया