‘विशाल क्रान्तिपछि देशको नेतृत्व केपी ओलीजस्ता जनयुद्ध विरोधीको हातमा पुग्नु विडम्बना’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले १० वर्षे जनयुद्धपछि केपी शर्मा ओलीजस्ता जनयुद्धविरोधीको हातमा देशको नेतृत्व पुग्नु विडम्बना भएको बताएका छन् ।

शान्ति सम्झौता भएको १४ वर्ष पुगेको आफ्नो आधिकारिक फेसबूकमार्फत् स्मरण गर्दै नेता भट्टराईले यस्तो बताएका हुन् । यसैबीच नेता भट्टराईले सम्झौतामा भएका आर्थिक र सामाजिक रूपान्तरणका काम सम्पन्न हुन नसक्नु विडम्बनापूर्ण र खेदजनक रहेको उल्लेख गरेका छन् ।

सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी आयोगका काम अहिलेसम्म पूरा हुन नसक्नु खेदजनक भएको बताएका नेता भट्टराईले थप उल्लेख गरेका छन्–‘सामन्ती राजतन्त्रलाई अन्त्य गरेर देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न क्रान्तिकारी जनयुद्धको नेतृत्व गर्दै आइरहेको माओवादी र नेपाल सरकारबीच बृहत् शान्ति समझौता भएको विसं (२०६३ मंसिर ५ गते) आज १४ वर्ष पूरा भएको छ ।’

नेता भट्टराईको थप विश्लेषण छ–‘नेपाली इतिहासलाई ९ रेक्टर स्केलको भूइँचालोले झैं हल्लाइदिने त्यत्रो विशाल क्रान्तिपछि देशको नेतृत्व ओली जस्ता जनयुद्धविरोधीको हातमा पुग्नु र शान्तिसम्झौतामा भएका आर्थिक तथा सामाजिक रूपान्तरणका काम सम्पन्न हुन नसक्नु विडम्बापूर्ण छ ।’

यस्तै नेता भट्टराईले पुनः ०५२ सालयताका जनयुद्ध, जनआन्दोलन, मधेस जनविद्रोह, जनजाति आन्दोलन, थरूहट/थारूवान् आन्दोलनलगायतका क्रान्तिकारी शक्तिहरूको बृहत् ध्रुवीकरण गरेर देशलाई अग्रगमन र समृद्धिको दिशामा लैजाने आँट गर्नुपर्ने बताएका छन् ।

नेता भट्टराई लेख्छन्ः–

प्रतिक्रिया