‘प्रस्ताव नामक अभियोगपत्रले यसअघिका हाम्रा सहमतिहरुको अन्त्यको घोषणा गर्‍यो’

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी निकै जटिल माेडमा पुगेकाे भन्दै आफूमाथि लागेका आरोपहरु सबै झुटो भएको दाबी गरेका छन् ।

पार्टी सचिवालयको मंसिर ३ गते बालुवाटारमा सम्पन्न बैठकमा सम्बाेधनका क्रममा यस्ताे बताएका हुन् । केही दिनअघि (कात्तिक २८) बसेकाे सचिवालय बैठकमा एक प्रतिवेदन बुझाउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासनकाे कार्यदिशा विपरित सरकार चलाएकाे, भ्रष्टाचार, व्यभिचार, दुराचार र कमिसन खाेरी नियन्त्रण गर्न सार्थक पाइला नचालेकाे र विभिन्न अनियमितता तथा  भ्रष्टाचार प्रकरणमा मुछिएकाहरूलाइ संरक्षण गरेकाे प्रम ओलीमाथि आरोप लगाएका थिए ।

साेही आरोपकाे ओलीले हिजाेकाे बैठकमा खण्डन गरेका हुन् । ‘प्रस्ताव दिनुपर्ने पनि कुनै अवस्था आउला, तर अर्का अध्यक्षलाई जानकारी नै नदिइकन, अर्का अध्यक्षमाथि हमला, प्रहार, आलोचना, आरोप र अभियोगसहितको प्रस्तावका नाममा अर्का अध्यक्षले अचानक त्यो मलाई दिनुभयो,’ उनले भनेका छन्, ‘वास्तवमा ती आरोपहरु सही थिएनन्, अनुपयुक्त, अनुचित, झुठा र भ्रमपूर्ण थिए ।’

उनले उक्त प्रस्ताव अखबारबाजी गरेकाे भन्दै असन्तुष्टि समेत जनाए । ‘प्रस्ताव भनेर जो वितरण भयो, त्यसपछि जुन अखबारबाजी गरियो। यसो गर्नु उचित भयो कि भएन ? केही मतलबको कुरा भएन । अखबारबाजी गर्नका लागि समेत त्यसो गरिएको थियो र त्यसमा केही साथीहरुको संलग्नता र सहमति भएको पनि जानकारी भयो’, उनले भने ।

प्रधानमन्त्रीले ती आरोप बाेकेर कोही पनि अध्यक्ष वा प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न नमिल्ने समेत बताएका छन् । आरोपहरु या त त्यसबाट बदर भएमा मात्र प्रधानमन्त्री र अध्यक्षको जिम्मेवारीमा बस्न मिल्ने उनकाे तर्क थियाे ।

‘त्यसो होइन भने सदर हुनुपर्यो र ती पदहरु र ती जिम्मेवारीबाट हट्नु पर्यो । यो हटाउने माग त पहिलेदेखि आएकै थियो । तर, यसपटक हट्ने आधारहरु यी हुन्, यसकारण हट्नुपर्छ भन्ने कुरा पनि आएको छ,’ उनले सम्बाेधनका क्रममा भनेका छन्, ‘पहिलेजस्तो यसमा सोझै प्रधानमन्त्रीबाट हट, अध्यक्षबाट हट भन्ने भाषा छैन । तर त्याग गर्नुपर्छ भन्ने कोटेड भाषा रहेको छ ।  यो आरोप या त सदर ठहरिनु पर्यो, अनि प्रधानमन्त्री र अध्यक्ष हट्नुपर्यो । यो आरोप सही ठहरिंदैन भने यस्तो आरोप लगाउनेले यसको जिम्मेवारी लिनुपर्यो, यसको जवाफदेही लिनुपर्यो ।’

यस्तै प्रधानमन्त्रीले अध्यक्ष दाहालकाे प्रस्तावलाई अभियाेगपत्र भनेका छन् । प्रस्ताव नामक अभियोगपत्र आइसकेपछि यसअघिका सहमति, समझदारीहरुको त्यसैले अन्त्यको घाेषणा गरेकाे उनकाे ठहर छ । ‘त्यो पत्र बन्नुभन्दा पछि पुराना सहमति कायमै छन् भन्ने कुरा रहेन । अब पुराना सहमति कायम रहेको अवस्था नरहेको हुनाले एउटा नयाँ निकास पार्टीले खोज्यो । हामीले एउटा नयाँ निकास खोज्नैपर्छ। म चाहन्छु मिलेर जाऔं, मिलेर जान सकियोस्, पार्टी बचाउन सकियोस् र पार्टीलाई एकताबद्ध राख्न सकियोस् ।’

प्रतिक्रिया