मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

कानूनका काला अक्षर, भोको आँत र सुन्दर भविष्य !

'पाखण्डपन नै अर्गानिक सिद्धान्त'

कानूनका काला अक्षर, भोको आँत र सुन्दर भविष्य !

कानूनका काला अक्षरहरु अत्यन्त शक्तिशाली हुन्छन् । प्रत्येक अक्षरमा टनाटन शक्ति भरिएको हुन्छ । शक्तिबिहीन कानून कानून हुनै सक्दैन र त्यो केबल नियमको थुप्रो मात्र हुन्छ । कानून मनोविनोद्का लागि बन्दैनन् । यी सक्रिय कार्यान्वयन (Active Enforcement) का लागि बन्दछन् । कानूनले जीवन पद्धति निर्माण गर्दछ । सामाजिक मूल्य मान्यता बहन गर्दछ र स्वतन्त्रताको सीमा निर्धारण गर्दछ । सायद यो सर्वस्वीकार्य छ र त यसको शासन पनि सर्वस्वीकार्य मानिन्छ ।

लोकतान्त्रिक कानून सामाजिक आवश्यक्ताको गर्भबाट जन्मिन्छ र त्यही समाजमा शासन गर्दछ । अलोकतान्त्रिक कानून शासकको चाहनाबाट जन्मिन्छ र समाजमा शासकको चाहनाअनुरुपको शासन गर्दछ । स्वाभाव, प्रकृति र उद्देश्य फरक फरक भएतापनि शासन गर्ने क्षेत्र मानव समाज नै हो । कानूनले देशको समृद्धि, सुशासन, शान्ति र खुशी बनेको हुन्छ । देशको समृद्धिमा प्रत्येक नागरिकको सपना, चाहना र भविष्य जोडिएको हुन्छ । यसमा जनअभिमत, अकांक्षा र बलिदानसमेत रहेको हुन्छ । तसर्थ बिनाकानूनको अराजक समृद्धि सम्भव छैन ।

भोको आँत
आजसम्म शक्तिले म अघाएँ, अब मलाई शक्ति चाहिँदैन पुग्यो भनेर कसैले भनेको सुनिएको छैन । शक्तिको स्वाद, मिठास अनि यसले दिने नसाको प्रकृति नै सायद कहिल्यै नअघाउने खालको हुन्छ होला । एक प्रकारको शक्ति भोगबाट अघाएर त्यसलाई त्याग गरी अर्को प्रकारको परम् शक्ति आर्जनमा लागेको देखिन्छ । तर, शक्तिको परित्याग गरेको देखिँदैन ।

यदि आँत भोको छ भने पेट भरिए पनि खाने र भोग गर्ने इच्छा जागृत भइ नै रहन्छ । जति खाए पनि मन भोकै रहन्छ । आँत नभरिउञ्जेलसम्म पेट भरिए पनि खाने चाहना अतृप्त नै रहिरहन्छ । अतृप्त चाहनाहरु (Unfulfilled desires) मानिसको अर्ध चेतन (Subconscious) दिमागमा सुषुप्त अवस्थामा दबिएर रहेका हुन्छन् र मौका पाउनेबित्तिकै चेतन दिमागमा (Conscious mind) प्रवेश गरेर जागृत हुन्छन् । तत्पश्चात् तृप्तिको लागि प्रयत्नशील रहन्छन् । सिग्मन्ड फ्रायडले भनेका छन्, ‘यी अर्धचेतन दिमागमा (Subconscious mind) मा दबिएर रहेका चाहनाहरु कुनै न कुनै रुपबाट प्रष्फुटित हुन्छन् चाहे सपनामा होस् या विपनामा । ति दबिएका अपूर्ण चाहनाहरु पूरा नरहुञ्जेल मनोवैज्ञानिक असन्तुष्टि बनेर मानिसको दिमागमा घुमिरहन्छन् ।

तर, विडम्बना नेपालको सन्दर्भमा कानूनका काला अक्षर र सुन्दर भविष्यबीच भोको आँत अजिङ्गर बनेर बसेको छ ।

प्रेम प्रसाद धिताल अधिवक्ता

सायद नेपाली मनोविज्ञानमा पनि यो शक्ति, पद, पैसा र वैभवको भोक र अतृप्त चाहनाहरु सदियौंदेखि दबिएर रहेका रहेछन् क्यारे । समय, काल र परिस्थतिअनुसार दबिँदै आएर विगत केही दशकदेखि विस्फोट भएजस्तो लाग्छ । टुप्पोदेखि जरासम्म सबै भोका अनि प्यासा । मौका नपाउञ्जेलसम्म सादा अनि मौका पाउनेबित्तिकै बहुरङ्गी । तिर्खाएको शरीर त तृप्त हुन्छ । तर, तिर्खाएको आत्मा तृप्त हुँदो रहेछ । भोको आँतको खुराक के र कति हो भनेर अनुमान लगाउन असम्भव रहेछ । यो भोको आँत भरिन वा तृप्त हुन सामान्य खानपानले हुँदो रहेनछ । दश पुस्तालाई झाडावान्ता हुने गरी खाँदा पनि तृप्त हुँदो रहेनछ । प्रत्यक्ष खाँदा, परोक्ष रुपमा खाँदा, मण्डी ओढेर खाँदा, खुलमखुल्ला खाँदा, सलाइनबाट खाँदा वा असङ्ख्य विधि, तरिका ,माध्यम वा बाटोहरुबाट खाँदा समेत तृप्त हुँदो रहेनछ । सायद नेपालीहरुको सदियौंदेखिको अनि पुस्तौंदेखिको भोक जीनबाट (Gene) नै सर्दै आएर हो वा नयाँ उत्पन्न भएर हो । अवसर नपाउञ्जेल आदर्शवादी बन्ने र अवसर पाउनेबित्तिकै त्यो जीनमा (Gene) रहेको भोक जाग्छ होला र दशौं पुस्तालाई बमन हुने गरी खाँदा पनि आँत भोकै रहन्छ । खाने इच्छा अझै जागृत नै रहिरन्छ । पेशाका सबै क्षेत्र यो भोको आँतबाट मुक्त छैन । सिङ्गो देशको स्रोतसाधन खाँदा पनि यो भोको आँत भरिँदो रहेनछ ।

अर्गानिक सिद्धान्त (Organic Theory)
आफूले खान हुने नहुने सबै चिज खाएर भकारी जत्रो पेट बनाएर अब शरीरले थाम्न सक्दैन भनेपछि शाकाहारी र सादकी बनेको व्यक्तिले अरु कैयौं दिनका भोका पेटहरुका बीचमा गएर अर्गानिक खाना खानु पर्दछ, सादगी खाना खानुपर्दछ अनि क्यालोरी नापेर खानुपर्दछ भनेर दिइने खाद्य अनुशासनको प्रवचन नै अर्गानिक सिद्धान्तको ज्वलन्त उदाहरण हो । तर यो समाजका सबैजसो क्षेत्रमा स्वरुप परिवर्तन गरेर फैलियो ।

विगत केही दशकदेखि नेपालमा अत्यन्त प्रचलित र प्रसिद्ध सिद्धान्त हो यो अर्गानिक सिद्धान्त । यो भोको आँतले जन्माएको सिद्धान्त हो । शाब्दिक हिसाबले सकारात्मक देखिएता पनि यो एउटा कुटिल सिद्धान्त हो । आफूले दशौं पुस्तालाई समेत अपच हुने गरी खाने र अरुलाई देश विकास, नैतिकता, सदाचार, भष्टाचाररहित समाजका कुरा गर्ने, प्रवचन र भाषण गर्ने अनि नैतिकवान् र आर्दशवादी हुँ भन्ने देखाउन गरिने लेखन, प्रवचन, बोली, व्यवहार र संकेत आदि नै वास्तवमा अर्गानिक सिद्धान्त हो । आफूले जुनसुकै हतकण्डा अपनाएर पनि पद, प्रतिष्ठा, पैसा र शक्तिको पर्याप्त आर्जन र भोग गर्दागर्दै वा उपभोग गरेपछि अरुलाई सिद्धान्त, पद्धति, आदर्श र नैतिकताका कुरा गरी पानीमाथिको ओबानो हुने कुरा गर्नुे र सोहीअनुसार चल्नुपदर्छ । देश, जनता र समाजको विकास र उन्नति हुने कार्य गर्नुपर्दछ भनी गरिने द्धैध चरित्रले भरिएको पाखण्ड नै आखिरमा अर्गानिक सिद्धान्त हो ।

व्यक्ति डुङडुङ गन्हाइरहेको हन्छ, तर उसले शब्दका अत्तर छरेर आफूलाई सुगन्धित कस्तुरी प्रमाणित गर्न खोजिरहेको हुन्छ ।

सभा सम्मेलन, भाषण, गोष्ठीदेखि साधारण भेटघाट जताततै दुनियाँलाई बेबकुफ बनाउन र आफू महान् हुँ भनेर देखाउन पनि यो सिद्धान्तको चलाखीपूर्ण ढङ्गले प्रयोग गर्ने गरिन्छ । यो भोको आँत आफैँले जन्माएर आफैँलाई महान् पुष्टि गर्न प्रयोग गरिएको सिद्धान्त हो । व्यक्ति डुङडुङ गन्हाइरहेको हन्छ, तर उसले शब्दका अत्तर छरेर आफूलाई सुगन्धित कस्तुरी प्रमाणित गर्न खोजिरहेको हुन्छ । यस अर्थमा देश, जनता र समाजलाई ढाँटेर द्धैध चरित्र देखाउने पाखण्डपन नै सारमा अर्गानिक सिद्धान्त हो ।

सुन्दर भविष्य
भविष्यलाई सधैं सुन्दर, शान्त र समृद्ध मानिन्छ । वर्तमान जतिसुकै दुखी, संकटपूर्ण र दर्दनाक नै किन नहोस् । भोलिका दिन राम्रा हुनेछन् भनेर जीवनको आशा र भरोसाको रुपमा गरिने सकारात्मक कल्पना हो सुन्दर भविष्य । सुन्दर भविष्य जीवन र जगतको सकारात्मक ऊर्जा हो । जसले आशा र भरोसाले भरिपूर्ण जीवन ऊर्जा (Life energy) प्रदान गर्दछ । सायद यही जीवनले ऊर्जाको जीवन पद्धति सञ्चालन गर्दछ । मानिसले आफ्नो र आफ्ना सन्तान, दरसन्तानको सुन्दर भविष्यका लागि समय, श्रम र जीवन बलिदान गरेको हुन्छ । त्यो सुन्दर भविष्य भलै सुन्दर वर्तमान बनेर नआएपनि त्यो सधैं सुन्दर बनेर नै रहेको हुन्छ ।

बाहिर हेर्दा अति आर्कषक र सकुशल तर भित्र रहेको शक्ति खाएर अक्षरहरुको डङ्गुर मात्रमा परिणत गर्दोे रहेछ । यसरी शक्तिहीन भएका कानूनका काला अक्षरहरुको डङ्गुरले देशको सुनौलो भविष्यको कल्पना त गर्न सक्ला तर, सुनौलो भविष्य निर्माण गर्न भने कदापि सक्दैन

कानूनका काला अक्षरभित्र देशको सुन्दर भविष्य निर्माण गर्न सक्ने शक्ति रहेको हुन्छ । जब त्यो सुन्दर भविष्य सुन्दर वर्तमानमा परिणत हुन्छ, तब देश सुन्दर र समृद्ध हुन्छ । तर, विडम्बना नेपालको सन्दर्भमा कानूनका काला अक्षर र सुन्दर भविष्यबीच भोको आँत अजिङ्गर बनेर बसेको छ । भोको आँतले शक्तिले टनाटन भरिएर रहेका कानूनका काला अक्षरहरुलाई धमिराले काठ खाएजसरी भित्रभित्रै खाएर सखाप पार्दो रहेछ । बाहिर हेर्दा अति आर्कषक र सकुशल तर भित्र रहेको शक्ति खाएर अक्षरहरुको डङ्गुर मात्रमा परिणत गर्दोे रहेछ । यसरी शक्तिहीन भएका कानूनका काला अक्षरहरुको डङ्गुरले देशको सुनौलो भविष्यको कल्पना त गर्न सक्ला तर, सुनौलो भविष्य निर्माण गर्न भने कदापि सक्दैन । सुनौलो भविष्य समयक्रमानुसार सुनौलो वर्तमानमा बदलिन सकेन भने जस्तोसुकै भविष्यको कल्पना गरेपनि यो अन्तहीन दलदल मात्र हुनेछ ।

जबसम्म यो भोको आँत अघाउँदैन वा तृप्त हुँदैन । तबसम्म कानूनका काला अक्षर र देशको सुन्दर भविष्यको बीचमा प्रत्यक्ष सम्बन्ध स्थापित हुन सक्दैन । जबसम्म यो प्रत्यक्ष सम्बन्ध स्थापित हुन सक्दैन । तबसम्म सुनौलो भविष्य सधैैं केबल भविष्य मात्र बनेर रहन्छ र सुनौलो वर्तमानमा परिवर्तन हुन सक्दैन । सुनौलो वर्तमान बिना सबै कुराहरु निर्रथक रहन्छन् ।

भोको आँत खाएर तृप्त नभए पनि यसको मुख बन्द गर्ने एक मात्र शक्ति कानूनका काला अक्षरहरुमा नै हुन्छ । एक दिन कानूनका काला अक्षरहरुभित्र रहेको यो शक्ति जागृत भएर भोको आँतको विशाल अन्धकार चिरेर अवश्य पनि देशको सुन्दर सुनौलो भविष्यसँग एकाकार हुनेछ । जसको परिणामस्वरुप एउटा सुखी, समृद्ध, शान्त र खुशीको वर्तमान जन्मिनेछ । अन्ततः यो अगस्ती प्रवृत्तिको सदाका लागि अन्त्य हुनेछ ।

–प्रेम प्रसाद धिताल, अधिवक्ता

प्रतिकृयाहरु
Loading...