‘ओलीलाई खुसी पार्ने नाममा शीर्ष नेताको बदनाम नगरौं’

काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई खुशी बनाउने नाममा अरु नेतालाई बदनाम गर्ने काम नगर्न चेतावनी दिएका छन् ।
गौतमको सचिवालयले एक सूचना जारी गर्दै ओलीलाई खुशी पार्ने नाममा अरु नेताको बद्नामी गर्ने, भ्रम सिर्जना गर्दै अरु नेताको बदख्वाइँ गर्ने काम गरिएको भन्दै कडा आपत्ति जनाएको हो । अहिले ओलीलाई धरातलीय यथार्थबाट माथि (हावामा) उडाएर उनको सुन्दर राजनीतिक जीवनमा क्षति पुर्याउने काम भैरहेको ठहर गर्दै त्यस्तो कार्य तुरुन्त रोक्न पनि आग्रह गरिएको छ ।
यसैगरी बुधबारको सचिवालय बैठकमा वामदेवले प्रचण्डको प्रस्ताव फिर्ता लिनुपर्ने कुरा उठाएको भनी आएका हल्ला निराधार रहेको पनि स्पष्ट पारिएको छ । बैठकमा प्रचण्डको प्रस्तावमाथि कुनै छलफल नभएको र बरु प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीले आफ्नो पनि प्रस्ताव ल्याउने भनेपछि बैठकमा सहजता भएको गौतमलाई उद्धृत गर्दै सचिवालयले बताएको छ ।
प्रचण्डको प्रस्ताव पार्टी उपाध्यक्ष रहेका गौतमसहितको सहमतिमा आएको र यो प्रस्ताव फिर्ता हुनुहुँदैन भन्नेमा उनी सतिसालझैँ अडिग रहेको दावी गौतमको सचिवालयले गरेको छ । ‘प्रचण्डले पेश गर्नुभएका प्रस्तावहरु नेकपाका समस्त एकताप्रेमी, परिवर्तनकामी एवं विधि र पद्धति पक्षधर नेता-कार्यकर्ताको सामूहिक आवाज हो । केही भ्रमहरु छरिएको प्रति हाम्रो गम्भीर आपत्ति छ,’ जारी सूचनामा भनिएको छ ।








