मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

नेकपाभित्रको लडाईं ‘ओली प्रवृत्ति’विरुद्ध हो

अध्यक्षद्वयले व्यक्तिगत स्वार्थको राजनीति गर्दा पार्टीभित्र रडाँको मच्चियोः युवा नेता भण्डारी

सत्तारुढ नेकपाभित्र विवाद बढ्नुमा प्रधानमन्त्री केपी शर्मा ओली नै मुख्य जिम्मेवार रहेको नेकपा सुदूरपश्चिम प्रदेश सदस्य शंकर भण्डारीले बताएका छन् । पार्टीमा आफु नै सर्वशक्तिमान हुँ भन्ने घमण्ड बोकेर विधि विधान र पद्दति विपरित पार्टी अध्यक्षसमेत रहेका ओलीले कामगर्दा समस्या आएको उनको तर्क छ ।

बुधबार मकालु खबरसँग कुराकानी गर्दै युवा नेता भण्डारीले दुई वटा पार्टी (नेकपा एमाले र माओवादी केन्द्र) विच एकता गर्ने बेला शीर्ष नेताहरुले तत्कालिन चुनावमा बहुमत ल्याउने ध्येय मात्र राखेकाले अहिले समस्या आएको दावि गरे । युवा नेता भण्डारीसँगको कुराकानीको संक्षेपः-

नेकपाका शीर्ष नेताहरुमा जुन प्रकारले विवाद र झगडा देखियो नि, यसको पृष्ठभूमी कसरी बन्यो ?
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण हुने बेलाको पृष्ठभूमीमा जानुपर्छ । दुई पार्टीहरुविच एकीकरण हुँदा तत्कालिन चुनावबाट बहुमत ल्याउने पहिलो लक्ष्य शीर्ष नेताहरुले राखे । जनताले झण्डै दुई तिहाई मत दिएपछि उनीहरु झनै हौसिए । त्यतिखेर पार्टीका बरिष्ठ नेताहरुले विचार र सिद्धान्तमा कुनै बहस गरेनन् । पार्टी एकीकरण कसरी गर्ने भन्ने सन्दर्भमा बहस नभएपछि पछिल्लो चरणमा पार्टीका सांगठनिक गतिविधिहरु मिलाउन पनि सकेनन् । पार्टीको सिद्धान्त के हो ? त्यो पनि खुट्याउन सकेनन् । आफु कसरी प्रधानमन्त्री हुने, कसरी पार्टी अध्यक्ष हुने, नेपाली राजनीति र नेकपामा कसरी आफ्नो मात्र अस्तित्व कायम गर्ने भन्ने मात्र प्रचण्ड र ओलीको दाउपेच रहेकाले नेकपामा समस्या आएको मेरो बुझाई छ ।

भन्नुको तात्पर्य तत्कालिन अवस्थामा दुवै पार्टीविच स्वार्थ केन्द्रीत एकीकरण भएकाले अहिले समस्या आएको हो ?
हो, त्यतिखेर एकीकरण यस्तो तरिकाले गरेकि, एकीकरणका विषयमा कुनै बहस, छलफल नै हुन पाएन । दुई पार्टी एकीकरण गर्ने विषयमा छलफल हुनुपर्थ्यो, पार्टीको सिद्धान्तका विषयमा वहस हुनुपर्थ्यो । यहाँ त कतिपय नेताहरुलाई थाहै नदिई, रातारात, पार्टी पंङ्तीमा पनि छलफलै नगरी, छलफल गरेपनि कतिपय कुराहरु बाहिर एउटा भन्ने भित्र अर्कै सहमति गर्ने काम भयो । पार्टी एकीकरण गर्ने बेला सचिवालय बनाउने कुरै थिएन । विष्णु पौडेललाई कार्यालय सचिव राख्ने सल्लाह भएपनि पछि एकाएक महासचिव बनाइयो । आफुलाई जे मन लाग्यो त्यहि काम गर्ने र त्यसैलाई नियमकानुन बनाउने काम दुवै अध्यक्षबाट भयो । कमरेड प्रचण्डको पनि आफु सिंगो पार्टीको अध्यक्ष भएर कसरी पार्टी कब्जा गर्ने रणनीति भयो । कमरेड ओलीमा पाँचै वर्ष प्रधानमन्त्री र पाँचै वर्ष पार्टीको अध्यक्ष पनि भइराख्ने रणनीति भयो । समग्रमा भन्नुपर्दा दुई अध्यक्षले पार्टी र देश भन्दापनि व्यक्तिगत स्वार्थको राजनीति गर्दा नेकपाभित्र रडाँको मच्चिएको हो ।

मेरो भन्नुको तात्पर्य, आफैं पार्टीको विधिविधान अनुसार चल्ने भनेर हस्ताक्षर गर्ने अनी हस्ताक्षरको मसी सुक्न नपाउँदै बाहिर आएर ‘म मान्दिन’ भनेर कहाँ पाइन्छ ? यो लडाईं व्यक्तिगत रुपमा केपी शर्मा ओली विरुद्ध हैन ‘ओली प्रवृत्ति’ विरुद्ध हो ।

अहिले ओलीले ‘म महाधिवेशन र निर्वाचनबाट निर्वाचित भएर आएकाले अर्को महाधिवेशन र निर्वाचन नहुञ्जेल पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै छाड्दिन’ भन्दा अनर्थ कसरी भयो ?

केपी ओलीले नवौं महाधिवेशनबाट जितेरै आएका हुन् भने, प्रचण्ड पनि पार्टी अध्यक्ष भएरै आएका हुन् । तर, दुई पार्टीविच एकीकरण भएपछि तत्कालिन पार्टीका अध्यक्षहरु भन्ने कुरा त सिद्धियो नी !

ठिकै छ, त्यसैलाई नै आधार मान्ने होभने, नेकपाका अन्य पाँच छ जना सिनियर सदस्यहरु कहाँ गए ? नवौं महाधिवेशनमा सबैभन्दा बढि मत ल्याउने उपाध्यक्ष भीम रावल आज कहाँ हराए ? उनलाई किन सचिवालयमा राखिएन ? यहाँ सिनियारिटी त मिचियो नी ! उहाँकै मातहतमा उपमहासचिव रहेका विष्णु पौडेललाई महासचिव बनाउने सचिवालय सदस्य पनि बनाउने तर, अत्याधिक भोट ल्याउने भीम रावल, अष्टलक्ष्मी शाक्य, यु्वराज ज्ञवालीलगायत नेताहरुलाई किन पाखा लगाइयो ? हो, दुई अध्यक्षहरुले यस्तै विभिन्न सड्यन्त्रका तानाबाना बुन्दा पार्टीभित्र समस्या आएको हो । पार्टीको विधि विधान, नियम कानुन कार्यान्वयन नगर्दा, दुई अध्यक्षको ‘जुङ्गाको लडाईं’ले गर्दा पार्टी अफ्टेरोमा परेको हो ।

एकीकरणको चरणमै प्रवेश गरिनसकेको पार्टीभित्र एकले अर्कोलाई स-साना आरोप लगाउनु त नौलो थिएन, तर, यसरी व्यक्तिगत रुपमै उत्रिएर एकले अर्कोलाई सिध्याउने खेल किन भइरहेछ ?
नेकपाभित्रको यो लडाईंले कम्युनिस्ट भन्नेहरुलाई समेत लाजमर्दो बनाएको छ । नेपाली जनताले पहिलो पटक कम्युनिस्टहरुलाई झण्डै दुई तिहाई मत दिए, सात प्रदेश मध्ये ६ वटामा बहुमतको सरकार बनाइदिए । यसमा ‘नेकपालाई एक पटक हामी हेर्छौं’ भनेर जनमत दिएका जनताको कुनै दोष छैन । यो पार्टीले हामीलाई हेर्छ, यसले मुलुकलाई विकासको पथमा लैजान्छ, संमृद्धि ल्याउँछ भनेर जनताले गरेको विस्वासलाई नेकपाले पुरा गर्न सकेन ।

अहिले नेकपाभित्र उठेको समस्या एक दुई महिनाको हैन, यो निरन्तर १० महिनादेखि छ । के को लागि यो लडाईं हो ? कोरोना संक्रमणले सारा नेपालीहरु आक्रान्त छन्, टुँडिखेलमा भोकभोकै भएकाहरुको लाइन छ । सडकमा जनताहरु रोइरहेका छन् । यस्ता कुराहरुमा सरकारले राहत दिन सक्दैन, हेर्न सक्दैन भनेदेखि दुई तिहाई सरकारको अर्थ के रह्यो र ?

हाम्रो पार्टीका नेताहरुले नत समयमा पार्टीको बैठक राख्न सके, नत विधि विधान अनुसार नै चले । अब यी समस्याहरुलाई चिरफार गर्न नेकपालाई सिटामोल खुवाउने हैन अप्रेसन गर्ने बेला आएको छ । पार्टीमा सानातिना मनमुटावहरु आइराख्नु स्वभाविक हो तर, निरन्तर १० महिनादेखि पार्टी फुट्नै थाल्यो कि, डिलमै पुग्यो कि ! भन्ने प्रकारको गतिविधिले नेकपाका कार्यकर्ता मात्र हैन जनतासमेत निराश छन् । कार्यकर्ता र जनतालाई नेकपाका शीर्ष नेताहरुले नै निराश बनाए । नेकपालाई फुटसम्म पुर्याए भने अब जनताले यी नेताहरुलाई अपराधी घोषणा गर्नेछन् ।

आन्तरिक कलहले नै नेकपालाई अब पुनः जनतामा माझ जानै नसक्ने बनाएको भन्दा कत्तिको उचित होला ?
अझैपनि जनता माझ जानै नसक्ने भएको छैन । नेकपाप्रति जनताको विस्वास टुटिसकेको छैन । तर, ०७४ सालको चुनावमा नेकपाले जसरी छाती फुकाएर जनताका घरदैलोमा गएर प्रतिबद्धता गरेको थियो अब त्यो परिस्थिति चैं पक्कै छैन । १० महिनायता पार्टी आफ्नै कलहमा छ । सरकारले पनि काम गर्न सकेन । आगामी चुनावमा हामीले दुई तिहाई मत ल्याउने आधार चैं यस्तै प्रवृत्ति रहिरह्यो भने गुमाउने छौं । सरकार र पार्टीको यस्तै रबैया रह्यो भने कार्यकर्ताहरुलाई जनताका माझ जान लाजशरम लाग्छ ।  नेकपाभित्र मुख्य समस्या को सँग छ ? प्रचण्ड या केपी ओली ?
मुख्य समस्या अध्यक्ष कमरेड केपी शर्मा ओलीबाट नै उत्पन्न भएको हो । किनभने, उहाँ आफुलाई पार्टीको विधानमा नभएपनि सिनियर अध्यक्ष भन्नुहुन्छ । १ नम्बरको अध्यक्ष पनि भन्नुहुन्छ तर, पार्टीभित्र समस्या आउँदा चैं त्यसलाई फेस गर्नेभन्दा पनि त्यसबाट टाढिने गर्नुहुन्छ । देशको प्रधानमन्त्री, पार्टीको अध्यक्ष त्यसमाथि तत्कालिन अवस्थामा देशकै ठूलो पार्टी नेकपा एमालेको समेत अध्यक्ष भएको नाताले पार्टीमा उत्पन्न समस्याको प्रमुख दोषी उहाँ नै हो । पार्टीभित्र देखिएका समस्या समाधान गर्ने जिम्मेवारी उहाँको हो । तर, उहाँ पार्टीको कुनै विधि विधान मान्न तयार हुनुहुन्न ।

भाद्र २६ गतेको स्थायी कमिटि बैठक अगाडी पार्टीभित्र देखिएका समस्या हल गर्न कार्यदल बनाइयो । कार्यदलले विगतमा भएका गल्ती कमजोरी सुधारेर जाने, अब गल्ती नगर्ने भन्दै अन्तरपार्टी निर्देशन (अपाने) बनाउँदा २९ गते उक्त ‘अपाने’मा उहाँ र अध्यक्ष प्रचण्डले समेत हस्ताक्षर गरेपनि त्यो ‘अपाने’ सबैभन्दा पहिला कमरेड केपी ओलीले उलंघन गर्नुभयो । यहिँबाट केपी ओली शतप्रतिशत दोषी देखिनु हुन्छ । उहाँले पार्टीको अभिभावकत्व ग्रहण गर्दै समस्या समाधान गर्न अगाडी बढ्नुपर्नेमा ‘अपाने’ को मसी सुक्न नपाउँदै, ‘म पार्टीको बैठक पनि बोलाउँदिन, निर्णय पनि मान्दिन, तिमीहरु जे गर्छौ गर, म पनि देखाइदिन्छु’ भन्दै दम्भ देखाउनु भयो । त्यसपछि मात्रै कमरेड प्रचण्डसहित बामदेव, झलनाथ, माधब नेपाललगायत सचिवालयका बहुमत सदस्यहरु ‘ओली प्रवृत्ति’का विरुद्ध उत्रनु भएको हो । त्यसकारण पार्टीभित्र देखिएको समस्यामा कमरेड केपी ओली नै बढि दोषी हुनुहुन्छ ।

दुई पार्टीविच एकीकरण हुँदा पार्टीमा दुई जना अध्यक्ष रहने र दुवैको सहमतिमा पार्टीको बैठक बोलाउने भन्ने सहमति गर्दा पो समस्या देखिएको हो कि ?
यो विषयमा सबैको आ-आफ्नै बुझाई होला तर, कार्यकारी अध्यक्ष भन्ने वित्तिकै अर्का अध्यक्षसँग सहमति लिएर आउनुपर्ने आवश्यक्ता देखिँदैन । व्यवहारिक रुपमा सबै नेताहरुको सहमति लिने हो तर, बैधानिक रुपमा पावरको हिसाबले हेर्ने होभने कार्यकारी अध्यक्ष भनेपछि सबै उसैले गर्ने हो । अध्यक्ष केपी कमरेडले प्रचण्डलाई कार्यकारी अध्यक्षका हिसाबले कामै गर्न दिनुभएको छैन । उहाँले प्रचण्डले लगेका कुनैपनि विषयमा सहमति दिनुहुन्न । सहमति मात्र हैन उहाँ ‘म बैठक नै डाक्दिन, तिमीहरु जे गर्छौ गर’ भन्दै हुनुहुन्छ । पार्टीको बैठकबाट भाग्न मिल्छ र ?

कमरेड ओलीलाई ५ वर्ष सरकारको नेतृत्व गर्न तथा प्रचण्डलाई कार्यकारी अध्यक्षको हैसियतले पार्टी चलाउन कार्यदल र पार्टीले नै निर्णय गरेर दिएको हो । त्यसमा ओलीलाई अर्को महाधिवेशनसम्म पार्टीको अध्यक्ष भइराख्ने पनि भनेकै छ । उहाँको त कुनै पद खोसिएको छैन त । तर, उहाँ आफैंले बाहिरबाहिर ‘मेरो प्रधानमन्त्रीको पद खानेभए, मेरो अध्यक्षको पद खाए भन्दै हिँड्नु भयो । मेरो भन्नुको तात्पर्य, आफैं पार्टीको विधिविधान अनुसार चल्ने भनेर हस्ताक्षर गर्ने अनी हस्ताक्षरको मसी सुक्न नपाउँदै बाहिर आएर ‘म मान्दिन’ भनेर कहाँ पाइन्छ ? यो लडाईं व्यक्तिगत रुपमा केपी शर्मा ओली विरुद्ध हैन ‘ओली प्रवृत्ति’ विरुद्ध हो ।

राजदूत नियुक्ति गर्नुभयो पार्टीमा सल्लाह छैन, राजनीतिक नियुक्तिहरु गर्नुभयो छलफल छैन, आफ्नै पार्टीका नेतालाई सबभन्दा बढि जसले गाली गर्छ त्यसलाई जिएम बनाईदिनुहुन्छ, रेल विभागको महानिर्देशक बनाइदिनुहुन्छ । पुरस्कार दिनुहुन्छ । पार्टीले उहाँको नेतृत्वमा सरकार बनाएको भएपनि कमरेड ओली आफैं पार्टी, आफैं सरकार भएजस्तो दम्भ देखाउनु भयो ।

पार्टीभित्र उब्जिएको समस्यामा ओली मात्रै जिम्मेवार हो र ? प्रचण्डले पनि त पार्टी चलाउन सकिरहनु भएको छैन, ओलीकै भनाईलाई मान्ने होभने प्रचण्डले सरकार सञ्चालनमा हस्तक्षेप गरिरहनु भएको छ । भागवण्डाको राजनीति गर्नुहुन्छ ?
अहिलेपनि नेकपाभित्र स्वभाविक रुपमा भागवण्डाको राजनीति जारी छ । जबसम्म पार्टीको महाधिवेशन हुँदैन तबसम्म नेकपाभित्र भागवण्डाको राजनीति रहिरहन्छ । प्रचण्डमा कुनैपनि समस्या र दोषहरु छैनन् भन्न मिल्दैन । स्वार्थविनाको मान्छे कोही हुँदैन । तर, प्रचण्डले पछिल्लो समय पार्टीकालागि धेरै त्याग गर्नुभएको छ । उहाँमात्र हैन, पार्टी सचिवालयका बहुमत सदस्यहरु किन केपी ओलीका विरुद्ध एक भएका छन् उहाँहरु सबै दोषी हो त ? यो कुरा कमरेड ओलीले किन नबुझेको ?
कमरेड ओलीले सरकार सञ्चालनमा होस् वा पार्टी सञ्चालनमा एकलौटी निर्णय गर्नुभएको छ । राजदूत नियुक्ति गर्नुभयो पार्टीमा सल्लाह छैन, राजनीतिक नियुक्तिहरु गर्नुभयो छलफल छैन, आफ्नै पार्टीका नेतालाई सबभन्दा बढि जसले गाली गर्छ त्यसलाई जिएम बनाईदिनुहुन्छ, रेल विभागको महानिर्देशक बनाइदिनुहुन्छ । पुरस्कार दिनुहुन्छ । पार्टीले उहाँको नेतृत्वमा सरकार बनाएको भएपनि कमरेड ओली आफैं पार्टी, आफैं सरकार भएजस्तो दम्भ देखाउनु भयो ।

त्यसो त सरकार सञ्चालनमा पार्टीले ओलीलाई पनि त सहयोग गरेन नी, कुनै शीर्ष नेताहरुले सरकारका बारेमा बचाउ गरेको सुनिँदैन ?
हामी गाउँगाउँमा सरकारको डिफेन्स गर्न आतुर छौं । तर, सरकारले पनि राम्रा काम गर्नुपर्यो नी ! अहिले कोरोनाको महामारी छ । जतिखेर कोरोना आयो सरकारले सबैलाई निःशुल्क उपचार गर्ने भन्यो, कोरोना बढ्दै जाँदा ‘अब निःशुल्क गर्न सकिँदैन । कोरोनाको टेष्ट पनि आफैं गर, उपचार पनि गर’ भन्यो । जनता हस्पिटलमा वेड नपाएर सडकमै छटपटाउनु परेको अवस्थामा सरकारले ‘अब उपचार गर्न सक्दिन, आफैं गर’ भनेर भन्न पाउँछ ? कोरोना स्वास्थ्य सामग्रीमा अनियमितता भएको आरोप छ । मन्त्रीहरु आफैं भ्रष्टाचारका मुद्दामा परे । सरकारले काम गर्न सकेन भनेर राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा आलोचना भइरहँदा हामीले गाउँगाउँमा गएर सरकारको कसरी प्रशंशा गर्न सक्छौं । पहिले त सरकारले पनि गर्न सक्नुपर्यो नी !

कार्तिक २८ गतेको सचिवालयमा अध्यक्ष प्रचण्डले ओलीका विरुद्ध १९ बुँदे राजनीतिक आरोपपत्र पेश गर्नु जरुरी थियो ?
नेताहरुविच मनमुटाव भइसकेपछि, धेरै पटक पर्खिसकेपछि पटक–पटक ओलीले प्रचण्डलाई ‘अब तिमीहरु जसरी आयौ त्यसैगरी फर्क’ भनेपछि प्रचण्डले ‘ओली प्रवृत्ति’ भनेर त्यसलाई सैद्धान्तिक करण गर्ने हिसाबले पार्टीको प्रतिबेदन, दस्तावेज बनाउने किसिमले बहस छलफल गरौं भनेर त्यो राजनीतिक प्रस्ताब ल्याउनु भएको हो । जसरी दुवैले एक अर्कालाई चिठ्ठी लेख्ने काम भयो त्योभन्दा सुन्दर पार्टीको बैठक राखेर छलफल गरेको भए राम्रो हुन्थ्यो । नेताहरु आक्रोशित भएर एकापसमा मनमुटावको हिसाबले प्रस्तुत भए । दुवै नेताहरुमा बचपना झल्कियो । मैले त यो सचिवालय नै खारेज गर्नुपर्छ भनेको थिएँ, ९ जना र २ जनाले निर्णय गरेर पार्टी अगाडी बढ्न सक्दैन । २ जनाको मन मिले पार्टी मिल्यो, २ जनाको मन फाटे पार्टी फाट्यो ? पार्टी सामुहिक निर्णयको अवधारणामा जानुपर्छ । अहिलेको लडाईं नै त्यहि हो ।

पार्टीमा ओली र दाहालविच मात्र द्वन्द्व होकि अन्य पनि छन् ?
यो द्वन्द्व ओली र दाहालविचको हैन । यो ‘ओली प्रवृत्ति’ विरुद्धको द्वन्द्व हो । सचिवालयका बहुमत सदस्यहरु ओली प्रवृत्तिका विरुद्ध आक्रोशित भएका हुन् । दाहाल र ओलीको मात्रै लडाईं भए पार्टीका बरिष्ठ नेताहरु जो प्रधानमन्त्री, पार्टी अध्यक्ष भइसकेका छन् उनीहरु किन लाग्थे ?  ‘ओली प्रवृत्ति’मा यति दम्भ भयो कि, उसले आफुलाई ‘राज्य नै म हुँ, पार्टी नै म हुँ’ भन्ने सोच्न थाल्यो । अहिलेको लडाईं भनेको यही दम्भका विरुद्ध हो । उदाहरण, कर्णाली प्रदेशको काण्ड हेर्दा थाहा हुन्छ । बहुमतको निर्णय अल्पमतले मान्नुपर्छ जुन ‘ओली प्रवृत्ति’मा देखिएन । कपाल फुलेर आर्यघाट पुग्न आँटेका नेताहरुको कार्यक्षमतामा केटाकेटीपन छ ।

अब पार्टीभित्रको विवाद कसरी हल हुन्छ ?
दुई मत छैन, पार्टीभित्रको विवाद आपसी छलफल र संवादबाटै हल हुन्छ र, गर्नुपर्छ । देशकै ठूलो पार्टी जुन एकताको महाधिवेशनको संघारमा छ त्यहाँ स-साना विवादहरु आउनु ठूलो कुरा हैन । जसरी एउटा घरमा बाउआमा दाजुभाईहरु घर चलाउन एकापसमा छलफल गर्छन् नेताहरुले पनि पार्टीलाई विधि विधान र पद्दतिबाट चलाउन आपसी मनमुटाव त्यागेर संवाद र छलफलको माध्यमबाट अगाडी बढ्नुपर्छ । देश र जनताका पक्षमा राजनीति गर्छौं भन्दै प्रतिबद्धता गरी अगाडी बढ्न नेकपाको विकल्प छैन । नेकपा पुनः जनताका मनमा बस्न सक्छ । शीर्ष नेताहरुको ‘जुङ्गाको लडाई’मा पार्टी फुट्यो भने त्यसले देशलाई मात्र हैन कम्युनिस्ट आन्दोलनलाई पनि दिर्घकालिन संकट आइलाग्छ । हामीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्ष त्याग्नु भनेका छैनौं, प्रधानमन्त्री पनि छोड भनेका छैनौं ‘ओली प्रवृत्ति’ त्याग्नुस मात्र भनेका हौं ।

प्रतिकृयाहरु
Loading...