गगन गर्जिए–‘ओलीमाथिको प्रचण्डको ठहर अब सार्वजनिक सरोकारको विषय भइसक्यो, पखालेर पखालिँदैन’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा युवा नेता गगन थापाले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीमाथि अर्का अध्यक्ष (कार्यकारी) पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको ठहर अब सार्वजनिक सरोकारको विषय भइसकेको बताएका छन् ।

नेकपा आन्तरिक विवाद छताछुल्ल भइरहेको बेला आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबूकमार्फत् यस्तो उल्लेख गरेका नेता थापाले अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदनमार्फत् असक्षम, अनैतिक र भ्रष्ट भएकोले सरकारको नेतृत्व गर्न अयोग्य भएको लगाएको ओलीमाथिको ठहर पखालेर नपखालिने बताएका हुन् ।

कसले कसलाई फकाउने र तर्साउने भन्ने कुरा आफैँ (ओली–दाहाल)ले जान्ने टिप्पणी गरेका नेता थापाले थप लेखेका छन्–‘प्रधानमन्त्रीज्यू, पुष्पकमल दाहाल (प्रचण्ड)ज्यू, कसले कसलाई फकाउने हो, कसले कसलाई तर्साउने हो, तपाईँहरू नै जान्नुहोस् । तर, याद राख्नुहोस्, प्रधानमन्त्री ओली असक्षम, अनैतिक र भ्रष्ट हुनुभएकाले सरकारको नेतृत्व गर्न अयोग्य हुनुभएको नेकपा अध्यक्षको ठहर अब सार्वजनिक सरोकारको विषय भइसक्यो । जुन तपाईँहरूको मन पखालिएर पखालिँदैन ।’

गत शुक्रबार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष दाहालले ओलीको कार्यशैलीमाथि कडा टिप्पणी तथा आलोचना गर्दै १९ पृष्ठ लामो प्रतिवेदन प्रस्ताव पेश गरेका थिए । बहुमत सदस्यबाट स्वीकृत उक्त प्रतिवेदन पेश गरिएपछि दाहालसँग चिढिएका ओलीले आजको बैठक पनि धकेल्न खोजेका थिए । अन्ततः दबाबबीच प्रधानमन्त्री ओलीले सहभागीत जनाएका थिए । आजको बैठकमा ओलीले पनि आफ्नो तर्फबाट प्रतिवेदन पेश गर्ने जानकारी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । यस्तै आगामी १८ मंसिरमा स्थायी कमिटीको बैठक बस्ने र २५ मंसिरमा केन्द्रीय कमिटीको बैठक राख्ने सहमति भएको छ ।

प्रतिक्रिया