नेकपा सचिवालय बैठक शुरु, प्रधानमन्त्री पनि सहभागी

कठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटरमा शुरु भएको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन् ।

अघिल्लो सचिवालय बैठकमा अर्का (कार्यकारी)अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीको आलोचना गर्दै १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेपछि ओलीले बैठक स्थगनको जोड गर्दै आएका थिए ।

तर, ओली इतर समूहले बैठक स्थगित गर्न अस्वीकार गरेपछि ओलीपनि अन्ततः बैठकमा सहभागी भएका हुन् । स्रोतका अनुसार सचिवालय बैठक केहीबेर बसेर स्थगित गर्ने गरी तयारी भएको छ ।

सचिवालय बैठकलगत्तै ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । बैठकमार्फत् पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिएको स्रोतले मकालु खबरलाई बताएको छ ।

अध्यक्ष दाहालइतर एक केन्द्रीय सदस्यले मकालु खबरसँग भनेअनुसार प्रधानमन्त्री ओली पार्टी विभाजन गर्ने मनस्थितिमा पुगिसकेका छन् । उनले भनेका छन्–‘अध्यक्ष दाहालले कार्तिक २८ गतेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीलाई प्रतिपक्षले भन्दा पनि तल्लो स्तरको आरोप लगाएकाले अब सँगै बस्न सक्ने अवस्था रहेन । आजको मन्त्रिपरिषद्ले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सम्भावना छ ।’

ओलीनिकटकै अर्का केन्द्रीय सदस्यले पनि प्रधानमन्त्री ओलीले आफूहरुलाई पार्टी फुटाउनुपर्ने बाध्यता आइलागेको बताउँदै सहयोगको लागि अनुरोधसमेत गरिसकेको बताए । ‘उहाँ दल फुटाउने मनस्थितिमा पुगिसक्नुभएको छ । हामीसँग उहाँले सहयोग पनि मागिसक्नुभएको छ ।’ उनले भनेका छन् ।

यता अहिले पनि प्रधानमन्त्री ओली शीतल निवास पुगेका छन् । उनी दल विभाजनकै थप सर–सल्लाहको लागि शीतल निवास पुगेको बताइएको छ । यसअघि पनि गत बैशाखमा नेकपा आन्तरिक विवादमा अल्झँदा प्रधानमन्त्रीले दल फुटाउने अध्यादेश ल्याएका थिए ।

प्रतिक्रिया