अध्यादेशमार्फत् नेकपा टुक्र्याउने प्रधानमन्त्रीको तयारी

काठमाडौं । बुधबार (आज) दिउँसो १ बजेका लागि प्रधानमन्त्रीसमेत रहेका नेकपाका एक अध्यक्ष केपी शर्मा ओलीले बोलाएका मन्त्रिपरिषद् बैठक एक घण्टाका लागि धकेलिएर २ बजे पुगेको छ ।

नेकपाको आज दिउँसै ३ बजे सचिवालय बैठक बस्ने पूर्वनिर्धारित समय तय भएको थियो । जसमा ओली पक्षले बैठकलाई अझै सार्न जोडबल गरिरहेको थियो भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले बैठक पूर्वनिर्धारित समयानुसार नै राख्नुपर्ने भन्दै अडान राखेको थियो । अन्ततः सचिवालय बैठक पूर्वनिर्धारित समयभन्दा पनि दुई घण्टा अघि सरेर १ बजे बस्ने भएको छ । तर, लगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

मन्त्रिपरिषद्को बैठक सामान्यतयाः सोमबार र बिहीबार बस्ने गरेको छ । तर, आज कुनै विशेष एजेन्डाबिनै प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । यो सन्दर्भमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमार्फत् केही नयाँ गर्न लागेका हुन् भन्ने सन्देश आएको उनीनिकट केन्द्रीय सदस्यहरुल नै बताएका छन् ।

मन्त्रिपरिषद्को आकस्मिक बैठक गर्ने निर्णय राष्ट्रपति विद्यादेवी भण्डारीसँग मगंलबार (हिजो)को मध्यरातमा भएको छलफलपछि लिएकोले दल विभाजन सम्बन्धी अध्यादेशसँगै मन्त्रिपरिषद्को पुर्नगठनबारे निर्णय हुन सक्ने प्रवल सम्भावना रहको बताइन्छ ।

अध्यक्ष दाहालइतर एक केन्द्रीय सदस्यले मकालु खबरसँग भनेअनुसार प्रधानमन्त्री ओली पार्टी विभाजन गर्ने मनस्थितिमा पुगिसकेका छन् । उनले भनेका छन्–‘अध्यक्ष दाहालले कार्तिक २८ गतेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीलाई प्रतिपक्षले भन्दा पनि तल्लो स्तरको आरोप लगाएकाले अब सँगै बस्न सक्ने अवस्था रहेन । आजको मन्त्रिपरिषद्ले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सम्भावना छ ।’

ओलीनिकटकै अर्का केन्द्रीय सदस्यले पनि प्रधानमन्त्री ओलीले आफूहरुलाई पार्टी फुटाउनुपर्ने बाध्यता आइलागेको बताउँदै सहयोगको लागि अनुरोधसमेत गरिसकेको बताए । ‘उहाँ दल फुटाउने मनस्थितिमा पुगिसक्नुभएको छ । हामीसँग उहाँले सहयोग पनि मागिसक्नुभएको छ ।’ उनले भनेका छन् ।

यता अहिले पनि प्रधानमन्त्री ओली शीतल निवास पुगेका छन् । उनी दल विभाजनकै थप सर–सल्लाहको लागि शीतल निवास पुगेको बताइएको छ । यसअघि पनि गत बैशाखमा नेकपा आन्तरिक विवादमा अल्झँदा प्रधानमन्त्रीले दल फुटाउने अध्यादेश ल्याएका थिए ।

 

प्रतिक्रिया