‘जनता र पार्टीप्रति गद्दारी गर्नेलाई इतिहासले सजाय दिनेछ’ भगवती चौधरी

काठमाडौं । नेकपा केन्द्रीय सदस्य भगवती चौधरीले दुई तिहाई जनमत पाएको पार्टी फुटाएर इतिहासमा कलंकीत हुने काम कतैबाट गर्न नहुने बताएकी छन् ।

नेकपाभित्र शिर्ष नेताहरु विचको झगडाले इतिहासमै पहिलो पटक दुई तिहाई भोट पाएर सरकारमा गएको पार्टी फुटेमा जनमतकोसमेत अपमान हुने बताउँदै नेतृ चौधरीले शिर्ष नेताहरुलाई संयमित भएर निर्णय गर्न आग्रह गरेकी छन् ।

मकालु खबरसँग बोल्दै पूर्वराज्यमन्त्री तथा संविधानसभा सदस्य समेत रहिसकेकी नेतृ चौधरीले सरकार सञ्चालन र पार्टी सञ्चालनमा शीर्ष तहमा विवादहरु भएपनि त्यसलाई हल गर्न दुवै पक्ष लचिलो बन्नु पर्ने बताएकी छन् ।

‘नेपालको इतिहासमा कम्युनिस्ट पार्टीलाई जनताले पहिलो पटक दुई तिहाई जनमत दिएर सरकारमा पठाएका हुन् । आन्तरिक विवादमा पार्टी नै फुटाउने सम्मका हर्कत भए त्यसले नेकपालाई मात्र हैन सिंगो कम्युनिस्ट विचारधारा र मुलुकको विकासलाई समेत गम्भिर असर गर्छ ।’ चौधरीले भनीन् ।

भगवती चाैधरी, केन्द्रीय सदस्य, नेपाल कम्युनिस्ट पार्टी

उनले व्यक्तिगत स्वार्थमा पार्टी फुटाउने धृष्टता गर्न नहुने जिकिर गर्दै पार्टीमा आबद्ध जो कोही शीर्ष नेताहरु पार्टीको विधान, पद्दति अनुसार चल्नुपर्ने पनि बताइन् ।

अहिले नेकपाभित्र देखिएको किचलो शीर्ष तहमा मात्र रहेको तर्क गर्दै शीर्ष नेताहरु मिले पार्टीका सबै समस्या समाधान हुने बताइन् । ‘मलाई लाग्छ नेकपाभित्र शीर्ष तहमा मात्र विवाद हो । शीर्ष नेताहरुले एकले अर्काको अस्तित्व स्विकार गर्न नसक्दा पार्टी गम्भिर मोडमा पुग्यो ।’ चौधरी भन्छिन् ।

चाैधरीले  नेकपा भित्र शिर्षस्थ नेताहरू कुर्सीकाे भागबन्डामा अल्झिएकाे बताइन् । शीर्षनेताहरूलाई  पार्टी र जनता भन्दा पनि कुर्सी र पद प्याराे रहेकाे बताउँदै अहिले पार्टी भित्र शिर्ष नेतृत्वमा देखिएकाे किचलाे पनि पदकाे भागवण्डाका कारण देखिएकाे जिकीर गरीन् । ‘शीर्षनेताहरूमा  कार्यकर्ता र जनताका पक्षमा साेच्ने क्षमता रहेनछ । उनीहरूलाई  जिवनभर पद चाहिने प्रवृत्ति देखियाे ।’  उनले भनिन् ।

अहिलेको विषम परिस्थितिमा पार्टी फुटाउने र सरकार गिराउने खेल भए इतिहासमा ती व्यक्तिहरु कलंकित हुने चौधरीको भनाई छ । ‘मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको बेला सरकारमा रहेको दल जनताको अभिभावक बन्नुपर्छ । फुट र विभाजनले जनमतको अपमान हुन्छ । जनता र पार्टीप्रति गद्दारी गर्ने कृयाकलाप कतैबाट नहोस् । त्यस्ता व्यक्तिहरुलाई इतिहासले सजाय दिनेछ ।’

नेतृ चौधरीले नेताहरुलाई तीन वर्षअघिको आमनिर्वाचनमा जनताका घरदैलोमा पुगेर गरेको प्रतिबद्धता स्मरण गर्न पनि आग्रह गरेकी छन् । ‘आदरणीय नेता गणहरु याद गरौं तीन वर्षअघिको निर्वाचनमा हामीले जनताका घरदैलोमा जाँदा के सपना बाँडेका थियौं ? समिक्षा गरौं हामीले ति सपनाहरु पुरा गर्यौं कि गरेनौं ।’

एकताको महाधिवेशन समेत नभइसकेको अवस्थामा नेकपालाई टुक्राटुक्रा पारेर कलंकको टिका लगाउने काम कतैबाट नगर्न नेतृ चौधरीले आग्रह गरेकी छन् ।

नेकपाभित्रको आन्तरिक कलह खासगरी पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल र केपी शर्मा ओलीविचको विवादले उग्ररुप लिएको छ । आज बस्ने नेकपाको सचिवालय सार्न प्रधानमन्त्री ओलीको जोडबल छ भने, अर्का अध्यक्ष ओली विरुद्ध कार्तिक २८ गते गम्भिर आरोप लगाउँदै १९ पृष्ठ लामो राजनैतिक प्रतिवेदन पेश गर्ने दाहाल पक्ष कुनैपनि हालतमा सचिवालय बैठक नसार्ने रणनीतिमा छ ।

 

प्रतिक्रिया