नयाँ कोरोना खोपले जगायो थप आशा

काठमाडौँ । अमेरिकाको बायोटेक्नोलोजी कम्पनी मोडर्नाले बनाएको खोप ‘एम आरएनए-१२७३’ को प्रभावकारिता ९४.५ प्रतिशत देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू थप आशावादी देखिएका छन् । यो खोप २ देखि ८ डिग्री सेल्सियसमा ३० दिनसम्म र कोठाको तापक्रममा २४ घण्टासम्म सुरक्षित रहन सक्ने भएकाले पनि उत्साह बढेको छ । कोभिडका लागि हालसम्म दाबी गरिएको यो सबैभन्दा प्रभावकारी खोप हो ।

केही दिनअघि फाइजर कम्पनीले तयार गरेको खोप ९० प्रतिशत व्यक्तिमाथि सफल भएको दाबी गरिएको थियो । तर त्यसलाई माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने चुनौती थियो । उक्त खोप सामान्य फ्रिजमा ५ दिनसम्म मात्र सुरक्षित रहन सक्ने फाइजरले जनाएको छ । स्वास्थ्य वैज्ञानिकहरूले फाइजरको खोपको भण्डारण र ओसारपसार सहज नहुने बताएका थिए । खासगरी विपन्न मुलुकका लागि भण्डारण चुनौतीपूर्ण हुने उनीहरूको भनाइ थियो । रुसले निर्माण गरेको ‘स्पुतनिक–५’ खोप ९२ प्रतिशत प्रभावकारी दाबी गरिएको छ । ‘फाइजरको खोप हाम्रा लागि मात्र नभई छिमेकी भारतलगायतका देशका लागि समेत टाउको दुखाइ भएको थियो,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘मोडर्ना खोपको प्रभावकारिता मात्र नभई भण्डारण गर्ने तापक्रमले पनि आशा जगाएको छ । यसका लागि हामीसँग भएकै भण्डारण र परिवहनको व्यवस्था उपयोग हुन सक्छ ।’

सहप्रवक्ता डा. अधिकारीले हाल अन्तिम परीक्षणमा रहेका खोपलाई धेरै जनसंख्यासम्म पुर्‍याउने सबैभन्दा ठूलो अवरोध त्यसको भण्डारण र ओसारपसार रहेको बताए । सामान्य कोठाको तापक्रममा दुई–तीन घण्टा राख्न नसकिने खोपको नेपाल जस्तो भौगोलिक विकटता भएको मुलुकमा कामै नरहेको उनले बताए ।

‘अत्यन्त न्यून तापक्रममा भण्डारण गर्न सकिने खोप उपयोग गर्नका लागि सम्बन्धित दक्ष जनशक्ति, ढुवानी, भण्डारणलगायतका संरचनालाई अद्यावधिक गर्न थप स्रोत साधन र लगानी गर्नुपर्छ,’ उनले भने । उनका अनुसार नेपालका स्वास्थ्यकर्मी जुन तापक्रममा भएका खोप राख्न र उपयोग गर्न अभ्यस्त छन्, त्यसभन्दा चिसो तापक्रममा राख्न सकिने खोपलाई चलाउन जनशक्ति र भूगोललगायतका कारण झन्झटिलो र खर्चका हिसाबले महँगो हुन सक्छ । मोडर्नाका अनुसार उसको खोप भने उपलब्ध मेडिकल फ्रिजर र रेफ्रिजेरेटरमै तापक्रम ‘मेन्टेन’ गर्न सकिन्छ ।

मोडर्नाको विज्ञप्तिअनुसार खोपलाई माइनस २० डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म सुरक्षित राख्न सकिन्छ । आउँदो साता अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) सँग मोडर्नाले खोपका लागि आपत्कालीन प्रयोगका लागि अनुमति माग्ने योजना बनाएको छ । ‘हालसम्म सार्वजनिक गरिएका जानकारीअनुसार हाम्रा लागि मोडर्ना खोप सहज हुने देखिएको छ,’ स्वास्थ्य मन्त्रालयको खोपसम्बन्धी आधिकारिक निकाय बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले भने, ‘कोभिड खोप बजारमा आउनासाथ आम नेपालीले पाउन सकुन् भनेर हामीले तयारी गरिरहेका छौं ।’ उनले विश्वव्यापी कोभिड–१९ भ्याक्सिन पहुँच (कोभाक्स) को निरन्तर सम्पर्कमा रहेको जानकारी दिए । कोभाक्स एउटा यस्तो प्रणाली हो, जसबाट गरिब र धनी सबै मुलुकलाई प्रभावकारी खोप सुनिश्चित गर्ने व्यवस्था गरिन्छ । यसमा खोपसम्बन्धी प्राप्त हुने हरेक नयाँ जानकारी र सूचनाका आधारमा मुलुकमा भएका सुविधा, संरचना र क्षमतालाई अद्यावधिक गरिँदै लगिन्छ ।

स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले कोभिड–१९ विरुद्घको खोपको प्रभावकारिता ९५ प्रतिशतसम्म देखिनु एकदम सकारात्मक भएको बताए । ‘सामान्य इन्फ्लुएन्जा (रुघाखोकी) विरुद्घको खोपको प्रभावकारिता ४० देखि ६० प्रतिशतसम्म हुन्छ । दादुराका दुई खोप ९७ प्रतिशतसम्म प्रभावकारी छन् । कोभिड–१९ को ९५ प्रतिशत प्रभावकारी देखिनु एकदम राम्रो हो,’ उनले भने । इन्फ्लुएन्जा खोपको प्रभावकारिता कम हुनुको कारण यो भाइरस हरेक वर्ष नयाँ रूपमा देखिनु पनि हो ।

मोडर्ना खोप अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थको सहयोगमा निर्माण गरिएको हो । यो खोप २८ दिनको अन्तरालमा दुई मात्रा दिइन्छ । डा. गौतमका अनुसार मोडर्नाको खोप नयाँ प्रविधिमा आधारित छ । यसले ‘म्यासेन्जर आरएनए’ को एउटा अणुको ‘सिन्थेटिक’ संस्करण उपयोग गर्छ । यसले कोषिकाहरूलाई ‘ह्याक’ गरेर तिनीहरूलाई प्रभावकारी रूपले खोप बनाउने कारखानामा परिणत गर्छ ।

विभिन्न मिडिया रिपोर्टका अनुसार २०२० को अन्त्यसम्म अमेरिकाका लागि मोडर्ना खोपको २ करोड मात्रा उत्पादन हुनेछ । आगामी वर्षसम्म विश्वमा ५० करोडदेखि १ अर्बसम्मको परिमाणमा खोप बनाउने योजना छ । यस्तै, सबै कुरा योजनाअनुसार भइरहे बायोएनटेकसँग मिलेर तयार गरिएको फाइजरले तयार गरेको वर्षमा १.३ अर्ब मात्रा उत्पादन गर्ने गरिएको छ ।

अमेरिकाको नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिज (एनआईएआईडी) का निर्देशक डा. एन्थनी फौसीको अनुमानअनुसार डिसेम्बरको अन्त्यसम्म मोडर्ना र फाइजरको खोप अमेरिकाको उच्च जोखिम समूहका लागि उपलब्ध हुनेछ । एनआईएआईडीले सोमबार जारी गरेको विज्ञप्तिअनुसार मोडर्नाको खोप कोभिड–१९ को लक्षण भएका वयस्कहरूमा सुरक्षित र प्रभावकारी देखिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हाल विश्वभरि कोभिड–१९ विरुद्घ २ सय १२ खोप उत्पादनमा काम भइरहेको छ । यसमध्ये ४८ खोपको क्लिनिकल परीक्षण भइरहेको छ । तीमध्ये ११ खोपको अन्तिम परीक्षण भइरहेको छ । अलजजिरा डट कमका अनुसार भारत बायोटेकले कोभाक्सिन २६ हजार व्यक्तिमा तेस्रो चरणको परीक्षण सुरु गरेको छ । यो भारतमा उत्पादन भएको पहिलो खोप हो ।

हैदराबादमा रहेको भारत बायोटेकले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) को सहकार्यमा यो खोप तयार गरेको हो । यसको पहिलो डोज नाजाम्स इन्स्टिच्युट अफ मेडिकल साइन्सका स्वयंसेवकलाई दिइनेछ । यसको असरबारे निगरानी हुनेछ । यस्तै, चीनले तयार पारेका कोरोनाविरुद्धका चार खोप अन्तिम परीक्षणमा रहेको चिनियाँ समाचार संस्था सिन्हवाले जनाएको छ । चीनको सिनोभ्याकले निर्माण गरेको खोप चीनलगायत अरू देशमा अन्तिम क्लिनिकल परीक्षण भइरहेको छ ।

कस्तो खोप राम्रो ?

विज्ञहरूका अनुसार संक्रमण वा कुनै पनि रोगविरुद्ध ९० प्रतिशतसम्म सुरक्षा दिने खोप राम्रो मानिन्छ । हालसम्म उपलब्धमध्ये कुनै पनि खोपले शतप्रतिशत सुरक्षा दिँदैन । सामान्यतया खोप लगाएको १० दिनमै रोगविरुद्ध लड्ने गरी प्रभावकारी हुन्छ ।

हामीकहाँ प्रयोग गर्दै आएका धेरैजसो खोपमा मरेको भाइरस वा ब्याक्टेरिया हुन्छ अथवा त्यसमा कमजोर बनाइएका जीवित भाइरस हुन्छन् । तिनले शरीरमा गएर कीटाणुविरुद्घ लड्ने प्राकृतिक एन्टिबडी निर्माण गर्छन् । विकासका क्रममा रहेका कोभिड–१९ विरुद्धका खोपमा निष्क्रिय वा कमजोर भाइरसको खोपसमेत छ । हरेक खोपले खास रोगविरुद्ध दिने सुरक्षाको समयसमेत फरक–फरक हुन्छ ।

डब्लूएचओका अनुसार कोभिड–१९ का लागि विकास गरिएको अर्को प्रोटिनमा आधारित खोप हो जसमा प्रोटिन वा प्रोटिनको सेलको हानिरहित अंश उपयोग गरिन्छ । त्यसले प्रतिरक्षा प्रतिक्रियालाई सुरक्षित रूपले उत्पन्न गर्न कोभिड भाइरसको नक्कल गर्छ । यस्तै, भाइरल भेक्टर खोपमा रोग उत्पन्न नगर्ने उद्देश्यले आनुवांशिक रूपमा इन्जिनियरिङ गरेका भाइरसको उपयोग गरिन्छ । तर सुरक्षित रूपमा प्रतिरोधक प्रतिक्रिया उत्पन्न गर्न कोरोना भाइरस प्रोटिन उत्पन्न गर्छ । आरएनए र डीएनए खोपअन्तर्गत प्रोटिन उत्पन्न गर्न आनुवांशिक रूपले इन्जिनियर्ड आरएनए र डीएनए उपयोग गरिन्छ जसले आफैं प्रतिरक्षा प्रक्रियाको संकेत दिन्छ । – कान्तिपुर दैनिकबाट

प्रतिक्रिया