के छठपछि उपत्यकामा कडा लकडाउन हुँदैछ ?

काठमाडौं । पछिल्लो केहि सातायता काठमाडौं उपत्यका कोभिड-१९ को केन्द्रविन्दु बनेको छ । नेपालभर थपिने संक्रमितको संख्यामा झन्डै आधा संख्या काठमाडौं उपत्यकाकै रहने गरेको छ । के कोरोनाले ठूलो महामारीको रुप उपत्यकामा लिने त होइन ? यो सबैको चिन्ताको विषय बनेको छ ।

यहीबीच अघिल्लो सातामात्र कोभिड-१९ संकट व्यवस्थापन (सिसिएमसी)को निर्देशक समितिसँग काठमाडौं उपत्यका नगरपालिका फोरमले विशेष छलफल गर्यो । सिसिएमसी निर्देशक समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहितको छलफलमा उपत्यकाका सबै मेयरले छठ सकिएलगत्तै लकडाउन गर्न माग गरेका थिए । त्यसपछि समाचारहरु आए- ‘काठमाडौंमा छठपछि फेरि कडा लकडाउन माग’ भनेर ।

तर, यसबारे अहिलेसम्म कुनै टुङ्गोमा पुगिएको छैन । मेयर सङ्घका उपाध्यक्ष एवम् ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन लकडाउन गरिए सङ्क्रमण विस्तार कम हुने कुरामा गृहमन्त्री रामबहादुर थापाले सकारात्मक टिप्पणी गर्छन् । तर गृह मन्त्रालयका प्रवक्ताले उपत्यकामा लकडाउन हुने सम्भावना नदेखेको बताए ।

यस्तै बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल भन्छन्, ‘उपत्यकामा यसै गरी तीव्र रूपमा सङ्क्रमण फैलने हो भने यो जाडोमा हाम्रा अस्पतालहरूले धान्न सक्ने अवस्था रहँदैन ।’ १४ दिनसम्म कडा लकडाउन गर्न सकियो भने सङ्क्रमण अरूमा सर्ने सम्भावना हुँदैन र लागेको पनि निको हुन्छ भन्ने राय आएको उनको भनाई छ । ‘लकडाउन गर्ने अभ्यास संसारका अन्य देशमा पनि भइरहेको हुनाले मलाई पनि यो ठिक हो कि जस्तो लागेको छ,’ उनले थपे ।

सरकार के भन्छ ?
यसरी उपत्यकामा संक्रमित बढ्ने आकलन गरिरहँदा फेरि प्रश्न उठ्छ- के काठमाडौंमा फेरि कडा लकडाउन होला त ? तर गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढा अर्को लकडाउनको सम्भावना नदेखेको बताउँछन् ।

‘एकपटक लकडाउन गर्दा स्थिति सहज हुन्छ वा खोप आइपुग्छ भन्ने अवस्था छैन । पहिला पनि लकडाउन भएकै हो, कहिलेसम्म गर्ने भन्ने प्रश्न उठ्छ,’ प्रवक्ता बुढाले भने- ‘अहिले आर्थिक गतिविधि गर्नुपर्ने र विकास निर्माणका कामहरू गर्नुपर्ने अवस्था छ । आम जनतालाई सोध्दा पनि निकै थौरै मानिसले मात्रै लकडाउन गर्नुपर्छ भनेर भन्लान ।’

मन्त्रिपरिषद्ले लकडाउन नगर्ने निर्णय लिएसँगै जिल्लाहरूले पनि लकडाउन नगरेको उल्लेख गर्दै बुढाले कुनै क्षेत्रमा उच्च सङ्क्रमण देखिए त्यहाँ आवतजावत नियन्त्रण गरी परीक्षणलाई तीव्रता दिने नीति सरकारले लिएको बताए ।

विज्ञ के भन्छन् ?
बीबीसीले उल्लेख गरेअनुसार सङ्क्रामक रोगसम्बन्धी विशेषज्ञ डा. अनुप सुवेदी परीक्षणको दायरा बढाउने र सङ्क्रमण फैलन नदिन सावधानी अपनाउनुपर्ने विषय राज्यको प्राथमिकतामा पर्नुपर्ने बताउँछन् । उनी भन्छन्- ‘अस्पतालहरूमा आइसीयूमा एकदमै धेरै चाप पर्यो भने लकडाउनले त्यसलाई मत्थर गरिदिन सहयोग गर्छ ।’

समग्र महामारीको फैलावटलाई पनि त्यसले कम गर्ने उनको तर्क छ । ‘लकडाउन अन्तिम अस्त्र हो । एकमात्र अस्त्रका रूपमा त्यसलाई प्रयोग गर्यो भने खासै फाइदा हुँदैन किनभने लकडाउन सकिने बित्तिकै सङ्क्रमण फेरि बढिहाल्छ,’ उनी थप्छन् । सङ्क्रमित र उनीहरूसँग सम्पर्कमा आएका सबै व्यक्तिको परीक्षण निःशुल्क गरिनुपर्ने भन्दै त्यसो नगरे महामारी नियन्त्रण नहुने डा सुवेदीको भनाई छ ।

प्रतिक्रिया