‘जसपाका शीर्ष तहमा व्यभिचार र भ्रष्टाचार भएकाले मलाई निकालिएको हो’ सरिता गिरी

काठमाडौं । जनता समाजवादी पार्टीकी पूर्व सांसद सरिता गिरीले जसपाका शीर्ष नेताहरु व्यभिचार र भ्रष्टाचारमा संलग्न भएको आरोप लगाएकी छन् । जसपाको शीर्ष तहमा व्यभिचार र भ्रष्टाचार भएकैले आफुलाई निकालिएको गिरीको भनाई छ ।

तिहारको भाइटिकाको अघिल्लो दिन राती फेसवुकमा स्टाटस लेख्दै सरिता गिरीले शीर्ष तहमा व्यभिचार र भ्रष्टाचार भएकैले आफुलाई निकालिएको तर्क गरेकी हुन् ।

पूर्वसांसद गिरीले जसपाका कुन नेताहरु व्यभिचारी र भ्रष्टाचारी हुन् खुलाएकी छैनन् तर, लिम्पियाधुरा, लिपुलेक तथा कालापानी सिमा विवादमा आफुले भारतको पक्ष लिएकाले सांसदबाट निकालिएको स्विकारेकी छैनन् । ‘जसपाके शीर्ष तहमे व्यभिचार और भ्रष्टाचार होनेके कारण मुझे सांसद पदसे हटाया गया है ।’

सरिता गिरीले कसैलाई एडजस्ट गर्नपनि आफुलाई हटाइएको तर्क पनि गरेकी छन् । ‘किसी को किसी के इशारे पर और किसी के दबाव में एडजस्ट करना था.’ गिरीले भनेकी छन् ।

जसपाबाट निस्कासित गिरी यतिबेला आफ्नै नेतृत्वमा ‘तराई मधेश वृहत् लोकतान्त्रिक मोर्चा’ गठनमा लागेकी छन् ।

तराई मधेशका जनतालाई राजनीतिक, आर्थिक तथा सामाजिक अधिकार दिलाउन भन्दै गिरीले मोर्चा गठनका कृयाकलापलाई अगाडी बढाईरहेकी छन् । केही दिन अघि मात्रै उनले तराईका विभिन्न जिल्लाहरु घुमेर त्यहाँका युवा तथा सामाजिक, आर्थिक क्षेत्र तथा राजनीतिमा सक्रिय व्यक्तिहरुलाई समेत भेटघाट र परामर्श गरेकी छन् ।

उनले आउँदो डिसेम्बरमा मेची–महाकाली पदयात्राको समय अभियान सुरु गर्ने तयारी गरेकी छन् ।

नेपालको संसदले गत जेठ ३१ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन हालेकी थिइन् ।

समाजवादी पार्टीको संसदीय दलले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिएपनि उनले अटेर गरेकी थिइन् । सांसद पार्टीको पदबाट समेत निस्कासित भएपछि गिरीले जसपाका शीर्ष नेताहरुका विरुद्ध विभिन्न अभिब्यक्ति दिँदै आएकी छन् ।

नेपालकाे संसदले लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेतकाे नयाँ राजनैतिक नक्सा तथा निसान छाप पारित गरेपनि पछिल्लाे समय ती भू–भाग फिर्ता ल्याउने सन्दर्भमा खासै प्रगती भएकाे छैन । सरकारले भारतसँग सिमा विवाद सुल्झाउन पटकपटक आग्रह गरेपनि भारत संवेदनशील बनेकाे छैन ।

प्रतिक्रिया