सूर्य थापा लेख्छन्–‘प्रचण्डले प्रतिवेदन फिर्ता लिनुपर्छ, यो तथ्यको नाङ्गो भ्रष्टीकरण हो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा नेकपा स्थायी कमिटी सदस्य सूर्य थापाले सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबारको सचिवालयमा पेश गरेका १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन कुनै पनि पार्टी कमिटीमा छलफलको विषय नबन्ने बताएका छन् ।
शनिबार (आज) आफ्नो आधिकारिक फेसबूकमार्फत् अध्यक्ष दाहालले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण भएको बताउँदै थापाले उक्त प्रतिवेदन कुनै पनि पार्टी कमिटीमा छलफलको विषयवस्तु नबन्ने बताएका हुन् ।
यस्तै थापाले अध्यक्ष दाहालले स्थायी कमिटी बैठकको ठाडो उल्लघंन गरेकोसमेत तर्क गरेका छन् । थापाले लेखेका छन्–‘यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुन सक्दैन । पार्टी विधान, परम्परा, अभ्यास र दुबैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन हो ।’
यसैगरी थापले उक्त प्रतिवेदन कुनै पनि हालतमा फिर्ता हुनुपर्ने बताएका छन् । ‘यस (प्रतिवेदन)लाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के सम्वाद पनि शत्रुवत् र निरर्थक बन्न पुगेको हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ ।’ थापाले लेखेका छन् ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासपात्रहरु गोकुल बाँस्कोटा, शंकर पोखरेललगायतका नेताहरुले अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन अविलम्ब फिर्ता लिनुपर्ने बताएका थिए ।








