‘पार्टीले सत्ता होइन, सत्ताले पार्टी चलाउने उल्टो व्यवहार भयो’–प्रचण्ड [पूर्णपाठ]

काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद हल गर्ने मनसायले हिजो बसेको सचिबालय बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले फरक प्रतिवेदन पेश गरेका छन् । पार्टीभित्र अर्का अध्यक्ष केपी शर्मा ओलीविच देखिएको मतान्तर र पार्टीभित्र देखिएको समस्याको मुख्य जड केपी शर्मा ओली रहेको भन्दै १९ पेजको प्रतिवेदन पेश गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको नेकपाको सचिबालय बैठकमा आफ्नो राजनैतिक प्रतिवेदन पेश गर्दै कार्यकारी अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीका व्यक्तिवादी, गुटवादी र एकाधिकारवादी सोचका कारण पार्टी र सरकार दुवै समस्यामा परेको बताएका छन् ।

‘वस्तुतः, अन्ततः र मुख्यतः पार्टी र सरकारको उपरोक्त स्थितिका लागि पार्टी र सरकार दुवैको मुख्य नेतृत्वमा रहेका कमरेड केपी शर्मा ओलीका व्यक्तिवादी, गुटवादी र एकाधिकारवादी सोच र कार्यशैली प्रमुख रुपमा जिम्मेवार रहेका छन् । वैचारिक–राजनैतिक प्रश्नदेखि पार्टी र संगठनात्मक विधि, पद्धति र आचरणका सम्बन्धमा पार्टी एकताका बेलामा गरिएका प्रबन्ध र निर्णयहरुको निरन्तर अतिक्रमणद्वारा कमरेड केपी शर्मा ओलीले आफू चरम व्यक्तिवादी, गुटवादी सावित गर्नुभएको छ ।’ प्रचण्डको राजनैतिक प्रतिवेदनको सार हो ।

‘उहाँमा विद्यमान यो प्रवृतिको व्यापक चिरफार पार्टी, आन्दोलन र देशकै निमित्त आवश्यक हुन गएको छ । यो कुनै व्यक्तिगत आग्रह पूर्वाग्रहको कुरा होइन अपितु पार्टी निर्माण र देश निर्माणको अनिवार्य शर्त हो ।’ शुक्रबारको सचिवालय बैठकमा पेश भएको प्रचण्डको प्रतिवेदनमा उल्लेख छ ।

अध्यक्ष प्रचण्डले अब पार्टीभित्र पदीय भागवण्डा गरेर मात्रै समस्या समाधान नहुने पनि बताएका छन् । ‘गम्भीर र जटील समस्याहरुको सामना अब स–साना प्राविधिक जोडघटाउ वा पदीय भागवण्डाबाट गर्न असम्भव छ । यसका निमित्त वैचारिक–राजनैतिक कार्यदिशा, संगठनात्मक विधि–पद्दति र कम्युनिष्ट आचरणका बारेमा गम्भीर समीक्षासहित समुचित निकास खोज्नु अनिवार्य छ ।’ प्रचण्डको प्रस्तावमा भनिएको छ ।

दाहालले अब केपी ओलीले ‘त्याग देखाउनुपर्ने’ निश्कर्षसहितको प्रस्ताव पेश गरेका छन् । प्रधानमन्त्री ओली पार्टी र सरकार सञ्चालनमा पूरै असफल भएको उनको निश्कर्ष छ । ‘आज पार्टीले सत्ता होइन, सत्ताले पार्टी चलाउने जस्तो उल्टो व्यवहार भइरहेको छ’ प्रतिवेदनमा उल्लेख छ ।

मंसिर ३ गते पुनः नेकपाकाे सचिबालय बैठक बाेलाउने सहमति भएकाे छ ।

हेर्नुहोस, अध्यक्ष दाहालले पेश गरेको प्रतिवेदनको पूर्णपाठ

[wp-embedder-pack width=”100%” height=”600px” download=”all” download-text=”” attachment_id=”99977039479″ /]

प्रतिक्रिया