बामदेव गौतमको वारी पारी, कसको पल्ला भारी ?

- धनबल राई
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम अहिले निर्णयक अवस्थामा छन् । यतिबेलाको अवस्था भनेको गौतम जहाँ गए उतै नै पल्ला भारी हुने अवस्था हो । ९ सदस्यीय नेकपा सचिवालयमा बामदेवको भूमिका महत्वपूर्ण छ, कमसेकम अहिलेको लगि । अहिलेसम्मको परिणामअनुसार गौतम असन्तुष्ट पक्ष हुन् भन्ने छ । बामदेव कता जालान् र कसको पल्ला भारी होला भन्ने अहिलेको सबैको चासोको विषय हो ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल–झलनाथ खनाल र प्रवक्ता नारायणकाजीसँगै असन्तुष्ट भएका गौतम प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीको कित्तामा उभिएको खण्डमा ओलीकै पल्ला भारी हुने देखिन्छ ।
त्यसो त प्रधानमन्त्री ओलीले यसअघि नै बामदेवलाई आफैँसँग सरकारमा सामेल हुन अनुरोध गरिसकेका छन् । यससँगसँगै बामदेव सरकारमा जाने अड्कलबाजी गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि गौतमलाई यसअघि नै पार्टीको विवाद समाधान गर्ने पक्षमा लाग्न र समस्या समाधानको पाटोमा अहम् भूमिका खेल्नु भनी आग्रह गरिसकेका छन् । त्यसो त यसअघिको पार्टी विवादभित्रको नजिर हेर्ने भएपनि अन्तिम अवस्थामा आएर कित्ता परिवर्तण गर्नमा गौतम माहिर देखिन्छन् ।
गत बैशाखको पार्टी विवादमा गौतमले अन्तिममा आएर कित्ता परिवर्तण गरेका थिए । जुन गौतमको निर्णयले ओलीलाई राहत पुगे पनि अध्यक्ष दाहाललाई मर्का परेको थियो ।
यसर्थ गौतमले आजको सचिवालय बैठकमा कस्तो भूमिका खेल्लान् भनेर चासोको रुपमा हेरिएको छ । प्रधानमन्त्री ओली, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उपप्रधानमन्त्री ईश्वर पोखरेलको समूहमा उपाध्यक्ष गौतम मिसिएको खण्डमा प्रधानमन्त्री खेमाकै पल्ला भारी हुनेछ ।
दाहालनिकट नेताहरुले भने गौतमको कित्ता परिवर्तणबारे भने नसोचिएको बताउँछन् ।
नेकपा सचिवालय बैठक अहिले ४ बजे शुरु हुने भनिएको छ । असन्तुष्ट पक्ष पनि आजको बैठकमा रणनीतिक रुपमा प्रस्तुत हुने बुझिएको छ । अध्यक्ष दाहालसहितका असन्तुष्ट नेताहरुले हिजो नै थप रणनीति बनाउने ध्येयका साथ छलफल गरिसकेका छन् ।
यसअघि ओलीले दाहाललाई ‘गुटबन्दी गरेको’भनी पाँच पन्ने जवाफ दिइसकेका छन् । यसअघि असन्तुष्ट पक्षले ओलीलाई पत्र लेख्दै दुई दिनभित्र सचिवालय बैठक बोलाउन भनी प्रस्ताव गरेको थियो । त्यसपछि पनि धेरै दिन झुल्याएका ओलीले अन्ततः बैठक बोलाएका छन् । आजको योसँगै आजको बैठकमा कसको पल्ला भारी हुने भन्ने सबैको चासोको विषय बनेको छ ।








