असनका व्यापारीकाे गुनासाे– ‘सस्ताेमा बेच्दा पनि लैजाँदैनन् ग्राहक’

  • सृष्टि नेपाल (द्वारिका)

काठमाडौं । व्यापारीहरुकाे बेच्ने र ग्राहकहरूको किनमेल गर्ने मुख्य थलो हो असन–न्युरोड बजार । काठमाडौंका रैथानेदेखि राजधानी बाहिरका मानिसहरुको किनमेल गर्ने थलोका रुपमा परिचित असन जुनसुकै समयमा पनि खचाखच हुन्छ ।

नुनदेखि सुनसम्म आवश्यक सबै सामग्री सस्तो र सहजताका साथ एकै थलोमा पाइने भएका कारण पनि यहाँ बिहान होस् या साँझ, हरेक समय ग्राहकहरुको भीड लाग्छ । चाडवाडमा त झन् ग्राहकहरुसँगै व्यापारीको पनि भीड लाग्ने भएका कारण पाइला राख्ने ठाउँ समेत हुँदैन । पोहोर परारका वर्षहरूमा जतिकै भीड लागेपनि यो वर्ष व्यापारीमा भने त्यति उत्साह देखिँदैन ।

कोभिड १९ संक्रमणको महामारीका कारण व्यापार खस्किएको व्यापारीहरुको गुनासो छ । अघिल्ला वर्षहरुमा अत्यधिक मूल्यमा बेचेका सामग्रीहरु यो वर्ष कम मूल्यमा बेच्दा पनि सावाँ उठाउनै धौधौ परेको व्यापारी राकेश राैनियार बताउँछन् ।

राकेशका अनुसार अघिल्ला वर्षहरूमा उनी बिहान १० बजे आएर बेलुकी ६ बजेसम्म मात्रै असन बजारमा बस्थे । महँगाेमै सामान बिक्थ्याे । याे वर्षकाे तिहारमा बिहान सातैबजे असन आइपुग्दा पनि साेचेजति व्यापार हुँदैन उनकाे ।

‘अघिल्ला  वर्षहरूमा ६ सयमा बेचेकाे भाइमसला याे वर्ष ३ सयमा बेच्दा पनि बिकेकाे छैन । जतिजति तिहार नजिकिँदै छ, उति चिन्ता बढेकाे छ । सामान बिक्दैन, स्टक बस्ला भन्ने तनाव छ । जति आउँछ त्यतिमै बेचेका छौँ’, उनले भने ।

राैतहटका राैनियार हाल कालिमाटीमा बस्छन् । उनले तिहारमा असन धाउन थालेदेखिकाे याे नै पहिलाे वर्ष हाे, जहाँ उनले सस्ताेमै लैजाउ भनेर बिन्तीभाउ गर्दा पनि ग्राहक बिच्किन्छन् । अरू वर्षहरूमा दैनिक ४०/५० हजारसम्मकाे व्यापार हुनेमा अहिले १५ हजार पनि हुँदैन । उनकाे हाेलसेल पनि छ । हाेलसेलबाट साेचेजति बिक्री नभएर असनमा आएका हुन् ।

यस्तै विगत चार वर्षदेखि असनमै तिहारताका ढाका टाेपीकाे व्यापार गर्दै आएका करण श्रेष्ठ पनि याे वर्ष व्यापार खस्किएकाे बताउँछन् । पाेहाेर ४५० सम्म बेचेकाे ढाका टाेपी याे वर्ष उनले २५० मा बेचेका छन् । अहिले उनकाे स्टलमा एक सयदेखि २५० मूल्यसम्ममा ढाका टाेपी पाइन्छ । तर लगानी उठ्नेमा उनी ढुक्क छन् ।

करण भन्छन्- ‘पोहोर जतिको त छैन तर व्यापार ठिकठिकै छ । पहिले अलि बढी मूल्यमा बेच्दा पनि बिक्थ्याे तर याे वर्ष आधा मूल्य घटाएर बेच्दा पनि खासै बिकेकाे छैन । हिजाेबाट व्यापार बढेकाे छ । दैनिक कारोबार १५–१६ हजारको हुन्छ । लगानी उठ्नेमा चाहीँ ढुक्क छु । तर याे वर्ष नाफामा पनि गिरावट छ । स्टलकाे १४ हजार तिरेर केही नाफा बस्छ हाेला !’

सामान स्टक बसेपनि उनलाई यसको चिन्ता भने छैन । लामाे समयदेखि एकै ठाउँबाट सामान किन्ने गरेका कारण स्टक बसेमा उनकाे सामान फिर्ता हुन्छ । सामान स्टककाे चिन्ता नभएपनि काेभिडकाे चिन्ता भने उनलाई छ । उनी भन्छन्- ‘सुरूसुरूमा व्यापार राख्दा काेभिडकाे निकै डर लागेकाे थियाे । तर यहाँकाे चहलपहल हेर्दा कसैलाई काेभिडकाे मतलबै भएकाे देखिँदैन, मेराे पनि डर हरायाे । मास्क चाहीँ अनिवार्य लगाउने गरेकाे छु ।’

करण १२ कक्षामा पढ्दैछन् । तिहार बाहेकका समयमा उनी सेक्युरिटीकाे काम गर्छन् । रामेछापका उनी हाल काठमाडाैंमै बसेर काम गर्दै आफ्नो अध्ययनलाई अघि बढाइरहेका छन् ।

उता छिमेकी मुलुक भारतका प्रदीपकुमारले विगत ७/८ वर्षदेखि तिहारताका असनमा भाइटीकामा प्रयाेग हुने सप्तरंगी टीकाकाे व्यापार गर्दै आएका छन् । पोहारसम्म तिहारभरीमा १४ हजार यता तिरेर ३५ हजारसम्म नाफा बस्थ्यो । अहिले दैनिक काराेबार घटेसँगै नाफा पनि कम उठ्ने उनकाे अनुमान छ ।

उनी भन्छन्- ‘पाेहाेर भन्दा अहिलेकाे अवस्था अलिकति खराब छ । याे समयमा यतिकाे व्यापारलाई राम्रै मान्नुपर्छ । अघिल्ला वर्षहरूमा मेहनत अनुसार दाेब्बर नाफा बस्थ्याे तर याे वर्ष त्यति नहाेला । तर तिहार नसकी यति नै नाफा बस्छ भन्न सकिन्नँ ।’  

जाेरपाटी बस्दै आएका प्रदीपले सनमा व्यापार थालेकाे पाँच दिन भयाे । उनले भाेलिसम्म त्यहीँ व्यापार राख्नेछन् र टीकाकाे दिनमा पानकाे व्यापार राख्नेछन् । अरू समय उनी जाेरपाटीमा रहेकाे कपडा पसलमा बस्छन् । भारत घर भएपनि उनी नेपालमै हुर्किएका उनले आफ्नाे पढाइ पनि यहीँ पुरा गरेका हुन् । उनी असनमा बेलुकी ७ बजेसम्म बस्छन् ।

०००

असन र असनका व्यापारी त प्रतिनिधि पात्र मात्रै हुन् । अहिले व्यापार हबका रूपमा लिइने काठमाडाैंका अधिकांश चाेक तथा गल्लीहरू पनि सुनसान देखिन्छन् भने व्यापारीहरू पुर्पुराेमा हात लगाएर ग्राहक कुरिरहेकाे भेटिन्छन् । 

काेराेनाका कारण कति नागरिकहरूकाे राेजगार खाेसिएकाे छ भने कतिकाे गाँस नै खाेसिएकाे छ । कतिको आर्थिक अवस्थामा धक्का समेत लागेको छ । याे परिस्थितीमा धेरै खर्च गरेर चाडपर्व मनाउने कमै हुन्छन् । सरकारले नागरिकमुखी राहतका उचित कार्यक्रमहरू ल्याउन नसक्दा आर्थिक गतिविधि चलायमान देखिएपनि उद्योगी, व्यवसायीसँगै सर्वसाधारण नागरिक सबै मारमा परेका छन् ।

प्रतिक्रिया