‘चेम्बर र परिसंघलाई समेटेर एउटै महासंघ बनाउँछौं’ गुणनिधि तिवारी (भिडियोसहित)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव नजिकिँदै गइरहेको छ । वरिष्ठ उपाध्यक्ष र  उपाध्यक्षका लागि प्यानल बनाएर उद्योगी व्यवसायीका नेताहरु चुनावमा लागेका छन् । देशैभर रहेका उद्योगी व्यवसायीहरुका नेताहरुले उद्योगी र व्यवसायीहरुको साझा समस्या समाधान गर्ने राम्रो नेतृत्व आउनुपर्नेमा जोड दिइरहेका छन् ।

महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते राजधानीमा हुँदैछ । चुनावका लागि वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकालको समूहबाट जिल्ला नगरको उपाध्यक्षमा उम्मेदवारी दिएका गुणनिधी तिवारीसँग महासंघ अब कसरी अगाडी बढ्छ, जिल्ला नगरका समस्या के के हुन्, जित्ने आधारहरु के के छन् भनेर मकालु खबरकालागि राजाराम न्यौपानेले गरेको कुराकानीको संक्षिप्त अंशः

उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी बढिरहँदा तपाईं कसरी अगाडी बढिरहनु भएको छ ?

महासंघको साधारण सभा तथा निर्वाचन नजिकिँदै गएको कारणले माहौल तातिइरहेको छ । गत वर्षको चैतमा नै हुनुपर्ने निर्वाचन कोरोना भाइरसको कारणले पटक–पटक सरेको थियो । तर, अहिले तोकिएको समयमा निर्वाचन गर्न गृह मन्त्रालयले समेत स्वीकृती दिइसकेको छ । स्वास्थ्य मापदण्ड अनुसार नै चुनाव गर्नुपर्छ भन्ने छ । त्यही अनुसार महासंघको निर्वाचन गर्नेछौं ।

हाम्रो टिमले सुदुरपश्चिम प्रदेशको धनगढीमा त्यस प्रदेशभित्र रहेका १० वटा उद्योग वाणिज्य संघका अध्यक्षहरुसँग भेटघाट र सरसल्लाह पनि गर्यौँ । त्यस्तै गरि नेपालगञ्जमा साविकका राप्ती, भेरी र कर्णाली अञ्चलका संघका अध्यक्षज्यूहरुसँग पनि छलफल गरिसकेका छौं ।

यता बुटवल, चितवन, पोखरा र बागमती प्रदेशका संघका अध्यक्षहरुसँग पनि बसेर छलफल गरेका छौं । आज भेटघाटकै क्रममा प्रदेश नम्बर १ मा जाँदैछौं । समग्रमा हाम्रो चुनाबी अभियान सक्रिय रुपमा अगाडी बढेको छ । हाम्रो प्यानल प्रति ७७ देशभरका उद्योगी व्यवसायीहरुको विस्वास भएको पाएका छौं ।

कोरोनाको कारणले थला परेको अर्थतन्त्र माथि उठाउन महासंघलाई अहिले कस्तो नेतृत्व चाहिएको छ ?

हाम्रो टिमको सोच भनेको नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शलाई पनि समेटेर एउटैं महासंघ बनाऔं भन्ने हो । निजी क्षेत्र सबै एकै ठाउँमा भएपछि सरकारले हेर्ने दृष्टिकोण पनि फरक हुन्छ । एकताको कारणले हामीले बोलेका कुराहरु पनि धेरै पूरा हुन्छन् ।

सबै एकै ठाउँमा आउँदा बैंक, लगानी तथा रोजगारी लगायतका कुराहरुलाई बृहद् रुपमा समेटेर लैजान सकिन्छ । हाम्रो टीमले यहि उद्देश्य अनुरुप एजेण्डाहरु तयार गरेर अगाडी बढेको छ ।

विषेश गरेर जिल्लामा धेरै समस्याहरु छन् । महासंघको खम्बा भनेको नै जिल्ला हो । जिल्ला नै रहेन भने महासंघ रहँदैन । बेस जिल्लालाई बनाएर हामी अगाडी बढ्नुपर्छ । हाम्रो टिम उद्योगी व्यवसायीको सबै किसिमको समस्या समाधान गरेर अगाडी जान सक्षम छ ।

जिल्ला र नगरमा उद्योगी व्यवसायीका के कस्ता समस्या रहेका छन् र तिनिहरु कसरी समाधान गर्न सकिएला ?

जिल्ला नगर वाणिज्य संघका अध्यक्षहरु आफू पनि सक्षम हुन्छन् । करिब ६० देखि ७० प्रतिशत समस्या लोकल लेबलमा नै समाधान हुने खालका छन् । केही समस्याहरुलाई प्रदेश सरकार र संघीय सरकारमा लैजान पर्ने हुन्छ । अनुगमन, राजस्व, रोजगारी, कर, बैंक र भन्सारका समस्याहरुलाई संघ, प्रदेश र स्थानीय तहसम्मै रहेका हाम्रा संगठनहरुबाट समाधान गर्न गराउन हामीले समन्वयकारी भूमिका गर्नेछौं ।

बैदेशीक रोजगारीमा जानेहरुलाई रोकेर स्वदेशमा नै रोजगारी दिने पनि हाम्रो लक्ष्य रहेको छ । स्वदेशी तथा विदेशी लगानी भित्र्याउने र त्यसबाट स्वेशमै रोजगारी सृजना गराउन हामी लाग्ने छौं ।

जिल्लाका धेरै साथीहरुले मर्यादाको कुरा उठाइरहनु भएको छ । हिजो निर्वाचित कोही नहुँदा जिल्ला नगर उद्योग वाणिज्य संघको महत्व धेरै थियो । अहिले निर्वाचित बडी आइसकेपछि हाम्रा साथीहरुलाई मर्यादाक्रममा समस्या देखिएको छ । नगर प्रमुख वा उपप्रमुख, वडा अध्यक्ष वा वडा सदस्य मध्ये कुन बराबर मर्यादा हो भन्ने अन्योलता छ । यसलाई आम व्यवसायी माझ प्रष्ट बनाउनु पर्छ ।

यसका अलावा असक्षम भएका संंस्थाहरुलाई सक्षम बनाउन पनि हामी लाग्छौं । व्यवसायीक दक्षता र सिपका कुराहरुपनि छन् ।

कोरोनाले थलिएको अर्थतन्त्र माथि उठाउन तपाईंहरुको टिमको योजना के छ ?

कोरोनाको कारणले धेरै उद्योगी साथीहरु समस्यामा परेका छन् । केहीले आत्महत्या नै गर्ने अवस्था आयो । उद्योग धन्धाहरु बन्द अवस्थामा रहेका छन् ।

कोरोनाले थलिएको उद्योग क्षेत्रलाई माथि उठाउन हामीले सरकारसँग लकडाउनको समयमा नै प्याकेज ल्याउन छलफल गरेका थियौं । सरकारलाई हामीले सुझाव र माग पनि दिएका थियौं ।

केही कुराहरु सम्बोधन भयो । धेरै कुराहरु सम्बोधन हुन बाँकी छ । हामी बाँकी रहेका मागहरु पनि पूरा गराउन लाग्ने छौं । उद्योग धन्दा नै रहेनन् भने भोली राजस्व उठाउन सकिँदैन । त्यसैले उद्योग धन्दाहरुको संरक्षण राज्यले गर्नुपर्छ ।

निजी क्षेत्रबाटै करिब ७० प्रतिशत राजस्व उठिरहेको छ । यसरी राजस्व दिने उद्योगहरुका लागि संरक्षण र सम्वद्र्धन गर्न हामी लाग्नेछौं ।

तपाईले जिल्ला नगरतर्फबाट उपाध्यक्षमा जित्ने आधार के छ ?

१५ वर्षदेखि उद्योग वाणिज्य महासंघमा रहेर काम गरेको छु । उद्योगी व्यवसायी साथीहरुको समस्यामा काम गरेको छु । ५४ वर्षको इतिहासमा जिल्ला नगरको उपाध्यक्षमा प्रमोद श्रेष्ठ जी जो केही समय मात्रै बस्नुभयो । नत्र जिल्ला नगरका साथीहरु महासंघको उपाध्यक्ष हुन पाउनु भएन । अन्य क्षेत्रबाट जिल्ला नगरको उपाध्यक्ष बनाइयो । त्यसैले समस्याको सुनुवाई भएन ।

जिल्ला नगरको ५० प्रतिशत अधिकार भएको क्षेत्र तर यही क्षेत्र ३० र २० प्रतिशत अधिकार भएको क्षेत्रको चेपुवामा पर्यो भन्दा जिल्ला नगरलाई जग भन्ने तर अप्ठ्यारो पर्दा संरक्षण भएन ।

मेरो लक्ष्य भनेको ५० प्रतिशत जिल्लाको अधिकार जिल्लालाई नै दिनुपर्छ भन्ने हो र हामी लिन्छौं पनि । जिल्ला नगर परिषद् हुन्छ त्यसलाई हामी संरक्षण गर्दै सक्रिय बनाउँछौं । हामीले त्यसका लागि कार्य योजना बनाएर अगाडी बढिरहेका छौं ।
जिल्लाका साथीहरु महासंघमा आउँदा नचिन्ने अवस्था छ । अब हामी जिल्लाका सामान्य सदस्यहरु आउँदा पनि चिन्ने वातावरण निर्माण गर्छौं । हामी सबल र सक्षम महासंघ बनाउँछौं ।

तल्लो तहका उद्योगी र व्यवसायी भएको ठाउँमा महासंघ पुगेन भन्छन् ? तल्लो तहमा पुग्ने योजना के छ ?

महासंघमा जिल्ला नगरको प्रतिनिधित्व नहुँदा हामीले यो सबै पीडा भोग्नु परेको हो । यस पटक महासंघमा मेरो उद्देश्य नै तल्लो तहमा काम गर्ने रहेको छ ।

महासंघ र जिल्ला नगरबीचको खाँडल पुरेर जिल्लालाई सक्षम बनाउने काम म गर्छु । जिल्लाका साथीहरुले समस्या पर्दा फोन उठ्दैन, भेट्न खोज्दा भेट हुँदैन भनिरहनु भएको छ । हामी सबैको समस्या समाधान गर्ने छौं ।

प्रतिक्रिया