चित्रबहादुर केसीका छोरा भन्छन्–‘बुवा खतरामुक्त हुनुहुन्छ, पैसा उठाउने बहनामा कोही नफस्नुस्’

काठमाडौं । कोरोना भाइरसबाट हुने कोभिड १९ का कारण मेडीसीटी अस्पतालमा उपचाररत राष्ट्रिय जनमोर्चा (राजमो)का अध्यक्ष चित्रबहादुर केसीका छोराले आफ्नो बुवा खतरामुक्त रहेको बताएका छन् ।

आफ्नो आधिकारिक फेसबूकमार्फत् सो कुराबारे पुष्टि गरेका केसीपुत्र सचित्र केसीले उपचारका लागि पैसा उठाउने बहनामा कोही नफस्नसमेत सूचीत गरेका छन् । यस्तै उनले आफ्नो बुवाको लागि खर्च अभाव भएको खण्डमा आफूहरुले पारिवारिक स्रोतबाट सूचना दिने पनि भनेका छन् ।

उनले लेखेका छन्–‘सबै साथीहरुलाई अभिवादन ! बुवा खतरामुक्त हुनुहुन्छ । अनावश्यक हल्ला गरेर पैसा उठाउने बहानामा कोही पनि नफस्नुहोला । आवश्यक परे पारिवारिक रुपमा हामीले सूचना गर्नेछौं । त्यस भन्दा अगाडि चित्रबहादुर केसी गम्भीर छन् भनेर भनेर प्रचार गरिएको छ, त्यो सर्वदा झुट हो । यसको पछि नलाग्नुहोला ।’

यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले केसीको सम्पूर्ण खर्च नेपाल सरकारले नै बेहोर्ने निर्णय गरिसकेको छ ।

पार्टी भन्छ– खर्च जुटाउनुपर्यो, स्वास्थ्य गम्भीर छ’
यता पार्टी (राजमो)ले भने अध्यक्ष केसीको स्वास्थ्य गम्भीर रहेको बताएको छ । हिजो विज्ञप्ति निकाल्दै पार्टीका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले अध्यक्ष केसीको स्वास्थ्य गम्भीर रहेको बताएका हुन् ।

यसैबीच पार्टीले हिजै बसेको केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष केसीको लागि खर्च उठाउने निर्णय गरेको थियो । यस्तै अन्य शुभचिन्तक तथा अनुयायीबाट पनि सहयोग जुटाउने निर्णय भएको पार्टीले जनाएको छ ।

पार्टीले विज्ञप्तिमा पार्टीको खाता नं. उपलब्ध गराउँदै खर्च उठाउनुपर्ने बताएको छ ।

प्रतिक्रिया