दुर्गा प्रसाईलाई प्रकाश चन्दको चेतावनी– ‘समय आएपछि घिसार्छु’ [अडियो सहित]

काठमाडौं । भूमिगत नेता नेत्र विक्रम चन्द ‘विप्लव’ पुत्र डा. प्रकाश चन्द पेशाले चिकित्सक हुन् । तर, उनी ‘मेडिकल माफिया’हरुविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै पनि आएका छन् । उनी भन्ने गर्छन्, ‘विद्यार्थी लुट्ने माफियाहरुको मुटु र दिमाग हल्लाउनुपर्छ ।’ प्रकाशले भनेका मात्रै छैनन्, गरेका पनि छन् । केही समय अगाडि चितवन मेडिकल कलेजमा विद्यार्थी आन्दोलनको नेतृत्व गरेका प्रकाशले भर्ना शुल्क फिर्तासँगै सरकारी निर्णय कार्यान्वयन गर्ने सहमति गराउन सफल पनि भइसकेका छन् । यस अर्थमा उनी एक अभियन्ता पनि हुन् ।

उनै प्रकाशलाई गत २४ कार्तिकको बिहान ६ बजेर ३३ मिनेट गएको बखत एउटा ‘मेसेज’ आयो । मेसेज बोल्थ्यो–“भाइ म दुर्गा प्रसाई हो । माफिया होइन, बोल्दा ध्यान पुर्याएर बोल्नु । तिम्रो बाउ’ले र तिमीले के काम गर्दैछौ त्यो त समयले बताउला । म र डाक्टर हरिश (चितवन मेडिकल सञ्चालक) र बसरुद्दीन (नेशनल मेडिकल कलेज सञ्चालक) पनि होइन । तेरो बुबाको धम्की मलाई नदे ।”

त्यसपछि फोनमार्फत् सम्पर्क गरी ‘मेसेज’बारे थप बुझ्न खोजेका प्रकाशलाई केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्सी चामलको टन्न भात खुवाएर चर्चा बटुलेका प्रसाईले नानाभाँती भन्दै गालीगलौज गरी प्रकाशलाई हकारेको अडिओमा सुन्न सकिन्छ । उनले भनेका छन्–‘भाइले अस्ति एउटा अन्तरवार्ता दिनुभएको रहेछ । माफियाको मतलब के ? काम गरेर खाने माफिया हुन्छ ? जे पनि भन्ने ? यो राम्रो कुरा होइन नि त । भन्न खोजेको कुरा के ? हामी नङ्ग्याउँछौं नङ्ग्याउँछौं, कसरी नङ्ग्याउँछौ ? होला कसैले फट्याइँ गरे होलान्, कसैले के गरे होलान् त्यो आ–आफ्नो कुरा । मैले कुनै मेडिकल कलेज चलाएको पनि छैन । कुनै विद्यार्थी पनि पढाएको पनि छैन । माफिया ! दुर्गा प्रसाई खबरदार । हँ ! भाइ जे पनि बोल्न मिल्ने, जे पनि गर्न मिल्ने ? मेरो विषय तपाईँहरुले बोल्नु राम्रो कुरा होइन । मलाई माफिया भन्ने ? माफियालाई नछोड्ने रे ?”

प्रसाई र चन्दबीच भएको फोन सम्वाद यहाँ सुन्न सकिन्छ

दुर्गाको उल्लिखित बयान सुनेरै बसेका प्रकाशले जवाफमा भनेका छन्–‘छोडिन्न छोडिन्न, त्यसमा ढुक्क हुनुस् । मैले जसरी माफिया भनेर कोड गरेको छु नि ? यही तपाईँको प्रस्तुति नै माफिया हो । तपाईँजस्तै बोल्न मलाई पनि आउँछ दुर्गा प्रसाईजी । तपाईँसँग बोल्न मात्रै होइन, तपाईँलाई सही ढंगले ट्रीट् गर्न पनि आउँछ मलाई, बुझ्नुभयो ? तपाईँ प्रकाश चन्दसँग बोल्दै हुनुहुन्छ । तपाईँ एउटा युवासँग कुरा गर्दै हुनुहुन्छ । तपाईँको सेँखी झार्न सक्छु । तपाईँले जुन चुनौती दिनुभएको छ नि, त्यसलाई मैले मेरो जीवन होमेर भएर पनि तपाईँको यो औकात ठीक पार्न सक्छु । तपाईँले श्रीकृष्ण गिरी( चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष– जसलाई दुर्गा प्रसाईले २० करोड घूस मागेको भनी आरोप लगाएका थिए)लाई आरोप लगाएजसरी हुँन्न प्रकाश चन्दसँग ।’

टेलिफोन सम्वादबाटै चर्काचर्की पर्ने क्रममा प्रकाशले प्रसाईलाई घिसार्नेसम्मको चेतावनी दिएका छन् भने प्रसाईले बाउ’को धम्की दिएको भनी हकारेका छन् । जवाफमा प्रकाशले दुर्गा प्रसाईजस्तो मान्छेलाई बाउ नचाहिने भनी आफैँ काफी हुने बताएका छन् । १५ मिनेट २९ सेकेण्डको उक्त अडिओमा जनयुद्धका कुरासमेत भएको सुन्न सकिन्छ । प्रसाईले के गर्छस् बम पड्काउँछस् ? बारुद पड्काउँछस् भनेर भन्दा प्रकाशले बम र बारुद खानलाई इज्जत चाहिने बताउँदै दुर्गा प्रसाईसँग त्यो इज्जत नभएको बताएका छन् । अडिओमा सुनिएअनुसार उनले भनेका छन्–‘दुर्गा प्रसाईजी, बम र बारुद खानको लागि इज्जत चाहिन्छ । तपाईँसँग इज्जत र हैसियत छैन ।’

बी एण्ड सी अस्पतालका सञ्चालक प्रसाईले आफूले सरकारलाई वर्षेनी ५० करोड रुपैयाँ राजश्व बुझाउँदै आएकोसमेत बताएका छन् ।

प्रतिक्रिया