‘खोप निर्माणको पछिल्लो अवस्था यस्तो छ’ डा. रवीन्द्र पाण्डे

अमेरिका र जर्मनीको संयुक्त प्रयासमा कोरोना भाइरसविरुद्धको खोप निर्माण गरिरहेको फाइजर र बायोंटेक कम्पनीले विश्वका ६ देशका ५३ हजार ५०० मा तेस्रो चरणको क्लिनिकल ट्रायल गरेको थियो । यो परिक्षणमा ९० प्रतिशत सफलता हासिल गरेपछि अमेरिकी र जर्मनी बैज्ञानिक निकै उत्साहित बनेका छन् ।

अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, साउथ अफ्रिका र टर्कीमा ४३,५०० जनामा ३ हप्ताको अन्तरमा यो खोपको २ डोज लगाइएको थियो । दोस्रो खोप लगाएको ७ दिनपछि कोरोना भाइरसविरुद्धको एन्टिबोडी देखिएको बिबिसीले जनाएको छ ।

सुरुमा खोप लगाएका ९४ जना व्यक्तिको अध्ययनबाट यो निष्कर्ष निकालिएको हो । सबै तथ्यांकको विश्लेषण बाँकी रहेकोले यो फाइनल रिपोर्ट नभएको फाइजर र बायोंटेकका अधिकारीले बताएका छन् । सबै रिपोर्ट अध्ययन गरेपछि खोपलाई आबश्यक परिमार्जन गरिने जानकारी दिइएको छ ।

कम्पनीले डिसेम्बरसम्म आपतकालीन प्रयोगको लागि अनुमति पाउने आशा गरेको छ । फाइजर तथा बायोंटेकले नोभेम्बेरको तेस्रो हप्तासम्म नियामक निकायमा तथ्यांक पेश गर्नेछन । त्यहाँबाट प्रमाणित भएपछि मात्र खोपको अभियान सुरु हुन्छ । सुरुमा खोप सानो जनसंख्याको लागि बिभिन्न देशमा पठाइनेछ ।

त्यो खोप जेष्ठ नागरिक, दीर्घबिरामी, बालबालिका, सुत्केरी, अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीलाई दिइनेछ । ठूलो संख्यामा उत्पादन भएपछि मास भ्याक्सिनेसन गरिनेछ ।

यो खोपले कति लामो समयसम्म काम गर्छ भन्ने कुरा खोप लगाएपछि थाहा हुनेछ । यसले केहि महिना काम गर्न पनि सक्छ, एक बर्ष काम गर्न पनि सक्छ तथा लामो समय काम गर्न पनि सक्छ ।

यी कम्पनीले घटीमा एक बर्ष खोपले काम गर्ने आशा व्यक्त गरेका छन् । यसको ठूलो मात्रामा उत्पादन, भण्डारण र परिवहनमा केहि कठिनाई देखिएको छ । यो खोपलाई माइनस असि डिग्री सेन्टिग्रेडको तापक्रममा राख्नुपर्ने हुन्छ ।

कोरोना भाइरसको अनुबांशिक कोडलाई मानब शरीरमा खोप लगाएपछि यसले हाम्रो इम्युन प्रणालीलाई तालिम दिन्छ साथै टि सेलमार्फत कोरोना भाइरससँग लड्दछ ।

यो बर्षको अन्त्यसम्ममा ५० करोड र २०२१ को अन्त्यसम्म करिब १.३ अर्ब डोज आपूर्ति गर्न सक्षम हुने फाइजर र बायोंटेकले जनाएका छन् । प्रत्येक व्यक्तिलाई दुई डोज आबश्यक पर्नेछ ।

यो खोपको साथै अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धानले गरेको तथा एस्ट्राजेनेकाले निर्माण गरिरहेको खोप, अमेरिकाको मोडेर्ना ल्याबको खोप, चीनका ३ वटा खोप (सिनोफाम, कान्सिनो, सिनोभ्याक) पनि अन्तिम चरणमा पुगेका छन् ।

रुसको ग्यामेलिया इन्स्टिच्युट र भेक्टर इन्स्टिच्युटले तेस्रो चरणको परिक्षण गरिरहेका छन् । तेस्रो चरणको परिणाम आइनसके पनि चीन र रुसले सिमित संख्यालाई खोप दिइरहेका छन् ।

नेपालले पर्याप्त खोप पाउन अझै ५/६ महिना लाग्ने देखिएको छ । त्यो बेलासम्म अनिबार्य रुपमा जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्नु जरुरी छ ।
डा. पाण्डे बरिष्ठ जनस्वास्थ्य विद् हुन् ।

प्रतिक्रिया