हाम्रो टिमले देशलाई अगाडी बढाउन १० वर्षको लागि योजना बनाएको छ : शौरभ ज्योति

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव नजिकिएसँगै प्रचार–प्रसारमा उद्योगी व्यवसायीहरु लागि परेको छन् । चुनाव आफ्नो पक्षमा पार्न उद्योगी व्यवसायीहरु देशव्यापी दौडाहामा छन् ।

किशोर प्रधान समूहबाट एशोसिएट सदस्यका लागि उम्मेद्धार दिएका शौरभ ज्योतिले आफ्नो समूहले देशको अर्थतन्त्रलाई कसरी अगाडी बढाउने १० वर्षका लागि कार्यायोजना निर्माण गरेर अगाडी बढेको जिकिर गरेका छन् ।

उनले भने ‘कोरोनाको कारणले देशभरका उद्योगी र व्यापारीलाई समस्या परेको छ । त्यो समस्यालाई हल गर्दै थला परेको अर्थतन्त्रमाथि उठाउने योजना हाम्रो समूहसँग छ । अब महासंघको नेतृत्वले नै देशको अर्थतन्त्रलाई माथि उठाउने भएकोले हाम्रो समूह त्यसको अध्ययन गरेर अगाडी बढिरहेको छ ।’

उनले ४ कार्याकाल अर्थात १२ वर्ष महासंघमा रहेर काम गरेले त्यहाँ भित्रका समस्याहरुलाई सामाधान गर्न पनि आफ्नो उम्मेरद्धारी रहेको बताए । ‘महासंघमा १२ बर्षसम्म रहँदा बिभिन्न समितिको सभापतित्व गरिसकेको छु । नेशनल प्रोडक्टिभ क्वालिटी कमिटिको सभापति, एफएनसीसीआई नेशनल एक्सेलेंस अवार्ड फोरमको सभापति, कर राजश्व समितिको सभापति भइसकेको र अहिले बैंक, इन्स्योरेन्स र फाइनान्स कमिटिको सभापतित्व गर्दै संस्थाको गरिमा बढाउने कार्य गर्दै आएको छु ।’ ज्योतिले भने ।

अहिले महासंघलाई नै व्यवसाय बनाएर राजनीति गर्नेहरुको संख्या वृद्धि भएको छ । महासंघ भनेको उद्योगी र व्यवसायीको समस्या समाधान गर्ने साझा थलो भएको उनको भनाई छ । नेपाल उद्योग वाणिज्य महासंघ भनेको उद्योगीहरुको साझा संस्था भएपनि कुनै व्यक्तिले आफ्नो लागि मात्रै प्रयोग गरेकाले अब ती दिनको अन्त्य भएको ज्योतिको ठहर छ ।

‘महासंघ साझा संस्था भएकोले यसमा ठुला उद्योगी व्यवसायी देखि साना मझौला व्यवसायीहरु पनि जोडिनु भएको छ । महासंघमा लाखौँ सदस्यहरु रहेका छन् । ती सदस्यहरुको समस्यालाई सामाधान गर्न र देशमा उद्योग मैत्री वातावरण निर्माण गर्न मैले उम्मेद्वारी दिएको हुँ ।’ ज्योतिको तर्क छ ।

आफुले महासंघमा जितेपछि एशोसिएट उपाध्यक्षको प्राथमिकताको जिम्मेवारी भनेको रोजगारदाता परिषदको सभापतित्व रहेको बताए । यस पदमा हुनेले सरकार, सामाजिक सुरक्षा कोष, नीजि क्षेत्र, ट्रेड युनियनबीच श्रम ऐन अनुसार सन्तुलित रुपमा कामलाई अगाडी बढाउने लगायतका काममा महासंघको प्रतिनिधित्व गर्ने उनले बताए ।

उनको एजेण्डा भनेको महासंघको आन्तरिक सचिवालय बलियो बनाउने हो । महासंघलाई सक्षम बनाउन अनुभवी र काम गर्न सक्नेहरुलाई एक सुत्रमा बाँड्ने उनको योजना छ ।

उपाध्यक्ष भएपछि कार्यसमितिको पदाधिकारी भएर नै काम गर्ने रणनीति बनाएका छन् । नेतृत्वलाई साथ दिएर आफ्नो जिम्मेवारी पुरा गर्ने तथा उद्योगीहरुको समस्या बुझेर समाधान खोज्नका लागि काम गर्ने ज्योतिले बताए ।

उनको जितको आधार भनेको १२ वर्षसम्म महासंघमा रहेर उद्योगीको विभिन्न समस्या समाधानमा काम गरेको अनुभव हो । उनको टिममा रियल व्यवसायी भएकोले पनि जित निश्चित रहेको देखिन्छ ।

ज्योतिले महासंघलाई राजनीति गर्ने ठाउँभन्दा पनि उद्योगी व्यापारीको समस्या सामाधान गर्ने, देशमा औद्योगिक वातावरण निर्माण गर्ने संस्थाको रुपमा विकास गर्नुपर्ने जिकिर गरे ।

औद्योगिकीकरण, स्वदेशी उत्पादनमा जोड, दक्ष जनशक्ति उत्पादन, बैदेशिक लगानी आकर्षित गर्नका लागि एकद्धार प्रणाली लागु गर्दै नीतिमा सुधार गर्दै जाने उनको योजना रहेको छ ।

प्रधान प्यानलबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एशोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी घोषणा गरेका छन् ।

ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी घोषणा गरेका छन् ।

महासंघको ५४ औं साधारण सभा तथा निर्वाचन यहि मंसिर ११,१२ र १३ गते राजधानीमा हुँदैछ ।

प्रतिक्रिया