नागढुंगाबाट ९४ थान माेबाइल बरामद

  • रोसन दानी

काठमाडाैं । महानगरीय प्रहरी प्रभाग नागढुंगाले काठमाडाैंकाे चन्द्रागिरि-२ नागढुंगास्थित चेक प्वाइन्टबाट बिल तथा कागजात नभएको माेबाइल बरामद गरेकाे छ । प्रहरी निरीक्षक हेमन्त विक्रम थापाको कमाण्डमा खटीको प्रहरी टोलीले छुट्टाछुट्टै चेक जाँचको क्रममा ९४ थान माेबाइल बरामद गरेकाे हाे ।

चितवनबाट काठमाडाैं आएको बा३ख ३१०६ नम्बरकाे यात्रु बाहक हायस रोकी खानतलासी गर्ने क्रममा उक्त बसको छतमा कार्टुन बाकसभित्र बिल नभएको अवस्थामा ५६ थान मोबाईल फेला परेको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले बताए । उनका अनुसार ८ ए डियुल मोबाइल ६ वटा, रेडमी २३ वटा, नोट ९ मोबाइल ४ वटा, रियल मी २२  वटा र नार्जौ १ वटा गरी कुल ५६ वटा माेबाइल बरामद गरिएकाे हाे ।

उक्त बरामद मोबाइलहरु आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुर पठाइएको थानकोट प्रहरीले जनाएको छ । त्यस्तै प्रअरी टोलीले ना ५ ख २२८७ नम्बरको नेपालगञ्जबाट काठमाडाैंतर्फ आउने यात्रु बाहक बस चेकजाँच गर्ने क्रममा उक्त बसमा लुकाई छिपाइ ल्याउँदै गरेको विभिन्न कम्पनीका ३८ थान माेबाइल बिना बिल तथा कागजात फेला पारी नियन्त्रणमा लिएको छ । 

प्रारम्भिक अनुसन्धानको क्रममा उक्त मोबाइल जिल्ला काठमाडाैं नागार्जुन न.पा. ३ बस्ने बर्ष २८ को आषिक श्रेष्ठले खरिद गरेको पाइएकाे प्रहरी जनाएको छ । श्रेष्ठलाई काठमाडाैं महानगरपालिका वडा नम्बर १५ स्वयम्भुबाट नियन्त्रणमा लिइएकाे प्रहरीकाे भनाइ छ । प्रहरीका अनुसार उनकाे साथबाट भिवो माेबाइल ७ थान, ओपो माेबाइल ६ थान, रेडमी मोबाइल १७ थान, स्यामसुङ माेबाइल ५ थान, वान प्लस १ थान, मोटरवला १ थान इनफिक्स माेबाइल १ थान बरामद गरिएकाे छ ।

बरामदी माेबाइलकाे बजार मूल्य अन्दाजी ३ लाख ५० हजार रहेको छ । बरामद माेबाइल तथा पक्राउ परेका व्यक्ति आवश्यक अनुसन्धान तथा कारवाहीकाे लागि भन्सार कार्यालय सानो गौचर, काठमाडाैं पठाइएकाे छ ।

प्रतिक्रिया