सडक निर्माणमा गुणस्तरहीन सामाग्रीको प्रयोग, महानगरले लगायो रोक

विराटनगर । निर्माणाधीन सडकको रिटेनिङ्ग वाल निर्माणमा गुणस्तरहीन काम भएको पाइएको छ । विराटनगर महानगरपालिका–१९ मा उपभोक्ता समितिमार्फत निर्माण भएको ‘खवास टोल पैनीदेखि पश्चिममा वडा नं १९ को कार्यालय’ जोड्ने सडकको दुवैतर्फको रिटेनिङ्ग वाल निर्माणमा गुणस्तरहीन काम भएको पाइएको हो ।

विराटनगर महानगरपालिको ३१ लाख ६७ हजार ४ सय १३ रुपैयाँ र उपभोक्ताको ५ लाख ५८ हजार ७९ रुपैयाँ गरी कूल ३७ लाख २५ हजार १ सय ९२ रुपैयाँको लागतमा वडा नं. १९ मा २ सय ९८.५० मिटर सडकको रिटेनिङ्ग वाल निर्माण कार्य भइरहेको छ ।

गुणस्तरहीन निमार्ण सामाग्रीको प्रयोग भएको पाइएपछि निर्माण कार्यमा महानगरले रोक लगाएको छ ।

विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीसहितको प्राविधिक टोलीले आइतबार गरेको अनुगमनको क्रममा ‘स्टिमेट’ भन्दा बाहिर गएर गुणस्तरहीन काम गरेको पाइएपछि तत्काल निर्माण कार्यमा रोक लगाइएको हो ।

स्टिमेभन्दा बाहिर गएर कमसल सामाग्रीहरूको प्रयोग गरेको कारणले निर्माण भएको रिटेनिङ्ग वालको ढलाई हप्ता दिन नबित्दै उप्किन थालेको स्थानीयले बताए ।

इन्जिनियरले तयार गरेको स्टिमेटमा ओपीसी सिमेन्टको प्रयोग गरिनुपर्ने उल्लेख छ । तर, त्यहाँ पीपीसी सिमेन्ट प्रयोग गरेको पाइएको छ । ओपिसी सिमेन्टभन्दा प्रतिबोरा १ सय ५० रुपैयाँ सस्तो पर्ने पिपिसी सिमेन्टको प्रयोग गरी निमार्ण कार्य हुँदै आएको स्थानीय अन्तवीर खवासले बताए ।

उपभोक्ता समिति र विराटनगर–१९ का वडा अध्यक्ष बद्रीनारायण सरदारको मिलेमतोमा कमसल सामाग्री प्रयोग गरी निमार्ण कार्य हुँदै आएको स्थानीयको आरोप छ ।

अनुगमनको क्रममा स्टिमेटभन्दा बाहिर गएर रिटेनिङ्ग वाल निर्माण भएको पाइएपछि तत्काल निर्माण कार्य रोक लगाएको विराटनगर महानगरपालिकाको सहरी विकास महाशाखाका प्रमुख इन्जिनियर गोपाल पोखरेलले बताए । पोखरेलका अनुसार ४० फिटको सडकको दुवैतिर रिटेनिङ्ग वाल निर्माणको कार्य गत असार १२ गतेदेखि सुरु भई आउँदो फागुन मसान्तसम्म सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।

सम्झौता अनुसार सडकको दुवैतर्फ २ सय ९८ दशमलव ५० मिटर रिटेनिङ्ग वालको उचाइ ८० सेन्टिमिटरको हुनुपर्ने उल्लेख छ । तर सम्झौता विपरीत कार्य भएपछि महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीसहितको प्राविधिक टोली आइतबार निर्माण स्थलमा पुगेका थिए । उपमेयर कार्कीले थप छानबिनपछि मात्र निर्माण कार्य अघि बढाइने बताइन् ।

रिटेनिङ वाल निर्माणका लागि वडा नं. १९ ले भने ७ सदस्यीय उपभोक्ता समिति निमार्ण गरेको छ । जसमा उपभोक्ता समितिकी अध्यक्ष रिता सरदार छन् । सरदार वडाध्यक्ष बद्रीनारायणका आफन्त रहेको बुझिएको छ ।

समितिको सचिवमा भने नैनाकुमारी सरदार, कोषाध्यक्षमा लीला सरदार र सदस्यहरूमा सुनिल सरदार, कविताकुमारी सरदार, सुकन सरदार र श्रीमती सरदार लगायतका सदस्यहरू रहेका छन् ।

प्रतिक्रिया