काेराेना संक्रमितसँग अस्पतालले असुल्याे एक दिनकै ८० हजार शुल्क !

  • सुजाता लिम्बू

विराटनगर । महेन्द्रचौकस्थित सञ्चालनमा रहेको म्याक्स हस्पिटलले अनुमती विना नै कोरोना संक्रमितको उपचारमा विरामीसँग बढी पैसा असुलेको पाइएको छ । अस्पतालले एक दिनको ८० हजार रुपैयाँसम्म असुली गरेको पाइएपछि स्थानिय प्रशासनले सञ्चालनमा आएको कोभिड अस्पताल नै बन्द गर्न निर्देशन दिएको छ ।

सरकारले कोरोना संक्रमितले आफ्नो उपचार खर्च आफैँले तिर्नुपर्ने निर्णय गरेपछि उक्त अस्पतालले काेभिड अस्पतालकाे नाममा संक्रमितसँग मनलाग्दी शुल्क असुली गरेकाे हाे । अस्पतालकाे उक्त कर्तुत बाहिरिएपछि सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय मोरङले निर्देशन गरेको हो ।

कोरोना संक्रमण भएका बिरामीहरुलाई सेवा दिइरहेका अस्पतालहरूको अनुगमन गर्ने क्रममा म्याक्स हस्पिटलले अनुमति पत्र देखाउन नसकेको र कोभिडका लागि चाहिने न्युनतम स्वास्थ्य सम्बन्धि शर्तहरु पुरा गरेको नपाइएपछि मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले अस्पताल बन्द गर्न निर्देशन दिएका हुन् ।

कोभिडका लागि आवश्यक जनशक्ति, संक्रमितको उपचारका लागि अनुमति प्राप्त नगर्दासम्म र स्वास्थ्य सम्बन्धि अन्य शर्तहरु पुरा नगर्दा सम्म बन्द गर्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उपचाररत बिरामीलाई अन्यत्र व्यवस्थापन गर्न र उपचारवापतको शुल्क नेपाल सरकारले तोकेभन्दा बढी नलिन पनि प्रशासन कार्यालयले हस्पिटललाई काटेको पत्रमा भनिएकाे छ ।

प्रशासन कार्यालयले म्याक्स हस्पिटललाई लिखित जवाफ सहित अनुमति विना संवेदनशिल सेवा सञ्चालन गर्नुको कारण समेत माग गरेको छ । प्रशासन कार्यालयले बिरामीको उपचार गर्दा सरकारले तोकेको आइसोलेसन सम्बन्धि निर्देशिका २०७७ लगायतका विधि र मापदण्ड पालना गर्नुपर्छ की पर्दैन, विधि र प्रकृया पुरा नगरी सेवा सञ्चालन गर्दा हुने अनपेक्षित परिणामको जवाफ कसले दिने र संक्रमण ऐन २०२० अनुसार कारवाही किन नगर्ने भनि जवाफ माग गरेको छ ।

प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘राज्यले तोकेको शुल्कभन्दा महँगो शुल्क लिएका रहेछन्, बिरामीले एक दिनको ५० देखि ८० हजारसम्म तिरेको गुनासो सुनाए ।’

यता म्याक्स अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताले अस्पतालले कोरोना संक्रमितको उपचारका लागि दैनिक शुल्क १० हजार, १५ हजार, २० र ३० हजार ताेकेकाे जानकारी दिए । भेन्टिलेटरमा बस्ने बिरामीलाई दैनिक ३० हजार शुल्क लिने गरिएकाे उनकाे दाबी छ । उनले भने, ‘दसैँ अघिदेखि कोभिड अस्पताल सुरू गरेका हाैँ । सामाजिक विकास मन्त्रालयका अनुमति मागेका छाैँ । तर अनुमति भने आइसकेको छैन ।’

तर स्थानीय सरकारले भने अस्पताल सञ्चालनका लागि अनुमति दिएको उनको भनाइ छ । प्रशासनको पत्रपछि अस्पतालले नयाँ बिरामी भर्ना गर्न छाडेको र ११ जना कोरोना संक्रमित बिरामी उपचाररत रहेको उनले जानकारी दिए । सरकारले तोकेको शुल्कका भरमा संक्रमितको उपचार गर्न नसक्ने बताउँदै उनले कोभिड अस्पताल सञ्चालनका विषयमा सञ्चालक समितिको बैठकले निर्णय गर्ने समेत बताए ।

प्रतिक्रिया