पुराना सम्झौता कार्यान्वयन नभएसम्म स्थानीय युवाले बन्चरेमा फोहोर फाल्न नदिने 

नुवाकोट । सम्झौताअनुसार पूर्वाधार विकास नगरी बन्चरे डाँडामा काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न लागिएको भन्दै प्रभावित क्षेत्रका युवाहरूले आन्दोलनको घोषणा गरेका छन् ।

सरकारी पक्षले सम्झौता मात्रै गर्ने, तर कार्यान्वयन नगरेर स्थानीयको आँखामा छारो हाल्ने काम गरेको भन्दै प्रभावित क्षेत्रका विभिन्न युवा क्लबहरूले पहिला सम्झौता कार्यान्वयन गरेर मात्रै बन्चेरे डाँडामा फोहोर व्यवस्थापन गर्न माग गरेका हुन् ।

आन्दोलन घोषणा गर्नेमा ककनी गाउँपालिकाका क्लबहरू ककनी प्रगतिशील युवा क्लब, करुण युवा क्लब, रोयल युवा क्लब छन् । ककनी प्रगतिशीलका अध्यक्ष दिपेश ढुँगाना भन्छन्, ‘सम्झौता किन कार्यान्वयन हुन नसकेको हो, त्यसको जवाफ दिनुपर्‍यो । समस्यालाई बेवास्ता गरी बन्चरे ल्याण्डफिल साइटमा फोहर फ्याल्ने काम भए हामी रोक्छौँ ।’

विगत १६ वर्षदेखि सिस्डोलमा काठमाडौँको फोहोर व्यवस्थापन हुँदा यस क्षेत्रमा मानिसहरूको स्वास्थ्यमा परेको प्रतिकुल प्रभावलाई सरकारले बेवास्ता गर्ने र यस क्षेत्रको विकासका लागि पटक पटक सम्झौता भएर पनि काम नभएको क्लबहरूको गुनासो छ ।

उनीहरूले प्रभावित क्षेत्रबाट नेतृत्व गर्नेहरूबाट धेरै पटक संघर्ष समिति बने पनि त्यस्ता समितिहरू राजनीतिक र आर्थिक स्वार्थको पछि लाग्ने गरेको बताएका छन् । यस क्षेत्रका वास्तविक पीडितहरूको पीडालाई सम्बोधन गर्ने काम यस्ता संघर्ष समितिबाट पटक्कै नभएको क्लबहरूले बताएका छन् ।

आफूलाई जनप्रतिनिधि बताउने व्यक्ति तथा दलहरूबाट प्रभावित क्षेत्रका जनताको स्वास्थ्यमा परेको नकारात्मक असर र पूर्वाधार विकासलाई उपेक्षा गरिएकाले आफूहरू अघि सर्नुपरेको बताउँदै क्लबहरूले मानव र फोहोर एकै ठाउँमा बस्न नसक्ने तथ्यलाई सरकार, राजनीतिक दलका स्थानीयदेखि केन्द्रीय नेताहरूले मनन नगर्नु गम्भीर विषय भएको बताएका छन् ।

मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव नपर्ने गरी फोहोरको वैज्ञानिक व्यवस्थापन गर्ने र ल्याण्डफिल साइटका प्रभावित जनताले स्वस्थ वातावरणमा बाँच्न पाउने संवैधानिक अधिकारको सरकार, काठमाडौँ महानगरपालिकासहित अन्य नगरपालिकाहरुले सुनिश्चितता नगर्दासम्म आफूहरूको आन्दोलन जारी रहने बताएका छन् ।

प्रतिक्रिया