‘मैले उपाध्यक्षको पद छाडेर सहमतीको लागि पहल गरिहेको छु’ : सुमार्गी

काठमाडौं । लामो समय औद्योगीक राजनीतिमा दखल राखेका अरुण राज सुमार्गीले उद्योग वाणिज्य महासंघको उपाध्यक्ष हुने अवसर त्यागेर सहमतिको लागि छलफल अगाडी बढाएको बताएका छन् ।

हाल वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान र चन्द ढकाल नै नेपाल उद्योग वाणिज्य महासंघका लागि आवश्यक व्यक्ति रहेकोले निर्वाचनमा सर्वसम्मत रुपमा नेतृत्व छान्न आफु लागिपरेको सुमार्गीले बताए ।उनले किशोर प्रधानको प्यानलबाट जिल्ला नगर तर्फ केन्द्रीय सदस्यमा उम्मेद्वारी पनि दिएका छन् ।

उनले भने ‘वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानसँग २८ वर्ष महासंघमा रहेर काम गरेको अनुभव छ । भने, अर्का वरिष्ठ उपाध्यक्षका उम्मदवार चन्द्र ढकालसँग लगानी, सम्भावना र पावर छ । दुबै व्यक्ति महासंघका लागि आवश्यक हुन त्यसैले मैले सर्वसम्मत नेतृत्व छान्न दुवैसँग छलफल गरिरहेको छु ।’

उनलाई अहिले कोरोना पोजेटिभ देखिएको छ । उनी कोरोनासँग लडिरहेको बेला पनि महासंघको पदाधिकारीहरुका लागि सहमती खोजी रहेका छन् । उने दुबै वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुसँग सर्वसम्मतीका लागि फोनबाट कुरा गरिरहेको बताए ।

‘म अहिले उपाध्यक्ष उठेको भए मज्जाले जित्ने थिए । मेरो ७७ वटै जिल्लाका उद्योगीहरुसँग राम्रो सम्बन्ध छ ।’ उनले भने । आफुले सुरज वैद्य महासंघको अध्यक्ष भएदेखि नै उद्योगीको हक हितमा काम गरेको सुमार्गीको भनाई छ ।

उनी महासंघमा एशोसिएट्स तर्फबाट उपाध्यक्षको उम्मेदारी दिने र जित्ने निश्चित भएपनि महासंघलाई मिलाएर अगाडी बढाउन एकताको आवश्यता ठानेर दुबै पक्षसँग सहमतिका लागि प्रयास गरेको सुमार्गीको भनाई छ ।

‘महासंघमा जो वरिष्ठ उपाध्यक्ष भएर आए पनि शेखर गोल्छासँग काम गर्ने हो । यो कोरोनाको महामारीमा चुनावभन्दा पनि मिलेर नै अगाडी बढ्दा राम्रो हुने भएकाले दुबै पक्षसँग सहमतिका लागि मैले पहल गरेको हुँ ।’

कसरी सकिन्छ दुबै वरिष्ठ उपाध्यक्षलाई मिलाएर लान ?

वरिष्ठ उपाध्यक्षमा उम्मेदारी दिएका किशोर प्रधान र चन्द्र ढकाल चुनावी प्रचार प्रसारमा लागेका छन् । दुबैका प्यानलले देशव्यापी भोट माग्दै हिँडिरहेका छन् । दुवैले वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिएपनि एक जनालाई महासंघको वरिष्ठ सदस्य र अर्कोलाई वरिष्ठ उपाध्यक्ष बनाएर सहमतिमा जान सकिने सुमार्गीको भनाई छ । सुमार्गीले ४ जना अध्यक्षसँग रहेर महासंघमा काम गरिसकेका छन् ।

‘मंसिर २ र ३ गते दुबै पक्षसँग छलफल गरेर निचोडमा पुग्ने छौं । दुबै पक्ष छलफल र सर्वसहमतिका लागि सकारात्मक रहेका छन् ।’ सुमार्गीले भने–‘महासंघमा पद पाउनेहरु खुशी हुन्छन् । नपाउने पक्षका सबैले मलाई हिलो छ्याप्ने छन् । म महासंघलाई राम्रो हुन्छ भने हिलो सहन सक्ने क्षमता राख्छु । यहाँ सबैलाई मिलाएर लान सक्ने क्षमता, हिम्मत र कुटिलता चाहिन्छ । मसँग यी ३ नै चिज छ ।’

महासंघको आगामी मंसिर ११ र १२ गते साधारणसभा र १३ गते निर्वाचन मिति तोकिएको छ । मंसिर ४ गते मनोनयन दर्ता गर्ने अन्तिम दिन हो ।

अरुण राज सुमार्गी किशोर प्रधान समूहको निर्वाचन प्रचार–प्रसार संयोजक समेत हुन् । उनी प्रचार–प्रसार समितिका संयोजक रहेपनि सहमतिमा अगाडी बढ्न दुबै पक्षसँग होम आइसोलेसमा बसेर आफ्नो अभियान चलाई रहेको जिकिर गर्छन् । सुमार्गीले केही समय अघि मात्रै ढकाल समूह छोडेका थिए ।

ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी घोषणा गरेका छन् । प्रधान प्यानलबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एशोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी घोषणा गरेका छन् ।

महासंघको निर्वाचनको मिति नजिकिँदै जाँदा उद्योग वाणिज्य महासंघमा कसको पल्ला भारी हुने हो अनुमान गर्न सकिने अवस्था छैन ।

प्रतिक्रिया