मधेशमा सरिता गिरी के गर्दैछिन् ?

काठमाडौं । भारतीय पक्षले नेपालको सिमा नमिचेको भन्दै अभिब्यक्ति दिएर चर्चामा आएकी तत्कालिन समाजवादी पार्टीकी सांसद सरिता गिरी यतिबेला मधेशमा छिन् ।

लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा भारतीय पक्षले नेपालको भूमि अतिक्रमण नगरेको अभिब्यक्ति सहित प्रतिनिधिसभामा फरकमत दर्ता गराउँन जाँदा सांसद पदसमेत गुमाएकी गिरी नयाँ पार्टी गठनका लागि मधेश अभियानमा सक्रिय रहेकी छन् ।

दसैं अघि नै तराईका विभिन्न जिल्लाहरु घुमेर आफनै संयोजकत्वमा ‘तराई मधेश वृहद् लोकतान्त्रिक मोर्चा’ गठन गरेर तराई मधेशमा आफ्नो पहुँच विस्तार गर्न सक्रिय रहेकी छन् ।

नेपालको राष्ट्रिय राजनीतिले तराई मधेशलाई कहिल्लै सकारात्मक सोचबाट हेर्न नसकेको सरिता गिरीको धारणा छ । मधेशको पक्षमा केन्द्रीकृत राज्य सत्ता कहिल्ले उदार नभएकोले अब मधेशको हक अधिकारका लागि छुट्टै संगठन आवश्यक रहेको उनको ठम्याई छ ।

सरिता गिरीका अनुसार आफुलाई मधेशवादी दल भन्नेहरुले समेत मधेशका जनतालाई भोट बैंक मात्र ठानेका छन् । ‘मधेशवादी दलहरुले मधेशका जनताका पक्षमा कहिल्लै राजनीति गरेनन्, मधेशको माग उठाएर सत्तामा पुगेपनि जनताका लागि केही गरेनन् ।’ सरिता गिरीले सामाजिक सञ्जालमा लेख्ने गरेकी छन् । अहिले उनी मधेशका आदिवासी, जनजाति, अल्पसंख्यक, सिमान्तकृत समुदायमा आफुलाई केन्द्रीत गर्दै संगठन निर्माणमा सक्रिय छन् ।

हिजोमात्रै उनले सर्लाहीको मंगलवामा स्थानीय बुद्धिजिवी र मधेश केन्द्रीत राजनीति गर्ने युवाहरुसँग अन्तरक्रिया गरिन् । त्यसअघि लाहानमा पनि यस्तै छलफल चलाइन् । आफुलाई जनता समाजवादी पार्टीले जायज कुरा बोक्दा साथ नदिएको गिरीको आरोप छ । पार्टीभित्रै छलफल गरेर संसदमा लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको भूभागको नक्सा विरुद्ध विधेयक दर्ता गराउन खोजेपनि अन्तिम अवस्थामा पार्टीले आफुलाई धोका दिएको उनको तर्क छ ।

समाजवादीले मधेशको लागि राजनीति नगरेको भन्दै अब आफु मधेश केन्द्रीत राजनीतिमा उत्रिएको गिरीको भनाई छ ।

त्यसो त उनलाई सत्तामा रहँदा मधेशलाई विर्सिएको भन्ने हरुपनि छन् । भारतले नेपालको सिमा मिचेकोप्रति भारतको पक्षमा रहेर अभिब्यक्ति दिएका कारण आलोचनाको शिकार भएकी सरिता गिरीले मधेशको पक्षमा राजनीति गर्ने सोच बनाउँदा मधेशी जनताको विस्वास कत्तिको जित्न सक्लिन् हेर्न बाँकी छ ।

तर, पछिल्लो समय उनले मधेश केन्द्रीत विचार र भावनाहरु प्रस्तुत गर्दै संगठन निर्माणको अभियान चालेकाले उनको पक्षमा मधेशमा सहानुभूति बढ्दो छ ।

प्रतिक्रिया